चितवन राइनोजको लगातार दोस्रो जित, पहिलो खेलमै पोखरा एभेन्जर्सको लज्जास्पद प्रदर्शन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पहिलो खेलमै अत्यन्तै निरीह प्रदर्शन गरेको पोखरा एभेन्जर्सलाई हराउँदै चितवन राइनोजले लगातार दोस्रो सफलता हात पारेको छ ।
चितवन राइनोजले मंगलबार खेलिएको खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो । जारी एनपीएलमा चितवन राइनोजको यो दोस्रो जित हो । चितवनले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार टस हारी पहिले ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६१ रन बनाएको हो । पोखरा एभेन्जर्सले भने १३.२ ओभरमै अलआउट हुनुअघि ७४ रनमात्र बनाउन सक्यो ।
प्रारम्भदेखि नै पोखरा एभेन्जर्सका ब्याट्सम्यानहरू चितवन राइनोजका बलरको दबाबमा परे । पोखरा एभेन्जर्सका ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै मैदानबाट बाहिरिएका थिए । पोखराले पहिलो ओभरमै तीन विकेट गुमाएको थियो ।
पहिलो ओभरको पहिलो बलमा कप्तान कुशल भुर्तेल (शून्य रन) आउट भए । पहिलो ओभरको पाँचौँ बलमा दिलीप नाथ (चार रन) पभेलियन फर्किए । पहिलो ओभरको अन्तिम बलमा बास डी लिडे (शून्य रन) पभेलियन फर्किए ।
अघिल्ला तीनवटै विकेट सोहेल तनवीरले लिएका थिए । ३९ वर्षीय तनवीर पाकिस्तानका तीव्र गतिका बलर हुन् । उनले जारी एनपीएलमा लिएको विकेट सङ्ख्या आठ पुगेको छ । उनले काठमाडौँ गुर्खाजविरुद्धको खेलमा पनि एक्लैले पाँच विकेट लिएका थिए ।
पोखरा एभेन्जर्सले चौथो ओभरमा पनि तीनवटा विकेट गुमायो । चौथो ओभरको पहिलो बलमा ओपनर दिनेश खरेल एक रन बनाउँदै आउट भए । चौथो ओभरको चौथो बलमा किरण ठगुन्ना एक रन बनाउँदै पभेलियन फर्किए ।
त्यसलगत्तै चौथो ओभरको अन्तिम बलमा माइकल लिस्क (शून्य रन) आउट भए । चितवन राइनोजका बलर रिजन ढकालले चौथो ओभर बलिङ गरेका थिए । पोखरा एभेन्जर्सले आफ्नो सातौँ विकेट सातौँ ओभरको दोस्रो बलमा गुमाएको थियो ।
सातौँ विकेटका रूपमा रेमोन रिफर एक रन बनाउँदै पभेलियन फर्किएका थिए । उनलाई चितवनका बलर लुक बेनकेन्स्टिनले विकेटकिपर विपिन रावलद्वारा क्याच गराएका थिए । पोखरा एभेन्जर्सले शून्य रनमा पहिलो, चार रनमा दोस्रो, चार रनमै तेस्रो, ६ रनमा चौथो, सात रनमा पाँचौँ, सात रनमै छैटौँ र १७ रनमा सातौँ विकेट गुमाएको थियो ।
पोखरा एभेन्जर्सले आफ्नो आठौँ विकेटका रूपमा मार्कस क्रिचलीलाई गुमाएको थियो । उनले पेभेलियन फर्किनुअघि टोलीका लागि १७ रन बनाए । उनले १६ बलमा दुई चौका पनि हिर्काए । उनलाई ११औँ ओभरको दोस्रो बलमा बेनकेन्स्टिनले एलबीडब्लूको धरापमा पारेका थिए । उनी आउट हुँदा टोलीको स्कोर ४७ रन थियो ।
यसैगरी, पोखरा एभेन्जर्सले नवौँ विकेटका रूपमा नारायण जोशीलाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले टोलीका लागि सर्वाधिक ३० रनको योगदान गरे । यसक्रममा उनले २४ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए ।
नारायणलाई चितवनका बलर बेनकेन्स्टिनले सन्तोष कार्कीद्वारा क्याच गराए । पोखराले अन्तिम विकेटका रूपमा विपिन खत्रीलाई गुमायो । उनी नौ रन बनाउँदै आउट भए । उनलाई चितवनका बलर दीपक बोहराले बोल्ड गरेका हुन् । सागर ढकाल शून्य रनमा अविजित रहे ।
पोखरा एभेन्जर्सले अतिरिक्त रूपमा पनि ११ रन पायो । चितवन राइनोजका बलर सोहेल तनवीर, लुक बेनकेन्स्टिन र रिजन ढकालले तीन–तीन विकेट लिए । अर्को एक विकेट भने दीपक बोहराले हार पारेका थिए ।
त्यसअघि, चितवन राइनोजका लागि कप्तान कुशल मल्लले ३८ रनको योगदान गरेका थिए । अर्का प्रभावशाली ब्याट्सम्यान रवी बोपराले भने अर्धशतकीय पाली खेले । उनले ५१ रन बनाए ।
चितवन राइनोजले २७ रनको कुल स्कोरमै आफ्नो दुई विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान दीपक बोहरा दुई र हसन इसाखिल १४ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
तेस्रो विकेटका रूपमा पेभेलियन फर्किएका लुक बेनकेन्स्टाइनले पनि १६ रन जोडेका थिए । आउट हुनुअघि उनले १३ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काएका थिए ।
लुक आउट हुँदा चितवनको स्कोर ४६ रन थियो । त्यसपछि कुशल र रवी बोपराले चौथो विकेटका लागि ६८ रनको साझेदारी गरे । यी दुईले स्कोरलाई एक सय १४ रनको स्थितिसम्म पुर्याएका थिए ।
कप्तान कुशल मल्ल ३८ रन बनाउँदै आउट भएपछि यी दुईबिचको साझेदारी टुटेको थियो । कुशलले केवल २३ बलको सामना गरी चार छक्का र एक चौका हिर्काएका थिए ।
रवि बोपराले टोलीका लागि अर्धशतकीय पाली खेले । उनले ३८ बलमा तीन छक्का र तीन चौकाको मद्दतले ५१ रनको योगदान गरे । जारी एनपीएलमा बनेको यो पाँचौँ अर्धशतक पनि हो ।
मंगलबार नै विराटनगर किङ्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पाली खेलेका थिए । उनले अविजित ५७ रन बनाएका थिए ।
यसअघि सोमबार कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साहले पनि अर्धशतक प्रहार गरेका थिए । उनले ४२ बलमा ६२ रन बनाएका थिए ।
उद्घाटन खेलमा पनि दुई अर्धशतक बनेको थियो । विराटनगर किङ्सका मार्टिन गप्टिलले ५५ रन बनाएका थिए । त्यही खेलमा जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अविजित ७५ रन बनाएका थिए ।
रवी बोपरा आउट भएलगत्तै चितवन राइनोजले आफ्नो छैटौँ विकेट पनि गुमाएको थियो । १७औँ ओभरको दोस्रो बलमा सोहेल तनवीर पेभेलियन फर्किएका थिए । उनले खाता खोल्न सकेनन् ।
सातौँ विकेटका रूपमा सन्तोष कार्की १३ बलमा ११ रन बनाउँदै आउट भए । शरद भेषावकर ११ र अमर रौतेला १३ रनमा अविजित रहे । चितवनले अतिरिक्त रूपमा पाँच रन पायो ।
पोखरा एभेन्जर्सका बलर विपिन खत्री, बास डी लिडे र रेमोन रिफरले दुई–दुई विकेट लिए । सागर ढकालले पनि एक विकेट हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सैन्य कानून’को घोषणाको बदलामा दक्षिण कोरियाली राष्ट्रपतिलाई महाभियोगको डण्डा
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश