बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

एन्फाका अध्यक्ष, महासचिव र कोषाध्यक्ष जेल जाने दिन आउँछ : वीरबहादुर खड्का

बुधबार, १९ मङ्सिर २०८१, ०७ : ०९
बुधबार, १९ मङ्सिर २०८१

नेपाली फुटबलको नेतृत्वदायी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष हुन् वीरबहादुर खड्का । आफैँ वरिष्ठ उपाध्यक्ष भए पनि उनी वर्तमान एन्फा कार्यसमितिमा प्रतिपक्षका रूपमा परिचित छन् ।

अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले बहुमतको बलमा एन्फामा एकपछि अर्को गलत क्रियाकलाप सञ्चालन गर्दै आएको आरोप खड्काले पटक–पटक लगाउँदै आएका छन् । एन्फाभित्र आर्थिक अनियमितताको विषय होस् वा अप्रिय सिस्नेरी घटना, खड्का यी सबै घटनामा एन्फा नेतृत्वलाई दोषी देख्छन् ।

घरेलु फुटबलको मेरुदण्डका रुपमा रहेको ‘बी’ डिभिजन लिग पनि लामो समयदेखि हुन सकेको छैन । एन्फाले ‘बी’ डिभिजन लिगको मिति घोषणा गरे पनि १० वटा क्लबले नखेल्ने घोषणा गरिसकेका छन् । यो घटनामा पनि खड्का एन्फा अध्यक्ष र महासचिवलाई नै दोषी मान्छन् ।

यसै सन्दर्भमा नेपाली फुटबलसँग जोडिएका समसामयिक घटनामा आधारित रहेर एन्फाका वरिष्ठ उपाध्यक्ष खड्कासँग रातोपाटीका लागि रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश :

एन्फा पदाधिकारीको सार्वजनिक रूपमै आलोचना पनि गरिरहने, अनि वरिष्ठ उपाध्यक्षमा पनि बसिरहने ? यो अलि अनैतिक कुरा भएन ?

छाड्ने त कुरै आउँदैन नि । एन्फामा भएको अनियमितता, विधि उल्लङ्घन गरेर भइरहेका कामहरूको खबरदारी गर्न पनि पदमा बसिरहनु पर्छ ।

साढे दुई वर्षअघि भएको निर्वाचनमा अहिलेका अध्यक्ष पङ्कज विक्रम नेम्वाङलाई जिताउन तपाईंको पनि त भूमिका थियो नि, होइन र ?

उहाँको निर्वाचनको सारथि नै म थिएँ । पङ्कजलाई अध्यक्ष बनाउने, किरण राईलाई महासचिव बनाउने प्रमुख भूमिका गणेश थापाको थियो । अरुको पनि थियो तर, मुख्य भूमिका गणेश थापाको थियो । थापा थिएनन् भने हामी कोही पनि अहिलेको पदमा हुँदैन थियौँ ।

birbahadur khadka (2)

त्यस्तै, राष्ट्रिय टोलीका तात्कालीन प्रमुख प्रशिक्षक अल्मुताइरीको घटनापछि उहाँ विचलित हुनुभयो । फेसबुकसम्म बन्द गरेर बस्नुभयो । ६–७ दिन उहाँकै घरमा रातभर बसेर सान्त्वना दिनेमा पनि म र दाबा हो । उहाँको साथमा अरु कोही पनि थिएन ।

पङ्कज नेम्वाङलाई निर्वाचनमा सहयोग गरेर गल्ती गरिएछ, धोका पाइयो भन्ने लाग्छ ?

पङ्कजलाई मैले जे सोचेको थिएँ, त्योचाहिँ होइन रहेछ । कुरा गराइ, हँसाइ सबै नक्कली रहेछ । उहाँमा नेतृत्व गर्ने क्षमता नै छैन ।

त्यसो भए गणेश थापाले पनि धोका पाउनु भयो ?

गणेश थापाको छोरालाई एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउने कुरा भएकै हो । तर, पछि ‘सार्वजनिक सूचना निकाल्नुपर्ने रहेछ, कानुनले नमिल्ने रहेछ’ भनेर नियुक्ति गरिएन । त्यो पदमा अर्को व्यक्तिलाई नियुक्ति गरियो ।

तपाईंहरू नेतृत्वमा आएपछि नेपाली फुटबलको अवस्थाबारे आफैँ समीक्षा गर्नु त, कहाँ छ नेपाली फुटबल ?

समग्रमा भन्नु पर्दा नेपाली फुटबल अघि बढेको छैन ।

त्यसो भए तपाईंहरू नेतृत्वमा आएपछि नेपाली फुटबल ओरालो लाग्यो भनेर बुझ्दा सही हुन्छ ?

केही गल्तीका बाबजुद गणेश थापाको नेतृत्व र कर्माछिरिङ शेर्पाको नेतृत्वले नेपाली फुटबललाई अघि बढाएकै हो । तर, अहिले हामी आएपछि नेपाली फुटबल कमजोर भएको पक्कै हो ।

एन्फाको इतिहासमा सबैभन्दा कमजोर नेतृत्व अहिलेकै हो भन्यो भने नि ?

म स्वीकार गर्छु ।

एन्फामा अनियमितताको कुरा जोडतोडका साथ उठाइरहनु भएको छ । अनियमितता भएरै हो कि भाग नपाएर उठाउनु भएको ?

मैले नचाहिने गरी पैसा लिएको भए, मैले अनियमितता गरेको भए, भाग नपाएर उठाएको भए त पङ्कजजीले मलाई ‘फायर’ गरिसक्नु हुन्थ्यो नि । अहिले उहाँको आँखाको तारो भनेकै म नै हुँ ।

तपाईंसँग प्रमाण के छ त अनियमितता भयो भन्ने ?

सार्वजनिक सूचना निकालेर एन्फाको सीईओ नियुक्ति गर्ने कार्यसमितिको निर्णय छ । तर, ईन्द्रमान तुलाधरलाई सूचना ननिकाली प्रक्रिया मिचेर गैरकानुनी ढंगले सीईओ नियुक्त गरियो । यो अनियमितिता नै हो । त्यस्तै उनको मासिक तलब (सेवा सुविधाबाहेक) नै एक लाख पाँच हजार छ । यो कुन नियममा टेकेर निर्णय गरियो ? यो अर्को अनियमितता । पदपूर्ति समितिको पदेन सदस्य रहेको महासचिवलाई नै पदपूर्ति समितिको संयोजक बनाइयो । योभन्दा गैरकानुनी कुरा के हुन्छ ?

विधान मिचेर किरण राईलाई पदपूर्ति समितको संयोजक किन बनाइएको रहेछ ?

भान्जी, भतिजा नियुक्ति गरिएको छ र त्यसमा पैसा खाइएको छ ।

भर्खरै सकिएको साफ महिला च्याम्पियनसिपको टिकटमा चाहिँ कति अनियमितता भयो नि ?

अर्को अनियमितता छ । सात दिन समय दिएर टिकट बिक्रीका लागि सूचना जारी गरियो । सात दिनमा पाँच दिन त सार्वजनिक बिदा नै थियो । त्यसमा पनि एउटाले टिकट बिक्रीका लागि जिम्मा पायो । तर, फाइनलको दिन अचानक आफैँले बेच्ने निर्णय गरियो । ११ सय भनेको टिकटलाई १२ सय ५० रुपैयाँमा बिक्री गरिएको छ । १० हजार भनेको टिकट ११ हजार रुपैयाँमा काटिएको छ । कति काटियो भन्ने हिसाब पनि छैन । त्यहाँ पनि अनियमितता भएको छ । मैले छानबिन समिति बनाउन माग गरेको छु ।

birbahadur khadka (3)

एन्फाको महासचिवको तलबको विषयमा पनि विवाद आइररहन्छ नि, किन ? खेल्ने खेलाडी अनि पैसा खाने महासचिव, यो राम्रो कुरा हो त ?

महासचिवको सम्झौतापत्र नै अध्यक्षले गोप्य राख्नु भएको छ । 

महासचिव भने पनि उनी एन्फाका कर्मचारी नै हुन् । एउटा कर्मचारीको तलब र सेवा–सुविधासम्म वरिष्ठ उपाध्यक्षलाई थाहा छैन त ?

महासचिवको मासिक तलब दुई लाख ७० हजार रुपैयाँ छ । अन्य सेवा सुविधा पनि जोड्दा महासचिवले मासिक चार लाख रुपैयाँभन्दा बढी बुझ्छन्् ।

महासचिवको तलब यति धेरै अनि नेपाली फुटबलको यात्रा भने अधोगतितर्फ हुँदा अप्ठ्यारो लाग्दैन ?

लाज–शरम त अध्यक्ष पङ्कज नेम्वाङ, महासचिव किरण राई, त्यसमा सहमति दिने साथीहरूले मान्नुपर्ने हो । हाम्रो त असहमति छँदैछ नि ।

तपाईं धेर भयो भन्नुहुन्छ, अध्यक्षले त महासचिवको तलब अझै कम भयो भन्नुभएको छ ?

महासचिवलाई जुन तलब आउँछ, त्यसमा एक लाख रुपैयाँचाहिँ कसैलाई दिनुपर्छ रे । त्यो एक लाखचाहिँ एन्फाकै एक जना पदाधिकारीलाई दिनुपर्छ रे ।

अहिलेको स्थितिमा फुटबललाई क्रिकेटको अवस्थासँग तुलना गर्दा कस्तो लाग्छ ?

लाज लाग्छ । क्रिकेट त कहाँ पुग्यो–पुग्यो । फुटबलको तुलना अहिले भलिबलसँग पनि हुँदैन । फुटबलमा भन्दा भलिबलको पक्षमा बढी दर्शक हुन्छन् ।

कामको हिसाबले हेर्ने हो भने एन्फाले २०७८ साल यता ‘बी’ डिभिजन लिग पनि गराउन सकेको छैन नि ?

कर्माजीको पालामा ग्रासरुट फुटबललाई देशभर चलाउनुभयो । तर, आज केही पनि छैन । अहिले हामी शून्यको अवस्थामा छौँ भन्दा फरक पर्दैन ।

‘बी’ डिभिजन लिगको घोषणा त भयो तर, १० वटा क्लबहरूले नखेल्ने भनिसके !

पहिलाको पैसा एन्फाले नदिएकाले उनीहरूले नखेल्ने भनेका हुन् । पैसा दिनेबित्तिकै क्लबहरू खेल्न तयार हुन्छन् । महासचिवले नै चिठी काटेर क्लबहरूलाई बोलाउने तर, त्यो बैठकमा अध्यक्ष, महासचिव नै नआउने काम भएको छ । अनि क्लबहरू एन्फाले भनेको मान्छन् त ? अध्यक्ष र महासचिवको काम नै विवाद सिर्जना गर्नेमात्र हो ।

त्यसो भए यो कार्यसमितिले क्लबहरूलाई समेत मिलाउन सकेको छैन, हैन त ?

पङ्कजजीले एन्फा चलाउनुभयो तर, फुटबलचाहिँ चलाउन सक्नुभएन । उहाँलाई डेढ वर्षपछि हुने निर्वाचन अहिले नै लागिसक्यो ।

तपाईं अध्यक्ष र महासचिवले राम्रो केही गरेनन् भन्नुहुन्छ अनि, अत्यधिक बहुमत उहाँहरूसँगै कसरी भयो त ? कि अहिले एन्फामा लोभीपापीमात्रै छन् ?

यो कुरामा मलाई पनि दुःख लागेको छ । ती साथीहरूसँग दया नै लागेको छ । ती साथीहरूले आफ्नो इज्जत पनि बिर्सिए । अधिकांश काम विधान विपरीत भएका छन् । संस्थाको पैसामा अनियमितता भएको छ । पक्कै समय आउँछ । अध्यक्ष, महासचिव, कोषाध्यक्ष जेल जाने दिन आउँछ ।

असोज १२ गतेको बाढी र पहिरोले मकवानपुरको सिस्नेरीमा रहेको एन्फा एकेडेमीमा खेल्दै, पढ्दै गरेका ६ जना किशोर खेलाडीको ज्यान गयो । नैतिकताको आधारमा राजीनामा दिनुपर्दैन तपाईंहरूले ?

फुटबल खेल्ने कुरामा असहमति राख्ने कुरा भएन । दुःखद् घटना भयो । एन्फामाथि दोष आयो । छानबिन समिति बनाउने कुरा भयो । तर, हामीमाथि नै दोष आइसकेपछि हामीले नै छानबिन समिति बनाउने होइन । बाहिरबाटै निष्पक्ष छानबिन समिति बनाऔँ भनेर भन्दा अध्यक्षज्यूले बहुमतका आधारमा आफैँले छानबिन समिति बनाउनुभयो ।

birbahadur khadka

छानबिन समितिलाई पनि स्थलगत अवस्था हेरेर प्रतिवेदन पेस गर्ने कार्यादेश छ । यस्तो हुन्छ ? दोषी देखिएमा एन्फाका पदाधिकारीलाई जेलसम्म पुर्‍याउन सक्ने समिति पो चाहिने होइन र ? 

यत्रो चासोको विषयमा खेलकुदमन्त्रीको भूमिका शून्य रह्यो । खेलकुदमन्त्री फेल भए । अझै समय छ, छानबिन समिति बनाउन खेलकुद मन्त्रीलाई आग्रह गर्छु ।

त्यो एकेडेमीमा क्षमताभन्दा बढी बच्चा राखिएको थियो भन्ने कुरा के हो ?

सही हो । २५ जना बच्चा राख्ने निर्णय भएको हो । तर, त्यहाँ ४० जना बच्चा राखिएको रहेछ । छनोट भएभन्दा बाहिरबाट सिधै १५ जना बढी बच्चा कसले राख्यो ? तर, अहिलेसम्म यस विषयमा कुनै जानकारी दिइएको छैन ।

बच्चाहरूसँग पैसा पनि लिन्छ रे एन्फाले । लिन पाइन्छ ?

कुनै हालतमा लिन पाइँदैन । तर, एक जना अभिभावकले त भैंसीको पाडा बेचेर एन्फालाई पैसा तिरेको गम्भीर आरोपसम्म लगाउनु भएको छ ।

न्यायको माग गर्दै एन्फा कार्यालय पुगेका मृतक बच्चाका अभिभावकलाई एन्फा नेतृत्वले प्रहरी लगाएर लौरोले कुटेर लखेट्ने काम गर्नुभयो भन्ने आरोप छ नि ?

बच्चाको अभिभावकहरूले उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गर्नुभएको छ । त्यसबाट आउने कुरा हामी मान्छौँ । त्यसपछि क्षतिपूर्ति, अक्षय कोष स्थापना, बच्चाहरूको शालिक बनाउने कुरा गरौँला भन्ने अभिभावकको भनाइ छ । तर, एन्फा अध्यक्षले किरिया बसेको ठाउँमा गएर आठ लाख रुपैयाँको चेक दिनुभएछ । यस्तो पीडा छ, किरिया बसेको ठाउँमा चेक दिने कस्तो मानवता नभएको अध्यक्ष भनेर अभिभावकले भने ।

यति धेरै बेथिति हुँदा एसियाली फुटबल महासंघ (एएफसी) र विश्व फुटबल महासंघ (फिफा) टुलुटुलु हेरेर बसिरहेको छ त ?

महासचिवसँग मैले फूल अडिट रिपोर्ट, केल्मीसँग भएको सम्झौता, अण्डर–२० टोलीका लागि होटलमा भएको कागजपत्र तीन पटक मागेँ तर, दिइएन । फिफालाई पत्र काटे, उसले पनि जवाफ दिएको छैन ।

आफ्नै अध्यक्ष, महासचिवसँग हारगुहार गर्दा एउटा कागज पनि दिँदैनन् । फिफा गुहार्नुहुन्छ, उसले वास्तै गर्दैन । तपाईं त कस्तो निरीह वरिष्ठ उपाध्यक्ष पो हुनुहुँदा रहेछ ?

बिचरो नै भइरहेको छु अहिले । ठिक छ, समय आउला नि । मेरा साथीहरूले बुझुन् । बुझ्नु पनि भएको छ होला तर, बोल्न सकिरहनुभएको छैन । अहिले बिचरो नै छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप