शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

एमालेलाई काठमाडौँमा झट्का, कीर्तिपुर र वडा नम्बर १६ जित्ने ‘आन्तरिक विश्लेषण’ फेल

मङ्गलबार, १८ मङ्सिर २०८१, १६ : ४०
मङ्गलबार, १८ मङ्सिर २०८१

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलहरू निर्वाचन परिणामको लेखाजोखा गर्न व्यस्त छन् । चुनावी परिणाम सार्वजनिक भएसँगै राजनीतिक पार्टी र उम्मेदवारहरू परिणामको लेखाजोखामा जुटेका हुन् ।

सार्वजनिक परिणामअनुसार उपनिर्वाचनमा ठुला तीन दलमध्ये नेपाली कांग्रेसले १० पद गुमाएको छ भने माओवादी केन्द्र र नेकपा एमालेले साविकको तुलनामा केही पद संख्या बढाएका छन् । उपनिर्वाचनमा प्रायः एकल प्रतिस्पर्धा गरेका दलहरूले यो निर्वाचनलाई स्थानीयस्तरमा आफ्नो वास्तविक जनमत परीक्षणका रूपमा लिएका छन् ।

उपनिर्वाचनको परिणामले दलहरूलाई २०८४ मा हुने निर्वाचनमा थप रणनीति अख्तियार गर्न सहज बनाएको छ ।

काठमाडौँमा एमालेलाई झट्का

संसदको दोस्रो ठुलो दल नेकपा एमाले उपनिर्वाचनमा तेस्रो स्थानमा सीमित बनेको छ । जबकि नेकपा एमालेले काठमाडौँका चारमध्ये कम्तीमा २ पद जित्ने आन्तरिक विश्लेषण गरेको थियो ।

पहिला जितेका वडासमेत जोगाउन नसकेको एमालेले पालिका प्रमुख र उपप्रमुखको संख्या बढाएर समग्रमा झिनो सुधार गरे पनि काठमाडौँको नतिजाले एमालेको संगठन र नेता–कार्यकर्ता परिचालनमा गम्भीर समस्या उजागर गरेको छ ।

समग्र उपनिर्वाचन नतिजामा आएको झिनो सुधार अपेक्षाकृत नरहेको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे स्वयं स्वीकार गर्छन् ।

२०७९ को स्थानीय निर्वाचनमा जितेर उपनिर्वाचन भएका ७ मध्ये एक वडा दुल्लु–१३ मात्र जोगाउन सफल भएको एमालेले उपनिर्वाचनमा कम्तीमा ५० प्रतिशत जित्ने दाबी गरेको थियो । उसले नयाँ स्थान सिरिजंघा–३, मोलुङ–५, रामगोपालपुर–२, शुद्धोधन–१ अन्य पार्टीबाट खोस्न सफल भएको छ ।

तर यसअघि जितेका कन्काई–६, गढीमाई–६, ईशनाथ–४, गोरखा नगरपालिका–५, सुर्मा–४ र त्रिपुरासुन्दरी–५ जोगाउन एमाले असफल भएको छ ।

त्यतिमात्र होइन, कुनैबेला लालकिल्ला मानिएको काठमाडौँ जिल्लाका चार पदमा भएको निर्वाचनमा एमालेले एक स्थानमा पनि जनताको विश्वास जित्न नसकेको नतिजाले नै देखाइसकेको छ ।

‘कीर्तिपुर र कामनपा वडानम्बर १६ को नतिजा एमालेको कोणबाट हेर्दा राम्रो देखिँदैन’, उपाध्यक्ष पाण्डेले रातोपाटीसँग भने, ‘कीर्तिपुर र कमनपा–१६ को नतिजा हाम्रो पक्षमा आएन । काठमाडाँैको ट्रेन्डलाई सामान्य ढंगले लिनुहुँदैन । यसको समीक्षा अनिवार्य छ ।’

उपनिर्वाचनको नतिजापछि संगठन र पार्टी सञ्चालनमा के कमी भएको हो भन्ने गहिरिएर खोतल्नुपर्ने देखिएको पाण्डेको भनाइ छ ।

अपेक्षाकृत नतिजा आफ्नो पक्षमा पार्न एमाले कसरी असफल भयो ? भन्ने प्रश्नमा उपाध्यक्ष पाण्डेले भने, ‘पार्टी कमिटीहरू निर्माणमा, तल जिम्मेवारी प्रदान गर्ने कुरामा, कार्यकर्ता जनताका काम–कुरा सुन्ने र गर्ने सवालमा अपुग छ कि भन्ने देखियो ।’

उनले पहिला हारेका केही स्थानमा जित निकाल्नु सकारात्मक पक्ष भए पनि समग्रमा अपेक्षाकृत नतिजा हुन नसकेकोबारे पार्टी कमिटीहरूमा छलफल गरिने बताए ।

काठमाडौँमा कीर्तिपुरको मेयर, कीर्तिपुरकै वडानम्बर १ र ४ तथा काठमाडौँ महानगरपालिका वडानम्बर १६ मा उपनिर्वाचन भएको थियो । मेयरसहित कीर्तिपुरका तीन वटै पद कांग्रेसले कब्जा गर्दा काठमाडौँ १६ मा भने रास्वपाले किलो गाडेको छ ।   

एमालेबाहेक नेपाली कांग्रेसले एक नगरपालिका प्रमुख र १६ वडाध्यक्ष जितेर १७ पद जोगाएको छ भने दोस्रो स्थान हासिल गर्दै नेकपा माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, एक उपमेयर, दुई उपाध्यक्ष र सात वडाध्यक्षसहित ११ पदमा बाजी मारेको छ ।

जनता समाजवादी पार्टीले २ वडा जित्दा रास्वपाले १, नेकपा एकीकृत समाजवादी १ र स्वतन्त्र उम्मेदवारले एक वडा जितेका छन् । संसदको चौथो ठुलो पार्टी रास्वपा १ वडाध्यक्षमा सीमित बनेको अवस्थामा पुरानै दलहरूले विगतमा जितेका एक अर्काको पद खोसेर आफ्नो हैसियत कायम गरेका हुन् ।

कसलाई नाफा, कसलाई घाटा ?

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ३२९ प्रमुख/अध्यक्ष, ३०० उपप्रमुख/उपाध्यक्ष, २ हजार ६७५ वडा अध्यक्ष, १० हजार ४३४ वडा सदस्यसहित १३ हजार ७१९ पदमा निर्वाचित भएको थियो । यो कुल सिट संख्याको ३९.२२ प्रतिशत हो । त्यसैगरी नेकपा एमाले २०६ प्रमुख/अध्यक्ष, २४० उपप्रमुख/उपाध्यक्ष, २ हजार १२७ वडा अध्यक्ष र ९ हजार २९६ वडा सदस्यसहित ११ हजार ८६८ पदमा निर्वाचित भएको थियो । यो कुल सिट संख्याको ३३.९३ प्रतिशत हो ।

तेस्रो दल माओवादी केन्द्रले १२१ प्रमुख/अध्यक्ष, १२८ उपप्रमुख/उपाध्यक्ष, एक हजार ५३ वडा अध्यक्ष, ३ हजार ७४२ वडा सदस्यसहित ५ हजार ४४ पदहरूमा जितेको थियो । यो भनेको कुल सिट संख्याको १४.४२ प्रतिशत हो । अन्य सिटमा अन्य दल र केही स्वतन्त्र व्यक्ति निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख १ जना, उपप्रमुख १ जना, पालिका अध्यक्ष २ जना, उपाध्यक्ष २ जना र वडाअध्यक्ष १९ गरी जम्मा २५ पद जितेका स्थानमा उपनिर्वाचन भएको थियो । त्यस्तै नेकपा एमालेको तर्फबाट निर्वाचित ७ जना वडा अध्यक्षको स्थानमा उपनिर्वाचन भएको हो । माओवादी केन्द्रबाट निर्वाचित २ जना पालिकाका उपाध्यक्ष र ६ जना वडा अध्यक्ष गरी ८ जना, जसपाबाट निर्वाचित १ जना वडाअध्यक्ष र स्वतन्त्र निर्वाचित १ जना वडा अध्यक्षको पद रिक्त भइ जम्मा ४२ मध्ये एक निर्विरोध भएकाले ४१ स्थानमा उप निर्वाचन भएको हो ।

उपनिर्वाचनको परिणाम अनुसार नेपाली कांग्रेसले १ जना प्रमुख र १६ वटा वडा अध्यक्ष जित्न सफल भयो भने २ जना पालिका अध्यक्ष, १ जना उपप्रमुख, २ जना उपाध्यक्ष र ३ वटा स्थानमा वडा अध्यक्ष गरी ८ सिट गुमाएको छ ।

नेकपा एमालेले १ जना पालिका अध्यक्ष, २ जना पालिका उपाध्यक्ष र ५ वडा अध्यक्ष गरी ८ स्थानमा विजय हासिल गर्दा १ पालिका अध्यक्ष, २ पालिका उपाध्यक्ष नाफा गरेको छ ।

माओवादी केन्द्रले १ अध्यक्ष, २ उपाध्यक्ष, १ उपप्रमुख, १ सर्वसम्मत सहित ८ वडा अध्यक्ष जितेको छ । यो नतिजाले माओवादीलाई १ अध्यक्ष र १ उपप्रमुख, १ उपाध्यक्ष २ जना वडा अध्यक्ष नाफा भएको छ ।

स्थानीय तहमा अब नेपाली कांग्रेसबाट ३२७ प्रमुख/अध्यक्ष, २९७ उपप्रमुख/उपाध्यक्ष र २ हजार ६७२ वडा अध्यक्ष स्थानीय जनप्रतिनिधि हुने भएका छन् । त्यस्तै नेकपा (एमाले) २०७ प्रमुख/अध्यक्ष, २४२ उपप्रमुख/उपाध्यक्ष, २ हजार १२५ वडाअध्यक्ष भएका छन् । माओवादी केन्द्रका १२२ प्रमुख/अध्यक्ष, १३१ उपप्रमुख/उपाध्यक्ष र एक हजार ५५ वडा अध्यक्ष कायम भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप