शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय
कांग्रेस विवाद

शेखरलाई भावी सभापति र प्रधानमन्त्री बनाउने भाषण

गुट भेलामा शेखरले भने– तपाईंहरूको सुरक्षा म गर्छु
मङ्गलबार, १८ मङ्सिर २०८१, १९ : ४०
मङ्गलबार, १८ मङ्सिर २०८१

विराटनगर । विवादकाबिच नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा आफ्नो गुटका पालिका सभापतिहरूको प्रशिक्षण कार्यक्रम राखेको छ । उक्त कार्यक्रम मंगलबार नेता डा शेखर कोइरालाले उद्घाटन गरे ।

‘नेपाली कांग्रेस प्रथम ऐतिहासिक कोशी प्रदेशस्तरीय पालिका सभापति प्रशिक्षण कार्यक्रम–२०८१’ लेखिएको ब्यानरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका १३७ मध्ये ११३ जना पालिका सभापतिको उपस्थिति रहेको उक्त समूहको दाबी छ ।

कार्यक्रम उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिनेहरूले शेखर कोइरालालाई १५औँ महाधिवेशनबाट पार्टी सभापति बनाउने र ०८४ को आमनिर्वाचनपछि प्रधानमन्त्री बनाउने दाबी गरे । नेपाली कांग्रेसमा अहिले देखिएको समस्या र देशमा देखिएको समस्याका समाधान उनै शेखरले गर्ने उनीहरूको दाबी थियो ।

कांग्रेस ओखलढुङ्गाकी पूर्वसभापति गोमा केसीले शेखर कोइराला अबको प्रधानमन्त्री र अबको पार्टी सभापति हुने ठोकुवा गरिन् । पाँचथरका कांग्रेस पूर्वसभापति नरेन्द्र केरुङले अहिले कार्यकर्ताको मन र भावना टुटेको बताए । अहिले दुःखेका मनलाई मलम लगाउनुपर्ने बताउँदै उनले प्रशिक्षण कार्यक्रमले त्यो पूरा गर्ने विश्वास व्यक्त गरे ।

अरूभन्दा चर्को भाषण गरेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मातिर सङ्केत गर्दै आक्रोश व्यक्त गरे । ‘केन्द्रीय समितिमा चटक देखाउनेहरू मात्रै छन् । दुई वटा महामन्त्रीलाई विधान पढ्न पठाउनुपर्ने भयो,’ उनले भने, ‘शेखर कोइरालालाई तर्साउने काम नहोस् ।’

पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जिल्ला सभापतिहरूलाई पठाएको पत्रको चर्चा गर्ने क्रमर्मा  कार्की आक्रोशित बनेका हुन् । उनले आफू पदाधिकारी भए १५ लाख भोट बढाउँछु भन्नेहरूलाई कति भोट बढ्यो भनेर प्रश्न गर्नुपर्ने बताए ।

‘१५ लाख भोट बढाउँछु भनेर पदाधिकारी हुनेलाई सोध्नुहोला, उपनिर्वाचनमा कति भोट बढ्यो ? कति घट्यो ? नोटले भोट आउँदैन । भोट किन्छु र जित्छु भन्ने जमाना सकियो,’ उनले भने ।

सुनसरी सभापति केदार भण्डारी, मोरङ सभापति डिकबहादुर लिम्बूले शेखर कोइरालालाई सबै जनताले पर्खिएर बसेको दाबी गरे । ‘जनताको त्यो चाहनालाई तपाईंले व्यवस्थापन गर्नुपर्छ । १५औँ महाधिवेशनसम्म यो अभियान जारी रहनुपर्छ,’ लिम्बूले भने ।

उनले उपनिर्वाचनमा व्यहोरेको पराजयको नैतिक जिम्मा आफूले लिने पनि बताए ।

कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले केन्द्रीय कार्यालयले पठाएको पत्र ‘बम’ भनेर हल्ला गरेको भए पनि पटाकाको पनि काम नगरेको बताए । ‘केन्द्रको पत्रलाई बम भनियो । तर, त्यो पत्रले बमको होइन, पटाकाको पनि काम गरेन,’ उनले भने ।

थापाले पनि डाक्टर शेखर कोइरालालाई गिरिजाको झैँ भूमिका खेल्न सुझाव दिए । ‘यो कार्यक्रमले शेखर कोइरालालाई १५औँ महाधिवेशनमा सभापति बनाउने कुराको सङ्कल्प पारित गरोस्,’ उनले भने ।

कांग्रेस नेता गुरूराज घिमिरेले हरेक निर्वाचनमा जनमत खुम्चँदै जानुको कारण के हो भन्नेबारे समीक्षा गर्नुपर्ने बताए । ‘पार्टीभित्र बाघचाल, बुद्धिचाल, चेस नखेलौँ । पार्टीभित्र घात–प्रतिघातको काम नगरौँ,’ घिमिरेले भने, ‘पार्टीको चाल, चेहरा र चरित्र बदल्न चाहन्छौँ ।’

त्यसका लागि डाक्टर शेखर कोइरालालाई नेतृत्वमा पुर्‍याउनु पर्ने उनको भनाइ थियो ।

घिमिरे पनि केन्द्रले पठाएको पत्रमै केन्द्रित हुँदै पार्टी कर्मचारीतन्त्रले नचल्ने टिप्पणी गरे । ‘विधानमै नभएको व्यवस्था उल्लेख गरेर पत्र पठाएको पाइयो । पालिका कमिटीले गोष्ठी, भेला, अभियान चलाउन पाउने विधानमै व्यवस्था छ । यो वैधानिक व्यवस्था हो,’ उनले भने, ‘कांग्रेस कर्मचारीतन्त्रले चल्दैन । पार्टी राजनीतिक परामर्श र सहकार्यमा चल्छ । केन्द्रीय कार्यालयबाट टेलिफोन गरेर अप्ठ्यारो पर्नसक्छ भन्नेसम्मका धम्की आए । पत्र पठाएर र तर्साउने प्रपञ्च भयो ।’

सांसद सरिता प्रसाईंले अर्को पक्षको भेला तथा कार्यक्रमलाई रोक्न खोजेर मुख बन्द गराउन खोजेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले ठुलो बनाएको भए पनि प्रधानमन्त्री बन्न किन नसकेको भन्दै प्रश्न गरिन् । ‘ठुलो दल बनाउनु भयो । तर, हामीले हाम्रो पार्टीको प्रधानमन्त्री बनाउन सकेनौँ । कहिले केपी, कहिले प्रचण्ड प्रधानमन्त्री बनाउनु परेको छ । प्रधानमन्त्री एक वर्षपछि आउँछ भनेर भोट माग्नु पर्ने अवस्था छ,’ उनले भनिन्, ‘यो किन भयो ? प्रधानमन्त्री बनाउन किन सक्नु भएन ?’

अन्तिममा उनले पनि त्यो काम शेखर कोइरालाबाटै हुने भन्दै अधिवेशनबाट उनैलाई सभापति जिताउनुपर्नेमा जोड दिइन् ।

कांग्रेस नेता मिनेन्द्र रिजालले भने पार्टीमा कटुता र तिक्तता हुन नहुनेमा जोड दिए । ‘पार्टीमा कटुता र तिक्तता हुनु हुँदैन । रेखा कोर्न खोजेको अवस्था छ । त्यो रेखा राजनीतिक पार्टीमा सम्भव छैन । तर, महाधिवेशन भएको तीन वर्षको अवधि पुग्दा समीक्षा गर्नु र छलफल गर्नु आवश्यक होला नि त !’ उनले भने ।

रिजालले कांग्रेसमा एउटैमात्रै बहस सभापति को बन्ने, को नबन्ने भन्ने रहेको भन्दै अब कांग्रेसले जितेका पालिका, प्रदेश र केन्द्रको सत्ता जनताको पक्षमा कसरी प्रयोग गर्न सकिन्छ भनेर काम गर्नुपर्नेमा जोड दिए । ‘कांग्रेसले ०७४ मा भन्दा ०७९ मा ७ प्रतिशत कम भोट ल्यायो । यो बहसको विषय हो कि होइन ? जनतामा चरम निराशा छ,’ उनले भने, ‘परिस्थिति खासै खराब छैन । तर, मनमा निराशा चुलिएको छ । यो बहसको विषय बन्नुपर्छ ।’

डा शेखर कोइरालाले भने प्रशिक्षण कार्यक्रममा ११३ वटा पालिकाका सभापति आएको भन्दै खुसी व्यक्त गरे । ‘उहाँहरू कुनै धाक धम्कीदेखि डराउनु भएन । तपाईंहरूको सुरक्षा म गर्छु भन्ने विश्वास दिलाउन चाहन्छु । यसमा डराउनु वा नर्भस हुनु पर्दैन,’ कोइरालाले भने ।

उनले दुई ठुला दल कांग्रेस र एमाले मिलेर संविधानमा सुधार, सुशासन र आर्थिक सुधारको कुरा गरेर अगाडि बढेको बताउँदै यो सरकारलाई असफल हुने छुट नभएको बताए । ‘तर, अप्ठ्यारो मानीमानी म भन्दैछु– चार महिना भयो, संविधानको विषयमा दुई वटा दलसँग छलफल पनि भएको छैन । अरू दलसँग पनि छलफल गर्नुपर्ने छ । तर, केले रोकेको छ ? बुझ्न सकेको छैन,’ उनले भने, ‘सुशासन नभइ भ्रष्टाचार रोक्न सकिँदैन । भ्रष्टाचारले देश चुर्लुम्म डुबिसकेको छ । कांग्रेस बरालिएको हो कि जस्तो पनि लाग्छ ।’

उनले पनि १५औँ महाधिवेशनपछि गलत कुराहरू हुन नदिने बताए । ‘हाम्रो महाधिवेशन हुन एक वर्ष बाँकी छ । अधिवेशन समयमै हुनुपर्छ भनेर दबाब सिर्जना गर्नुपर्छ । अहिलेको तरिकाले अधिवेशन हुने सम्भावना छैन,’ कोइरालाले भने, ‘त्यो हामी केन्द्रीय सदस्य र पदाधिकारीको कारणले हो । अहिले पनि सदस्यता नवीकरण हुन सकेको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप