बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

बोपाराको अर्धशतकको मद्दतले चितवन राइनोजले दियो १६२ रनको लक्ष्य

मङ्गलबार, १८ मङ्सिर २०८१, १४ : २३
मङ्गलबार, १८ मङ्सिर २०८१

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको मंगलबार जारी दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितका लागि एक सय ६२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६१ रन बनाएको हो ।

चितवन राइनोजका लागि कप्तान कुशल मल्लले ३८ रनको योगदान गरे । अर्का प्रभावशाली ब्याट्सम्यान रवि बोपराले भने अर्धशतकीय पाली खेले । उनले ५१ रन बनाए ।

pokhara vs chitwan (1)

चितवन राइनोजले २७ रनको कुल स्कोरमै आफ्नो दुई विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान दीपक बोहरा दुई र हसन इसाखिल १४ रन बनाउँदै पभेलियन फर्किएका थिए ।

तेस्रो विकेटका रूपमा पभेलियन फर्किएका लुक बेनकेन्स्टाइनले पनि १६ रन जोडेका थिए । आउट हुनुअघि उनले १३ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काएका थिए ।

लुक आउट हुँदा चितवनको स्कोर ४६ रन थियो । त्यसपछि कुशल र रवि बोपाराले चौथो विकेटका लागि ६८ रनको साझेदारी गरे । यी दुईले स्कोरलाई एक सय १४ रनको स्थितिसम्म पुर्‍याएका थिए ।

pokhara vs chitwan (2)

कप्तान कुशल मल्ल ३८ रन बनाउँदै आउट भएपछि यी दुईबिचको साझेदारी टुटेको थियो । कुशलले केवल २३ बलको सामना गरी चार छक्का र एक चौका हिर्काएका थिए ।

रवि बोपाराले टोलीका लागि अर्धशतकीय पाली खेले । उनले ३८ बलमा तीन छक्का र तीन चौकाको मद्दतले ५१ रनको योगदान गरे । जारी एनपीएलमा बनेको यो पाँचौँ अर्धशतक पनि हो ।

मंगलबार नै विराटनगर किङ्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पाली खेलेका थिए । उनले अविजित ५७ रन बनाएका थिए ।

यसअघि सोमबार कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साहले पनि अर्धशतक प्रहार गरेका थिए । उनले ४२ बलमा ६२ रन बनाएका थिए ।

pokhara vs chitwan (6)

उद्घाटन खेलमा पनि दुई अर्धशतक बनेको थियो । विराटनगर किङ्सका मार्टिन गप्टिलले ५५ रन बनाएका थिए । त्यही खेलमा जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अविजित ७५ रन बनाएका थिए ।

रवी बोपरा आउट भएलगत्तै चितवन राइनोजले आफ्नो छैटौँ विकेट पनि गुमाएको थियो । १७औँ ओभरको दोस्रो बलमा सोहेल तनवीर पेभेलियन फर्किएका थिए । उनले खाता खोल्न सकेनन् ।

सातौँ विकेटका रूपमा सन्तोष कार्की १३ बलमा ११ रन बनाउँदै आउट भए । शरद भेषावकर ११ र अमर रौतेला १३ रनमा अविजित रहे । चितवनले अतिरिक्त रूपमा पाँच रन पायो ।

pokhara vs chitwan (3)

पोखरा एभेन्जर्सका बलर विपिन खत्री, बास डी लिडे र रेमोन रिफरले दुई–दुई विकेट लिए । सागर ढकालले पनि एक विकेट हात पारेका थिए ।

जारी एनपीएलमा चितवन राइनोजले आफ्नो दोस्रो खेल खेलेको हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो ।

पोखरा एभेन्जर्सले भने पहिलो खेल खेलेको हो । मंगलबारको खेलमा चितवन राइनोज लगातार दोस्रो जितको खोजीमा छ । अर्कोतिर, पोखरा एभेन्जर्स भने प्रतियोगितामा सुखद सुरुवात गर्ने धुनमा छ ।  

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप