बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

उपनिर्वाचनले कांग्रेसलाई नोक्सानी हैन, महासमितिको निर्णय स्थापित गरायो : मधु आचार्य

मङ्गलबार, १८ मङ्सिर २०८१, १९ : २०
मङ्गलबार, १८ मङ्सिर २०८१

मङ्सिर १६ मा भएको स्थानीय तह उपनिर्वाचनको नतिजाले नेपाली कांग्रेसलाई पहिलो दलकै रूपमा उभ्याएको छ । कांग्रेसले विगतमा जितेका १० वडा र ४ पालिका प्रमुख उपप्रमुख गुमाए पनि माओवादी र एमालेबाट ७ वडा खोसेको छ ।

कांग्रेसले यो उपनिर्वाचन विनागठबन्धन एक्लै प्रतिस्पर्धा गरेको हो । गत फागुनमा बसेको केन्द्रीय महासमिति बैठकमा बृहत् छलफल गर्दै चुनावअघि गठबन्धन नगर्ने निर्णयमा कांग्रेस पुगेको हो । यो उपनिर्वाचन त्यसैको प्रयोगको रूपमा कांग्रेसले लिएको थियो ।

मंगलबारमात्र पार्टी महामन्त्री विश्वप्रकाश शर्माले पनि कांग्रेसले ४४ मध्ये १९ पद जितेको भन्दै ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक रूपमा कम तर राजनैतिक, साङ्गठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण भएको बताएका थिए । साथै उनले ०७९ मा विजय पाएको केही स्थान कांग्रेसले गुमाएको भन्दै लोकतन्त्रमा शत प्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच नहुने भन्दै जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्त्वपूर्ण रहने बताएका थिए ।

उपनिर्वाचनको नतिजा तथा पार्टीको धारणाको विषयमा स्थानीय तह उपनिर्वाचन–०८१, केन्द्रीय संयोजन समितिका सदस्य मधु आचार्यलाई रातोपाटीले उपनिर्वाचनको नतिजासम्बन्धी केही प्रश्न गरेको छ । पार्टी केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभाग प्रमुखसमेत रहेका आचार्य पनि उपनिर्वाचनको नतिजाले कांग्रेसमा उत्साह थपेको दाबी गर्छन् ।

प्रस्तुत छ आचार्यसँग गरिएको संक्षिप्त संवादको सम्पादित अंशः–

  • उपनिर्वाचनको नतिजालाई कसरी लिनुभएको छ?  

कांग्रेसले गठबन्धन नगरी पार्टी–पार्टीबिचको प्रतिस्पर्धा गर्नुपर्छ भन्ने महासमितिको सन्देश सही रहेछ भन्ने यो उपनिर्वाचनले स्पष्ट पार्‍यो । दोस्रो कुराचाहिँ पार्टीले जो उम्मेदवार बनाए पनि हुन्छ भन्ने कुराबाट बाहिर निस्कनुपर्छ, पार्टीभित्र पनि जनताको विश्वास जितेको, छवि राम्रो भएको पात्र मतदाताको रोजाइमा रह्यो भन्ने स्पष्ट पारेको छ ।

  • कांग्रेसले उम्मेदवार छनोटमा गलत गर्दा विगतमा जितेको स्थान गुमाएको हो ?

जुन नतिजा देखियो, यो हेर्दा कांग्रेसले विगतमा जितेको ठाउँ गुमाएको छ । तर कांग्रेसले एमाले र माओवादीले विरासत बनाएका स्थानहरू पनि खोसेको छ । सँगै एमालेले पनि धेरै सिट विगतमा जितेकोमा हारेको छ । नयाँ सिट पनि जितेको छ ।

यसको अर्थ भनेको स्थानीयको भावना समेटेर अघि बढ्न सके चुनाव जित्न सकिन्छ भन्ने कांग्रेसले नसोचेको ठाउँबाट चुनाव जितेकोबाट पनि देखिन्छ । सर्वसम्मत् उम्मेदवार भएर पार्टी एक ढिक्का भएर लाग्दा नतिजा राम्रो आएको पनि छ ।

नतिजा हेर्दा सबैभन्दा बढी उत्साह माओवादीलाई भयो होला । तर कांग्रेसलाई पनि महासमितिबाट पास गरेको कुरालाई जनजनमा पुर्‍याउने, ग्रास रूटमा भिज्ने र टिकट वितरणमा प्राइमरी सिस्टममा जानुपर्छ भन्नेचाहिँ भान भएको छ ।

  • यो नतिजाले कांग्रेस सन्तुष्ट छ भन्ने तपाईंको आशय हो ?

जति बढी जित्न सक्यो, त्यति सन्तुष्ट हुने थियो नै । तर कांग्रेसले महासमितिमा लिएको निर्णय ठिक कि बेठिक भन्ने कुरा सबैतिर चर्चा भएको थियो । गठबन्धन आफैँमा कति ठिक–बेठिक भन्ने थियो । जस्तो, पुथा उत्तरगंगाले ठुला दल मिलेर गठबन्धन गर्दा पनि अस्वाभाविक गठबन्धन जनताले रचाउँदैनन् भन्ने स्पष्ट पार्‍यो नि । कांग्रेसको रूख लिएर एमालेको जिल्ला सचिव चुनाव लड्दा पनि कांग्रेस–एमालेले नरुचाएर जनताले माओवादी नै रुचाएको देखियो ।

अर्को कुरा, संगठनको बल नभई चुनाव जित्न सकिँदैन भनेर पनि स्पष्ट पार्‍यो ।

  • कीर्तिपुरबाहेक अन्य पालिका प्रमुख–उपप्रमुख पदमा हार्नुमा कांग्रेस कहाँ चुकेको हो ?

झट्ट नतिजा हेर्दा हार्‍यो कि जित्यो भन्नेमा एउटामात्र रिजल्ट देखिएला । तर, त्यहाँ मतको स्थिति के भयो र स्थानीय स्तरको परिस्थिति के थियो भन्ने पनि बुझ्न जरूरी छ । सबै परिस्थितिबिच यो नतिजामा कसरी पुगियो भनेर हेर्ने हो भने कांग्रेस एकदम उत्साहित भए हुन्छ । पार्टीलाई उपनिर्वाचनले केही नोक्सानी पुर्‍याएको छैन ।

जस्तै स्वामीकार्तिक खापरमा कांग्रेसले कहिल्यै जितेको होइन । अघिल्लो पटक गठबन्धन भएर माओवादीको सहयोगमा जित्यो । यो उपनिर्वाचनमा लोकल माओवादीहरूले आफ्नो उम्मेदवारसम्म फिर्ता लिएर अथवा भनौँ विद्रोह गरेर एमालेको पक्षमा माओवादी लाग्यो । त्यसरी लाग्दा पनि कांग्रेस जम्मा २६६ मतले मात्र हार्‍यो । यसको अर्थ एकल कांग्रेसको बल पहिलेभन्दा बढेको छ ।

अर्को, सर्केगाडको कुरा गर्नुहोस् । हुम्लामा कांग्रेस सधैँ हारेको हो । योभन्दा अघि उपप्रमुख माओवादीले जितेको हो । अहिले कांग्रेस यति प्रतिस्पर्धामा आयो कि जम्मा ४३/४४ मतले चुनाव हारेको छ । यसको अर्थ कांग्रेसले तागत बढाएको छ । दैलेखमा पनि पहिले कांग्रेस धेरै भोटले हारेको थियो, अहिले कांग्रेस जम्मा ३ भोटले हार्‍यो । झट्ट हार–जितको कुरा गर्दा हार नै हो, मतमा हेर्दा कांग्रेसलाई उत्साहको मत देखियो ।

उपनिर्वाचनको नतिजाले कर्णालीमा पनि कांग्रेसको स्पेस बढाएको छ । नलगाड पहिला गठबन्धन गरेर जितेको, माओवादीको भोटले जितेको कुरा लुकाउने कुरै हैन । अहिले एक्लै लड्दा अर्को दललाई टक्कर दिने अवस्थामा हामी पुग्यौँ । यसरी हेर्दा स्थानीय साथीहरूको मनोबल बढेको छ । समग्रमा भन्दा कांग्रेसको लोकप्रिय मत बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप