सूर्यदर्शन सहकारीको ऋण उठाउन समिति गठन
पोखरा । बचत रकम डुबेपछि उठाउनका लागि बनेको संघर्ष समितिका अधिकांश पदाधिकारी राखेर सूर्यदर्शन सहकारी सञ्चालक समिति गठन गरिएको छ । मंगलबार भएको विशेष साधारण सभाले किरण श्रेष्ठको अध्यक्षतामा सञ्चालक समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा गोकर्ण बरुवाल, सचिवमा दुर्गानाथ न्यौपाने र कोषाध्यक्षमा प्रेम रेग्मी चयन भएका छन् । सदस्यहरू मिलन शाही, श्रीभद्र बराल, हरि चालिसे, शान्ति आचार्य, लक्ष्मी कँडेल छन् ।
साधारण सभाले सहकारीकै ऐन अनुसार लेखा समिति पनि गठन गरेको छ । राजेन्द्र पौडेलको संयोजकत्वमा तारापति सापकोटा र गोपाल गुप्ता सदस्य रहेको समिति गठन गरिएको हो । सहकारीको सल्लाहकारमा सूर्य पोख्रेल, एकबहादुर गुरुङ र दीपेन्द्र राई सर्वसम्मत चयन भएका छन् ।
पोखरामा रकम अपचलनमा परेका सबै सहकारीका संघर्ष समितिलाई बोलाएर पीडित बचतकर्ता समेतको उपस्थितिमा साधारण सभा गरिएको हो । साधारण सभाले बजारमा भएको ऋण लगानी उठाउने र पूर्वसञ्चालक समितिका सदस्यहरूले गरेको लगानी खोजी गर्ने निर्णय गरेको छ । ‘बजारमा सूर्यदर्शन सहकारीले लगानी गरेको ऋण उठाउने हाम्रो प्रमुख ध्यान हो । यसका लागि महानगरपालिकासँग मिलेर काम गर्नेछौं,’ नवनिर्वाचित अध्यक्ष श्रेष्ठले भने, ‘२०७२ यता सञ्चालकले कार्यक्षेत्र भित्र र बाहिर गरेको ऋण लगानी खोजी गर्ने र उठाउने भन्ने म्याण्डेट साधारण सभाले दिएको छ । त्यसलाई पूरा गर्छौं ।’
सञ्चालक समितिले सहकारी चलाएर ऋण प्रवाह गर्ने काम नगर्ने उनले बताए । ‘फटाफट सहकारी चलाउने, ऋण प्रवाह गर्ने होइन । अनुसन्धान अधिकृतले संकलन गरेका सूचना खोजी गर्ने र ऋण उठाउने हो,’ उनले भने, ‘मान्छे औषधी उपचार गर्न नपाएर मर्ने अवस्था छ । पैसा खातामा भए दिन त सकिन्छ नि ।’ उनले सहकारी सञ्चालनमा आउँदा ऋणी र बचतकर्ता दुबैलाई फाइदा हुने सुनाए । ‘कसैको घर फुकुवा, सवारी साधन पास गर्नुपर्ने छ । सहकारी बन्द भएकोले पास गर्न पाएका छैनन्,’ श्रेष्ठ भन्छन्, ‘संस्थालाई पनि फाइदा छ, ऋणीलाई पनि फाइदा छ । बजारमा गरेको लगानी त हाम्रै धन हो, मिडियटर पो सहकारी हो । खोजीनिती गरेर बाँडफाँट गर्न पाउने अधिकार हामीलाई छ ।’
सरकार र पूर्वसञ्चालकहरुसँग पनि समितिले नै संवाद गर्ने सचिव दुर्गानाथ न्यौपानेले बताए । ‘भोलिका दिनमा सरकारले व्यवस्थापन गर्ने भयो र जीबी राई र उनका कम्पनीले व्यवस्थापन गर्न चाहे भने समिति त चाहियो नि । फेरि साधारण सभा गर्ने भने समय लाग्छ । यही समिति भए काम छिटो होला । प्रतिवादीका रोक्का भएका धनसम्पत्ति सरकारी नीति अनुसार प्रत्यक्ष संलग्नता हुन सक्छ,’ उनले भने । साधारण सभामा ९ सयभन्दा बढी बचतकर्ताहरू उपस्थित भएका सहकारीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने
-
नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिन्छ : सभापति देउवा
-
विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला