मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जाल प्रयोगबारे टिकटकले चलायो छलफल

मङ्गलबार, १८ मङ्सिर २०८१, २३ : २२
मङ्गलबार, १८ मङ्सिर २०८१

काठमाडौं । सुरक्षित रुपमा सामाजिक सञ्जालको प्रयोगबारे डिजिटल प्लेटर्फम टिकटकले सरोकारवालामाझ छलफल चलाएको छ ।  काठमाडौंमा आयोजित ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा टिकटकजस्ता सामाजिक सञ्जालको सुरक्षित प्रयोग कसरी गर्ने ? भन्ने विषयमा सामूहिक छलफल भएको हो । 

सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुर, डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल, टिकटकका पब्लिक पोलिसी प्रोग्राम्स एन्ड पाट्नरसिप्स प्रमुख जारा बसहरत हिग्स् र टिकटक क्रिएटर सोर्वस् घिमिरेबीच सामूहिक छलफल भएको थियो । 

चाइल्डसेफनेट संस्थाका अध्यक्ष अनिल रघुवंशीले छलफलमा मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका थिए । सामूहिक प्रश्नमा उनले टिकटकबाट सुरक्षित हुन के गर्ने ? प्रश्नमा मन्त्रालयका प्रवक्ता ठाकुरले सरकारको तर्फबाट बोल्दै नियम र ऐन बलियो बनाएर कार्यान्वयन गर्ने तयारी भएको बताए । उनले टिकटक मर्यादित बनाउन अरु सरोकारवालाको साझेदारी आवश्यक हुने धारणा राखे । 

छलफलमा वक्ता जाराले टिकटक सही तरिकाले प्रयोग गर्न शैक्षिक जागरण फैल्याउनुपर्नेमा जोड दिईन् । जाराकाअनुसार अभिभावक र शिक्षकले बालबालिकामा सही तरिकाले टिकटकको सही प्रयोग गर्न सिकाउनु अहिलेको आवश्यकता हो । 

अबको दुई वर्षमा सामाजिक सञ्जालको प्रयोगले समाजमा के कस्ता चुनौती आउन सक्छन ? भन्ने प्रश्नमा डिजिटल राइट्स नेपालका निर्देशक सन्तोषले सीमान्तकृत समुदाय, महिला र बालबालिका बढी जोखिममा पर्नसक्ने धारणा राखे । टिकटक क्रिएटर घिमिरेले आफूले समाजलाई सकारात्मक दिशातर्फ बढाउने खालका श्रव्यदृश्य सन्देश दिएर मर्यादित टिकटक प्रयोगकर्ता बन्दै आएको अनुभव सुनाए ।  

कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले सामाजिक सञ्जालमार्फत अपराधिक गतिविधि बढ्दै गएको बताए । उनले ऐन र कानुनको कार्यान्वयनसँगै आमचेतनासमेत जगाउन आवश्यक रहेको बताए । उनका अनुसार खास गरी महिला र बालबालिका सामाजिक सञ्जालको दुरुपयोग गरी पीडित भएको अवस्था छ । 

यसैक्रममा सामाजिक सञ्जालको सही प्रयोग गर्न जनचेतनामूलक कार्यक्रम सुरु गर्न टिकटक र चाइल्डसेफनेटसँग सम्झौता हस्ताक्षर भएको छ । चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, सुनसरी र मोरङका जिल्लाका १४ विद्यालयमा सामाजिक सञ्जालको सही प्रयोग गर्ने तालिम दिने सहमति भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप