नेपाल–चीन सम्बन्ध र उच्च स्तरीय भ्रमण
चीन नेपालभन्दा ६५ गुणा ठुलो छ । चीनको जनसंख्या नेपालको भन्दा करिब ४६.६ गुणा धेरै छ । चीनको वार्षिक बजेट नेपालको बजेटभन्दा लगभग २००० गुणा ठुलो छ । त्यस्तै चीनको प्रतिव्यक्ति आय नेपालको भन्दा लगभग १० गुणा बढी छ ।
यी दुई देशबिचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक, कूटनीतिक सम्बन्ध एक दीर्घकालीन साझेदारीको नमुना हो । लिच्छविकालीन प्रसिद्ध राजा अंशुवर्माकी छोरी राजकुमारी भृकुटी र तिब्बतका ३३औँ सम्राट श्रङचङ गम्पोको वैवाहिक सम्बन्ध भएको थियो । उक्त सम्बन्ध आजपर्यन्त उत्तिकै सशक्त र जीवन्त छ ।
ऐतिहासिक रूपमा यी दुई देशका शासकबिच धार्मिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध रहेको पाइन्छ । औपचारिक रूपमा नेपालका लिच्छवि राजा अंशुवर्माका पालामा चीनसँग औपचारिक सम्बन्ध स्थापित भएको थियो । त्यतिबेला विशेष गरी चीनमा बौद्ध धर्मको प्रसार भएको थियो, जो चीनमा महायान परम्परासँग जोडिएको छ र यी दुई देशबिचको सांस्कृतिक सम्बन्धको आधार बनेको थियो । प्रसिद्ध बौद्ध भिक्षु फा–हिएन र ह्वेन–त्साङ जस्ता विद्वानले नेपाल भ्रमण गरेर सांस्कृतिक र धार्मिक अध्ययन गरेका थिए ।
गम्पोको शासनकालमा बौद्ध धर्म तिब्बतमा प्रवेश गरेको मानिन्छ । उनी स्वयं बौद्ध धर्मका अनुयायी थिए र उनले बौद्ध धर्मलाई तिब्बतमा स्थापित गरे । यो कार्यले तिब्बतलाई बौद्ध धर्मको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास गर्न मद्दत पुर्यायो । गम्पोको शासनकालमै तिब्बती (सम्भोट) लिपिको विकास भएको मानिन्छ, जसले तिब्बती साहित्य, धर्म र प्रशासनलाई व्यवस्थित गर्ने महत्त्वपूर्ण काम गर्यो ।
१२औँ शताब्दीमा नेपाली कलाकार अरनिकोले बेइजिङमा निर्माण गरेको पगोडा शैलीको मन्दिर तथा बौद्ध धर्मको विकासका लागि निर्माण गरेका स्तुपा पनि अत्यन्तै महत्त्वपूर्ण छन् । नेपाल–चीन युद्ध (सन् १७८८–१७९२) पश्चात् कूटनीतिक सम्बन्ध थप विस्तार भएको थियो ।
प्रजातन्त्रपछि नेपालका लगभग सबै उच्च स्तरीय नेताले चीनको भ्रमण गरेका छन् । सम्बन्धलाई निरन्तर ताजा बनाइरहेका छन् । यतिबेला भने नेपालीले व्यग्र रूपमा केरुङ–काठमाडौँ रेलको इन्तजार गरिरहेको अवस्था छ । के हाम्रो पुस्ता काठमाडौँबाट रेल चढेर बेइजिङ पुग्ला ?
नेपाल र चीनबिचको राजनीतिक सम्बन्ध पञ्चशीलमा आधारित छ । अर्थात् प्रत्येकको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान, एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, आपसी लाभ र समानता, शान्तिपूर्ण सहअस्तित्व र आक्रमण नगर्ने पाँच सिद्धान्तमा यी दुई देशबिचको सम्बन्ध अगाडि बढिरहेकोे छ ।
सन् १९५४ मा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु र चीनका प्रधानमन्त्री चाउ एनलाईबिच हस्ताक्षर गरिएको सम्झौताले पञ्चशील सिद्धान्तलाई पहिलोपटक आधिकारिक रूपमा प्रस्तुत गर्यो । यो सम्झौता मुख्यतया भारतको सिक्किम र तिब्बतबिचको व्यापारिक सम्बन्धबारे थियो, तर यसले विश्वव्यापी रूपमा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त प्रस्तुत गर्यो । आज पनि विश्वका धेरै देशले यो सम्झौतालाई सिद्धान्तकै रूपमा मान्ने गरेका छन् ।
नेपालले निरन्तर रूपमा चीनको ‘एक चीन नीति’मा समर्थन जनाएको छ, जसअन्तर्गत ताइवान र तिब्बतलाई चीनको अभिन्न अंगका रूपमा मान्यता दिइएको छ । चीनले पनि नेपालको सार्वभौमिकता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अपनाएको छ । यस प्रकारको पारस्परिक सम्मानले दुई देशबिचको राजनीतिक सम्बन्धलाई सुदृढ बनाएको छ ।
उच्चस्तरीय भ्रमण
नेपाल र चीनबिच सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएपछि राजा महेन्द्रको चीन भ्रमण (सन् १९६१) सम्पन्न भएको थियो । यो भ्रमण दुई देशबिचको कूटनीतिक सम्बन्धका सन्दर्भमा निकै महत्त्वपूर्ण थियो ।
यस भ्रमणका क्रममा व्यापार, यातायात र सुरक्षासम्बन्धी धेरै महत्त्वपूर्ण सम्झौता भएका थिए ।
चीनका तत्कालीन प्रधानमन्त्री चाउ एनलाईले नेपाल–चीन सीमा समस्या हल गर्ने उद्देश्यले २०१३ माघ १२–१६ मा नेपाल भ्रमणमा आएका थिए । त्यस लगत्तै भएको प्रधानमन्त्री बीपी कोइरालाको बेइजिङ भ्रमण (२०१६ फागुन २८–चैत ११)का बेला नेपाल–चीन सीमा सम्झौता भएको थियो ।
प्रधानमन्त्री बीपी कोइरालाको चीन भ्रमण नेपालको कूटनीतिक र व्यापारिक सम्बन्धलाई मजबुत बनाउने क्रममा महत्त्वपूर्ण थियो । यस भ्रमणले दुई देशबिच आपसी सहयोगलाई अझ बढी सुदृढ पारेको थियो ।
राजा वीरेन्द्रको चीन भ्रमण (सन् १९७३)ले नेपाल–चीन सम्बन्धमा नयाँ उचाइ थपेको थियो । दुई देशबिचको व्यापार, पर्यटन र भौतिक पूर्वाधारमा चीनले अझ बढी लगानी गर्ने प्रतिबद्धता यस भ्रमणको मुख्य उपलब्धि थियो ।
त्यस्तै, चिनियाँ राष्ट्रपति जियाङ जेमिनको नेपाल भ्रमण (सन् १९९६) का बेला नेपालको भौतिक पूर्वाधार, ऊर्जा र पर्यटनमा चीनले सहयोग गरेको थियो । त्यतिबेला दुई देशबिचका व्यापारिक सम्झौताहरूको कार्यान्वयनलाई थप प्रोत्साहन दिइएको थियो । यस्तै, गिरिजाप्रसाद कोइरालाले सन् १९९२ र २००२ मा दुईपटक चीनको औपचारिक भ्रमण गरेका थिए । यस्तै, शेरबहादुर देउवाले सन् २००१ मा र २०१७ मा, डा. बाबुराम भट्टराईले सन् २०१२ मा, राजा ज्ञानेन्द्रले सन् २००१ मा चीनको भ्रमण गरेका थिए ।
प्रधानमन्त्री भएका बेला पुष्पकमल दाहाल (प्रचण्ड)को सन् २००८ र २०१७ चीन भ्रमण गरेका थिए । उनको २०१७ को भ्रमणका बेला ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) सम्बन्धी सम्झौता भएका थिए । बीआरआई अन्तर्गत रेलवे, सडक निर्माण र अन्य पूर्वाधार परियोजनामा चीनले नेपाललाई सहयोग गर्दै आएको छ । केरुङ–काठमाडौँ रेल परियोजना यसकै महत्त्वपूर्ण उदाहरण हो ।
वर्तमान प्र्रधानमन्त्री केपी ओलीले यसअघि सन् २०१६ र २०१८ मा चीनको भ्रमण गरेका थिए ।
दुवै देशका उच्च नेताहरूबिचको भ्रमणले सम्बन्धलाई बलियो बनाएको छ । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले दुई देशबिचको सम्बन्धमा नयाँ उचाइ ल्याएको थियो । यस भ्रमणका क्रममा नेपाल र चीनबिच विभिन्न सम्झौता भएका थिए । जसमा यातायात, पूर्वाधार र आर्थिक विकासमा सहकार्य गर्ने निर्णय गरिएका थिए ।
चीनले नेपालको सुरक्षामा पनि महत्त्वपूर्ण सहयोग पुर्याउँदै आएको छ । तिब्बतसँगको सीमा क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्नका लागि चीनले नेपाललाई सहयोग गर्दै आएको छ । दुवै देशले सीमा सुरक्षामा सहकार्य गर्ने र अन्तर्राष्ट्रिय अपराध (जस्तै ः तस्करी, आतंकवाद, मानव बेचबिखन) रोक्नका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । सुरक्षा र कूटनीतिक तहमा पनि नेपाल–चीन सम्बन्ध मजबुत रहेको छ । नेपालले चीनको आन्तरिक सुरक्षा र तिब्बतको स्थायित्वप्रति समर्थन जनाउँदै आएको छ ।
सन् २०१५ को भूकम्पमा चीनले नेपाललाई ठुलो सहयोग गरेको थियो, त्यस्तै सन् २०२० मा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीको समयमा चीनले नेपाललाई स्वास्थ्य सामग्री, खोप र आर्थिक सहायता उपलब्ध गराउँदै आफ्नो रणनीतिक साझेदारीलाई प्रमाणित गरेको थियो ।
प्रजातन्त्रपछि नेपालका लगभग सबै उच्च स्तरीय नेताले चीनको भ्रमण गरेका छन् । सम्बन्धलाई निरन्तर ताजा बनाइरहेका छन् । प्रधानमन्त्री ओलीले यतिबेला चीनको भ्रमण गरिरहँदा नेपालीले व्यग्र रूपमा केरुङ–काठमाडौँ रेलको इन्तजार गरिरहेको अवस्था छ । कहिले आइपुग्ला, कति वर्ष लाग्ला ? के हाम्रो पुस्ता काठमाडौँबाट रेल चढेर बेइजिङ पुग्ला ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो
-
नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छ : प्रधानमन्त्री ओली
-
लुम्बिनी लायन्सले बनायो एपीएलको उच्च स्कोर, विराटनगर किङ्सलाई १९२ रनको लक्ष्य
-
अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान
-
नारायणकाजी श्रेष्ठ अचानक उडे चीन
-
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पेस