मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
पूर्वाधार

बीपी राजमार्ग पुनर्निर्माणको अध्ययन सकियो, एक वर्षभित्र निर्माण सक्ने लक्ष्य

मङ्गलबार, १८ मङ्सिर २०८१, १४ : ०३
मङ्गलबार, १८ मङ्सिर २०८१

काठमाडौँ । बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि सरकारले थालेको अध्ययन सकिएको छ । अध्ययन सकिएसँगै अन्तिम प्रतिवेदन दुई दिनभित्रमा तयार पार्ने र निर्माण प्रक्रिया अघि बढाउने भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशको भनाइ छ । 

‘बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि अध्ययन लगभग सकिइसकेको छ । कहाँकहाँ के–के गर्ने भनेर डिजाइन तयार भइसकेको छ,’ योगेशले भने, ‘भोलि रिभिजन गरेर टुङ्ग्याउँछौँ । पर्सि फाइनल प्रतिवेदन तयार पारी मन्त्रालयमा बुझाउँछौँ । त्यसपछि सडक निर्माण अघि बढ्छ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अध्ययन सकिएसँगै निर्माण कार्य अघि बढाउने बताए । एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी निर्माणमा जुट्ने शर्माको भनाइ छ । 

‘आउँदो मङ्सिरसम्म निर्माण सक्ने गरी लाग्छौँ । बीपी राजमार्ग ठ्याक्कै पहिलाको जस्तो बनाउन त सकिँदैन । किनभने ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ । यो सडक पुनर्निर्माणका लागि भौगर्भिक र हाइड्रोलोजिक अध्ययन गराएका छौँ । यो अध्ययनको रिपोर्ट आएपछि के–कसरी निर्माण गर्ने थाहा हुन्छ ।’  

क्षति भएको बीपी राजमार्गमध्ये चौकी डाँडा खण्डमा तत्काल मर्मत गर्नुपर्ने देखिएको र केही दिनभित्रै यसको छुट्टै अध्ययन गरी मर्मत गरिहाल्ने शर्माले बताए ।

‘यहाँ चाहिँ भरेभोलि नै हाम्रो टोली फिल्डमै गएर काम थाल्छौँ । केही ठाउँमा जापान सरकारले बनाएको सडककै ट्रयाक प्रयोग गरेर र केही स्थानमा नयाँ ट्रयाक खनेर स्थायी रूपमा सडक निर्माण गर्छौँ,’ सचिव शर्माले भने । 

असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीले बीपी राजमार्गको कालढुङ्गा चौकीडाँडा सडक खण्डको करिब ८ किलोमिटर सडक ध्वस्त भएको थियो । सरकारले तत्काल अस्थायी रूपमा सडक निर्माण गरे पनि स्थायी रूपमा निर्माण गर्न ठुलो लागत र समय खर्चिनु पर्ने देखिएको छ । यो राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि सरकारले कार्तिकको दोस्रो सातादेखि अध्ययन थालेको थियो ।

उता जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पनि अध्ययन गरिसकेको छ । जाइकाले अध्ययन गरे पनि के कसरी पुनर्निर्माण गर्ने भन्ने विषयमा सरकारसमक्ष कुनै जानकारी नगराएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बताए ।

‘जाइकाले आफ्नो तरिकाले अध्ययन सकेर जापान फर्किसकेको छ । हामीलाई अध्ययनको विषयमा जानकारी गराएको छैन,’ महानिर्देशक पोखरेलले भने । 

पूर्वी नेपालका अधिकांश जिल्लालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दुरीको यो राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि साढे सात अर्ब लागत लाग्ने सरकारले अनुमान गरेको छ । तर के कति लागत लाग्ने विषयमा अध्ययनले टुङ्गो लगाउने महानिर्देशक पोख्रेलको भनाइ छ ।

पोखरेलका अनुसार अहिले बजेट जुटाउनेबारेमा छलफल भइरहेको छ । ‘बजेटको व्यवस्थापन मुख्य कुरा हो के, कति लाग्छ भन्ने विषयमा अहिले हामीलाई पनि यथेस्ट जानकारी छैन । किनभने प्रतिवेदन अहिले ड्राफ्टमा छ । हामीले पनि हेरिसकेको छैन,’ महानिर्देशक पोखरेलले भने ।यो राजमार्ग निर्माणमा तत्काल चालु वर्षको बजेटबाट २ अर्ब खर्च गरिने तयारी गरेको पोखरेलले बताए ।

हाल बीपी राजमार्ग अस्थायी रूपमा ट्रयाक खोलेर सञ्चालनमा ल्याइएको छ । कालढुङ्गा चौकी डाँडा सडक खण्डमा कतै रोशी खोलामा नयाँ सडक निर्माण गरी त कतै पुरानै सडकमा ट्रयाक खनिएको छ । कतिपय स्थानमा खोलामै गाडी गुडाउने व्यवस्था गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप