बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय
वडा अध्यक्षको योजना

रास्वपाकी एक्ली वडाध्यक्ष भन्छिन् : बालेनसँग समन्वय गरेरै अघि बढ्छु (भिडियोसहित)

मङ्गलबार, १८ मङ्सिर २०८१

काठमाडौँ । मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनबाट काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा निर्वाचित वडा अध्यक्ष रोजिना श्रेष्ठले महानगरपालिका प्रमुख बालेन्द्र(बालेन) शाहसँग समन्वय गरेर अघि बढ्ने बताएकी छन् ।

 उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहमा निर्वाचित एक्ली जनप्रतिनिधि हुन् । 

वडाध्यक्ष पदको शपथ ग्रहण गरेपश्चात् मंगलबार रातोपाटीसँग कुरा गर्दै उनले भनिन्, ‘विकास गर्नका लागि आएको हो । महानगरपालिकासँग समन्वय गरेर अघि बढ्ने हो । महानगरपालिकासँग असल व्यवस्थापकीय कार्यमा समन्वय गरेर म अगाडि बढ्छु।’

रास्वपाको इतिहासमा पहिलो पटक वडाध्यक्ष बनेकी उनले पुराना दलबाट मान्छे वाक्क दिक्क भएकाले वडा नम्बर १६ ले आफूलाई रोजेको बताइन् ।

‘पुराना दलबाट दिक्क हुनुभएको छ । नयाँ आएर मात्र केही हुन्छ भन्ने आम जनतामा सोच भएकाले उहाँहरूले मत परिवर्तन गर्नुभयो र म माथि भरोसा गर्नुभयो‚’ उनले भनिन् ।

उनले आफूलाई जिताउने आम मतदाताको मत खेर जान नदिने भन्दै सधैँ जनताको सेवा गर्ने र सबैको समस्या समाधान गर्नका लागि प्रयास गर्ने बताइन् ।

‘टोल अनुसार फरक फरक समस्या छ, उहाँहरूसँग टोलटोलमा बसेर छलफल र संवाद गर्छु र अध्ययन पश्चात् उहाँहरूको समस्या समाधान गर्दै जानेछु‚’ उनले भनिन् ।

विगतमा कांग्रेसले जित्ने काठमाडौँ-१६ मा यस पटक उनले बाजी मारेकी हुन् ।  

उपनिर्वाचनमा २९०२ मत सहित उनले जित हासिल गर्दा नेकपा एमाले उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २२२० मत पाएका थिए । 

कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाएको निर्वाचन आयोगले आफ्नो जारी गरेको अन्तिम मत परिणाममा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया