१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
आज २०८१ मंसिर १८ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- प्रधानमन्त्रीको चीन भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनफिङबिच भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङमा देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा दुई नेताबिच भेट भएको हो । यसअघि प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिच पनि मंगलबार नै भेटवार्ता भएको हो । लीसँगको भेटपछि नेपाल र चीनबिच सहयोगबारे आठ समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधि मण्डलको टोली आइतबार चार दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेको हो ।
- उपनिर्वाचन
स्थानीय तह उपनिर्वाचन अन्तर्गत कोशी प्रदेशका स्थानीय तहका ८ पदको मतपरिणाम आइसकेको छ । ८ पदमध्ये एउटा पालिका अध्यक्ष र ७ वडा अध्यक्षमा प्रतिस्पर्धा भएको थियो । जसमध्ये १ अध्यक्ष र २ वडा अध्यक्ष पदमा जित निकाल्दै माओवादी पहिलो भएको छ ।
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा लज्जास्पद नतिजा आएपछि राजावादी पार्टी राप्रपाभित्र हलचल भएको छ । उपनिर्वाचनमा सुधारिएको नतिजा ल्याउनेमात्रै नभइ केही स्थानमा जित्नेसमेत लक्ष्य लिए पनि अधिकांश स्थानमा उम्मेदवारको जमानत नै जफत भएसँगै राप्रपाभित्र हलचल उत्पन्न भएको हो ।
स्थानीय तह उपनिर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलहरू निर्वाचन परिणामको लेखाजोखा गर्न व्यस्त छन् । चुनावी परिणाम सार्वजनिक भएसँगै राजनीतिक पार्टी र उम्मेदवारहरू परिणामको लेखाजोखामा जुटेका हुन् ।
उपनिर्वाचनबारे थप :
- लेखा समिति भर्सेस अख्तियार
लेखा समितिले निर्देशन दिने तर अख्तियारले आलटाल गर्छ । २०७४ को निर्वाचनपश्चात् लेखा समितिले यती, ओम्नी, वाइड बडी, सेक्युरिटी प्रिन्टिङ प्रेस, टेरामक्स, लुम्बिनी विकास कोष लगायत बहुचर्चित प्रकरणमा आयोगलाई छानबिन गर्न भनेको छ तर आयोगले ती विषयमा तदारूकता देखाएर अनुसन्धान गरेको पाइँदैन ।
- मौसम पूर्वानुमान
नेपालमा जाडो मौसम सुरु भएको छ । यो वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरिएको छ । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण आफूहरूले गरिरहेको जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रवक्ता विभूति पोखरेलले बताइन् । उनले मौसम केही सुख्खा रहने देखिएको रातोपाटीलाई बताइन् ।
- अदुवा निर्यात
नेपाली अदुवाले अन्तर्राष्ट्रिय बजारमा सम्भावना देखाएको छ । मसला बालीको रूपमा हेरिने अदुवाले अन्तर्राष्ट्रिय स्तरमा राम्रो बजार पाएको छ । तर नेपालमा यसको प्रवर्द्धन र विकास भने खासै हुन सकेको देखिँदैन । नेपालमा अदुवाको माग र खपत कति हुन्छ भन्ने यकिन तथ्याङ्क सरकारी निकायसँग पनि खासै भेटिँदैन ।
- विज्ञका कुरा
दिमागमा रगत पुर्याउने नसा बन्द भइ आउने समस्यालाई ‘स्ट्रोक’ (मस्तिष्कघात) वा प्यारालाइसिस भनिन्छ । यस्ता समस्याको पहिचान गर्ने र उपचार गर्ने प्रविधि नै न्यूरो इन्टरभेन्सन हो । टाउको नखोलिकन खुट्टाको नसाबाट सानो तार प्रवेश गराएर समस्या देखिएको भागसम्म पुर्याइ यो प्रविधिमार्फत उपचार गर्न सकिन्छ ।
- कांग्रेस विवाद
विवादकाबिच नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा आफ्नो गुटका पालिका सभापतिहरूको प्रशिक्षण कार्यक्रम राखेको छ । उक्त कार्यक्रम मंगलबार नेता डा शेखर कोइरालाले उद्घाटन गरे ।
- हिरासतमा राख्न अनुमति
राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका छन् । उनलाई काठमाडौँ जिल्ला अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति दिएको हो ।
- पुनर्निर्माणको अध्ययन सकियो
बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि सरकारले थालेको अध्ययन सकिएको छ । अध्ययन सकिएसँगै अन्तिम प्रतिवेदन दुई दिनभित्रमा तयार पार्ने र निर्माण प्रक्रिया अघि बढाउने भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशको भनाइ छ ।
- नेपाल प्रिमियर लिग
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । सुदूरपश्चिम रोयल्सले मंगलबार खेलिएको आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई ९० रनले हरायो । जारी प्रतियोगितामा विराटनगर किङ्सको यो लगातार दोस्रो हार हो । यसअघि गत शनिबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग आठ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।
पहिलो खेलमै अत्यन्तै निरीह प्रदर्शन गरेको पोखरा एभेन्जर्सलाई हराउँदै चितवन राइनोजले लगातार दोस्रो सफलता हात पारेको छ ।
एनपीएलबाट थप :