चीनले नेपालबाट कस्तो मासु आयात गर्न चाहन्छ ?
काठमाडौँ । चीनले नेपालबाट मासु आयात गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भैँसीको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको हो ।
२०८० असोजमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको क्रममा चीनले नेपालबाट भैँसीको मासु आयात गर्ने समझदारी भएको थियो । सोही समझदारी अनुसार प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा मंगलबार नेपाल–चीनबिच मासु निर्यातका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपालसँग मासुको गुणस्तर सम्बन्धी सबै सुनिश्चितता पूरा गरेपछि मात्र मासु आयात गर्न चीन तयार भएको हो । पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहालले चीनले माग गरेको सबै मापदण्ड पूरा गरेपछि यो सम्झौताका लागि निश्चित भएको बताए ।
सम्झौता भएर आइसकेपछि कति मासु लैजाने, कहिलेबाट लैजाने भन्ने सुनिश्चित हुने उनले बताए । सम्झौता भएरमात्र हुँदैन, त्यसका लागि तत्कालीन र दीर्घकालीन गरी लामो तयारी गर्नुपर्ने हुन्छ । केही कानुनी प्रक्रिया पनि पूरा गर्नुपर्ने हुन्छ ।
महानिर्देशक दाहालले भने, ‘चीनले रिस्क एसिस्टमेन्ट भनी विभिन्न प्रश्नको जवाफ माग गरेको थियो । सबै प्रश्नको जवाफ हामीले पठाएका थियौँ । ती जवाफ चीनले खोजेको मापदण्डसँग मेल खाएपछि आयात गर्न तयार भएको हो ।’
चीनले सबैभन्दा बढी स्वास्थ्य सम्बन्धी विषयमा प्रश्न उठाएको थियो । नेपालमा पशुमा खोरेत रोग लागेको र त्यसको निराकरण कसरी भइरहेको छ भन्ने बारेमा चीनको चासो थियो । नेपालमा लगभग खोरेत रोग नियन्त्रणमा छ, निर्मूल नभए पनि रोगको जोखिम कम भएको क्षेत्र छनोट गरेर त्यहाँबाट चीनलाई मासु निर्यात गर्ने नेपालको तयारी छ । त्यसको लागि ठाउँ छनोट गर्ने काम नेपालले सुरु गरिसकेको छ ।
खोरेत रोग देखिएका ठाउँमा खोपका कार्यक्रम चलिरहेकाले भैँसीको मासु स्वास्थ्यकर रहेको दाबी नेपालले प्रस्तुत गरेको पशु सेवा विभागले जनाएको छ । चीनले पशु पालनको अभ्यास, उत्पादनको अवस्थालगायतको विषयमा पनि जिज्ञासा राखेको थियो ।
नेपालले कति मासु दिन सक्छ भन्नेमा चीनको चासो थियो । त्यसको विषयमा नेपालले चीनलाई चाहिने परिमाणका बारेमा जानकारी भएपछि सोही अनुसारको व्यवस्था गरिने पनि जवाफ पठाएको थियो । नेपाल मासुमा आत्मनिर्भर छ । मासुको उत्पादन पनि राम्रै छ । चीनको माग अनुसार थप व्यवस्था गर्न सकिने विभागले जनाएको छ ।
नेपालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्ने जोन बनाएर भैँसी उत्पादनको काम गरिरहेको छ । त्यो जोनलाई पनि चीनमा मासु निर्यात गर्ने कार्यक्रममा राख्ने तयारी विभागको छ ।
विभागका अनुसार नेपालमा वार्षिक दुई लाख मेट्रिक टनको हाराहारीमा राँगा तथा भैँसीको मासु उत्पादन हुन्छ । केही मात्रामा विदेश निर्यात भए पनि अरु सबै नेपालमै खपत हुने गरेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा ६ संगठन एक ठाउँमा
-
प्रहरीले ट्याल्कम पाउडरलाई कोकिन ठानेपछि...
-
हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’
-
दर्ता प्रमाणपत्र र बिलबिजक नराखी सञ्चालन गर्ने इलेक्टोनिक्स पसललाई एक लाख जरिवाना
-
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्री वितरणमा रोक
-
वैदेशिक रोजगारीमा सधैँ भर पर्ने कि राज्यले केही पहल गर्ने ?