बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
विकास निर्माण

धरहरामा कति छन् निर्माण हुन बाँकी संरचना ?

‘सुन्धारा निर्माण र पुरानो धरहरा संरक्षणकाे जिम्मा पुरातत्त्व विभागलाई दिने तयारी’
बुधबार, १९ मङ्सिर २०८१, ०६ : १०
बुधबार, १९ मङ्सिर २०८१

काठमाडौँ । सरकारले धरहरा सञ्चालनमा ल्याए पनि अझै पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेको छैन । धरहरा परिसरमा रहेको सुन्धारा, पुरानो धरहरा संरक्षणको काम अझै सुरु नभएको सहरी विकास मन्त्रालय कामु आयोजना निर्देशक प्रकाश अर्यालले बताए ।

‘अहिले सिङ्गो धरहरा निर्माण भए पनि धरहरा परिसरका संरचना पार्किङ, अर्थक्वीक म्युजियम, वाटर ट्रिटमेन्ट प्लान्ट, लाइट जडानका काम अझै सकिएका छैनन्,’ निर्देशक अर्यालले भने, ‘सुन्धारा निर्माण र पुरानो धरहरा संरक्षणको काम अहिलेसम्म सुरु हुन सकेको छैन ।’

पूर्ण रूपमा निर्माण सम्पन्न नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३ गते संविधान दिवसको अवसर पारेर धरहरा सञ्चालनमा ल्याए । तत्काल परीक्षणका रूपमा सर्वसाधारणका लागि धरहरा निःशुल्क चढ्न पाउने व्यवस्था गरेको थियो । तर यही मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क लिएर धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै मङ्सिर ९ गतेदेखि धरहरा स–शुल्क सञ्चालनमा आएको छ । हाललाई  धरहराको सवारी पार्किङमा शुल्क लिइएको छैन । 

बेसमेन्ट पार्किङ भेन्टिलेसन जडान सुधार गर्नुपर्ने

धरहरामा तीन तले बेसमेन्ट पार्किङ निर्माण गरिएको छ । जसमध्ये पहिलो तलामा मोटरसाइकल पार्किङका लागि मात्र खुला भएको छ । २०८० माघमा काठमाडौँ महानगरले न्युरोडको कालोपत्र सडकमा पार्किङ निषेध गरेपछि धरहराको बेसमेन्ट पार्किङ खुला गरिएको थियो । त्यसयता धरहराको बेसमेन्ट पार्किङमा सवारी पार्किङ हुँदै आएको छ । 

बाँकी दोस्रो र तेस्रो तला अझै निर्माणको काम सम्पन्न नभइसकेको निर्देशक अर्यालले बताए । ‘सिभिलवर्कस्को काम सकिइसकेको छ । भेन्टिलेसन सिस्टम जडानको काम भएको छ त्यसको प्रपर टेस्टिङ र एप्रुभल भएको छैन । किनभने हावा पर्याप्त मात्रामा पुग्नुपर्ने हुन्छ,’ निर्देशक अर्यालले भने, ‘भेन्टिलेसन सिस्टम पूर्ण रूपमा जडान सफल नभएसम्म हामीले पार्किङ सञ्चालन गर्न सक्दैनौँ ।’ 

अर्यालका अनुसार जडान भइसकेको भेन्टिलेसन टेस्टिङका लागि भेन्टिलेसन जडान फेरि सुधार गर्नुपर्ने देखिएको छ । सुधार गर्नका लागि डेढ महिना समय लाग्ने र तीन वटै तला सञ्चालनमा ल्याउन करिब तीन महिना लाग्ने देखिएको छ । 

यसै गरी सरकारले पार्किङ शुल्क लिने निर्णय गरे पनि शुल्क उठाउन समिति गठन गर्ने भएकाले हाललाई शुल्क नलिएको उनले बताए । शुल्क लिने भएपछि पार्किङ गरेका सवारी साधनको चौबिसै घण्टा सुरक्षासहित शुल्क उठाउने जनशक्ति आवश्यक पर्ने उनको भनाइ छ । 

धरहरा परिसरमा संग्राहलय बनाउने तयारी भएको छ । यसको लागि अहिले बिल्डिङमा फिनिसिङको काम भइरहेको जनाइएको छ । त्यसको परिसर सुधारको काम पनि भइरहेको छ । यसैगरी वाटर ट्रिटमेन्ट प्लान्टहरू राख्न बाँकी छ धरहरामा लाइटिङ सिस्टम मिलाउने काम पनि बाँकी छ । यी सबै निर्माण गर्न ५ देखि ६ महिनासम्म लाग्ने देखिएको छ ।

सुन्धारा र पुरानो धरहरा संरक्षण हुन सकेन

सबैभन्दा महत्त्वपूर्ण संरचना २०७२ सालमा भत्किएर बाँकी रहेको धरहराको भाग संरक्षण गर्ने कार्य हुन सकेको छैन । यसैगरी अर्को महत्त्वपूर्ण संरचना सुन्धाराको पुनर्निर्माण हुन सकेको छैन । 

‘पहिला पुरानो धरहरालाई सिसाले छोपेर संरक्षण गर्ने भन्ने कुरा थियो । अब त्यसलाई केमिकल ट्रिटमेन्ट गरेर राख्न सकिन्छ भनेको हुँदा सिसाले छोपेर राख्ने कार्य अघि बढेन,’ निर्देशक अर्यालले भने, ‘यता सुन्धारामा पानीको आगमन बिन्दु र प्रस्थान पत्ता लगाउन नसक्दा सुन्धारा र पुरानो धरहरा संरक्षणको काम हुन सकेको छैन ।’

पुरानो धरहरा संरक्षणका लागि १ करोड र सुन्धारा पुनर्निर्माणका लागि २ करोड गरी कुल ३ करोड बजेट छुट्टाइएको छ । सो बजेटसहित यी दुवै संरचना निर्माणको जिम्मा विभागलाई दिने तयारी भइरहेको छ । 

सुनधारामा प्राकृतिक रूपमा पानी ल्याउन सकिन्छ कि भनेर गरेको प्रयास पनि अहिलेसम्म सफल हुन नसकेको उनले बताए । यसैगरी सुनधारामा आएको पानीलाई सहज निकास दिन पनि सकिने अवस्था नभएको अर्यालको भनाइ छ । 

‘पानी निकास हुने स्थान बन्द भएको छ । यो काम गर्न हामीले सकिरहेका छैनौँ,’ निर्देशक अर्यालले भने, ‘अहिले यो काम पुरातत्त्व विभागले गर्न चाहेको छ । विभागलाई जिम्मा दिने तयारीमा छौँ ।’ पुरातत्त्व विभागलाई काम गर्न बजेटसहित जिम्मा दिनलाई फाइल अर्थ मन्त्रालय पठाउने क्रममा रहेको अर्यालको भनाइ छ । 

अर्यालकाअनुसार पुरानो धरहरा संरक्षणका लागि १ करोड र सुन्धारा पुनर्निर्माणका लागि २ करोड गरी कुल ३ करोड बजेट छुट्टाइएको छ । सो बजेटसहित यी दुवै संरचना निर्माणको जिम्मा विभागलाई दिने तयारी भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप