मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिन खरिद प्रक्रिया अल्झियो

बुधबार, १९ मङ्सिर २०८१, ०७ : ४१
बुधबार, १९ मङ्सिर २०८१

बुटवल । कपिलवस्तु, पिपराका ३६ वर्षीय साजन चौधरी सवारी दुर्घटनामा परेपछि कपिलवस्तुमै सामान्य उपचार गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारका लागि आए । चौधरीलाई अस्पतालका न्यूरो सर्जरी विभाग प्रमुख न्यूरो सर्जन डा राजीव भण्डारीले हेरेपछि एमआरआई गर्नुपर्ने बताए ।

नसा च्यापिएको आशङ्कासहित डा भण्डारीले कुन नसा कहाँ कसरी च्यापिएको भन्ने पत्ता लगाउन एमआरआई गर्न सुझाव दिए । लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा उपलब्ध नभएकाले चौधरी बाहिर जानुपर्ने भयो ।

बुटवलमा एमआरआई गर्ने एक निजी स्वास्थ्य संस्था छ, जहाँ तुलनात्मक रूपमा सरकारी अस्पतालमा लिइने शुल्कभन्दा बढी तिर्नुपर्छ । अन्यथा एमआरआईकै लागि भैरहवा तथा भारतको गोरखपुरसम्म पुग्नुपर्ने बाध्यता छ ।

न्यूरो सर्जन भण्डारीकाअनुसार दैनिक १० जनाभन्दा धेरै बिरामी एमआरआई गर्नुपर्ने खालका आउने गरेका छन् ।

डा.भण्डारीले रातोपाटीसँग भने, ‘मुख्यतया नसाको रोगमा एमआरआई गर्नुपर्ने हुन्छ । त्यसबाहेक पनि पेटको समस्या, ब्रेन ट्युमर, मासुमा ट्युमर पलाएको अवस्थामा समेत एमआरआई प्रयोग गरिन्छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सञ्चालन गर्नका लागि प्रदेश सरकार तथा अस्पताल प्रशासनले विगत ४ वर्षदेखि निरन्तर प्रयास गरे पनि सफलता हासिल हुन सकेको छैन ।

लुम्बिनी प्रादेशिक अस्पतालमा यो उपकरण नभएकाले यस्ता परीक्षण गर्नका लागि महँगो शुल्क तिरेर बिरामी बाहिर जानुपर्ने अवस्था छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सञ्चालन गर्नका लागि प्रदेश सरकार तथा अस्पताल प्रशासनले विगत ४ वर्षदेखि निरन्तर प्रयास गरे पनि सफलता हासिल हुन सकेको छैन ।

डा भण्डारीले भने, ‘यहाँ नभएपछि हामीले बिरामीलाई बाहिर भए पनि गरेर ल्याउनुहोस् भन्नु पर्‍यो, तर यही अस्पतालमा भइदिएको भए छिटो र सस्तो रूपमा सेवाग्राहीलाई सेवा उपलब्ध गराउन सकिन्थ्यो ।’

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आन्तरिक र बाह्य चलखेलका कारण एमआरआई मेसिन खरिद गर्न ढिलाइ भएको छ । पछिल्लो समय प्रादेशिक अस्पतालले तेस्रो पटक गरेको खरिद प्रक्रिया अन्योलमा परेको छ । दुई पटकसम्म एमआरआई खरिद प्रक्रियामा सप्लायर कम्पनीले मुद्दा दायर गरेपछि रोकिएको थियो । ती मुद्दामा एमआरआई मेसिन खरिद गर्न मिल्ने आदेश आएपछि गत कार्तिक १ गते बोलपत्र आह्वान गरिएको छ । तर पनि मेसिन खरिद प्रक्रिया अघि बढ्न सकेको छैन ।

अस्पतालका मेसु डा इन्द्र ढकालले आन्तरिक र बाह्यले कारण गर्दा बोलपत्र आह्वान गरे पनि निर्णयमा पुग्न ढिलाइ भएको बताए ।

अहिले प्रदेश सरकारले छुट्टएको १५ करोड बजेटभित्र रहेर १.५ टी एमआरआई मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । यसैबिच सामाजिक सञ्जाल तथा मिडियामा विभिन्न खालका समाचार आएपछि खरिद प्रक्रियाको पारदर्शिता र खरिद अगाडि बढाउनका लागि राय माग्दै सार्वजनिक खरिद कार्यालय टंगाल र राष्ट्रिय सतर्कता केन्द्रमा फाइल पठाएको उनले जानकारी दिए ।

नेपालमा एमआरआई आपूर्ति गर्ने ४/५ वटा कम्पनी छन् । ती कम्पनीले विभिन्न निहुँ खोजेर बेलाबेला दुःख दिने गरेको डा ढकालको गुनासो छ । ‘हामीले यहाँका सबै फाइल पठाएका छौँ, अब केही दिनमै खरिदको लागि बाटो खोल्ने गरी आउँछ होला,’ उनले भने ।

प्रदेश सरकारले एमआरआई मेसिन खरिदका लागि गत आर्थिक वर्ष १६ करोड, अहिले १५ करोड बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारबाट प्राप्त बजेटको क्षमता अनुसार मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको ढकालले बताए ।

अस्पतालको बेड संख्या ५ सयबाट बढाएर १२ सय  पुर्‍याउन १२ तले अत्याधुनिक भवन निर्माणको काम जारी छ । जसले गर्दा यहाँ बिरामीको संस्था अझ वृद्धि हुने अपेक्षा गरिएको छ ।

उनले लुम्बिनी प्रदेशिक अस्पतालमै एमआरआई मेसिन जडान गर्न सकेमा बाहिरभन्दा आधा रकम कममा अस्पतालभित्र उपचार दिन सकिने बताए । यो अस्पतालले गत आर्थिक वर्ष ३ लाख ४८ हजार ६९० जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।

अस्पतालको बेड संख्या ५ सयबाट बढाएर १२ सय  पुर्‍याउन १२ तले अत्याधुनिक भवन निर्माणको काम जारी छ । जसले गर्दा यहाँ बिरामीको संस्था अझ वृद्धि हुने अपेक्षा गरिएको छ । यो बेलामा अस्पतालको स्वास्थ्य सेवाको विस्तार तथा गुणस्तर वृद्धिका लागि एमआरआई सेवा अपरिहार्य रहेको उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले रातोपाटीलाई बताए ।

पारदर्शी सरोकार केन्द्र बुटवलका पूर्वअध्यक्ष एवं अधिवक्ता महेन्द्र पाण्डेयले अस्पतालले खरिद प्रक्रिया पारदर्शी गर्दै जतिसक्दो छिटो मेसिन खरिद गर्नुपर्ने बताए । उनले निजी अस्पतालमा गएर महँगो शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल उद्योग वाणिज्य संघले अस्पतालको विकासका लागि विगतमा धेरै योगदान गरेको जिकिर गरे । उनले अस्पताललाई एमआरआई मेसिन आवश्यक रहे पनि खरिदमा ढिलाइ गर्दा त्यसको असर सिधै बिरामीमा परेको बताए ।

अस्पतालका मेसु ढकालले अस्पतालमा एमआरआई सञ्चालनमा आएपछि उपचार गराउन आउने लक्षित समूह, विपन्न तथा गरिब परिवारका बिरामीले निःशुल्क तथा सहुलियत दरमा एमआरआई सेवा प्राप्त गर्न सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप