सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेले सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गरेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पछिल्लो समयमा सामाजिक सञ्जालमा भएको एमाले र नेतृत्वविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गरेको बताएका हुन् ।
महासचिव पोखरेलले आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा एमालेका स्थानीय कमिटीको योजना र अपेक्षा अनुरूप चुनावी परिणाम आउन नसकेको स्वीकार गरेका छन् । राजधानी काठमाडौँमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको भएपनि त्यो पुरा हुन नसकेको उनले बताए । उनले सहरी क्षेत्रका मतदाताको झुकाव मूलधारका राजनीतिक दलका पक्षमा आउन नसकेको पनि बताए ।
महासचिव पोखरेलले उपनिर्वाचनमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्य जनक रहेको उल्लेख गरे । उनले भनेका छन्,‘नेकपा (एमाले) विगतमा जितेका ७ वडाध्यक्ष मध्ये १ सिट मात्र कायम राख्न सक्यो । नेकपा (माओवादी केन्द्र)ले विगतमा जितेका ६ वडाध्यक्ष मध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाउन पुग्यो । नेपाली कांग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारी मध्ये कीर्तिपुरलाई छोडेर सबै गुमाउन पुग्यो । यसबाट जनप्रतिनिधिको भूमिकाप्रति स्थानीय जनता सन्तुष्ट नभएको देखिन्छ ।’
महासचिव पोखरेलले जनप्रतिनिधिहरूले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको बताए ।