शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात, विराटनगर किङ्सको लगातार दोस्रो हार

मङ्गलबार, १८ मङ्सिर २०८१, १२ : १३
मङ्गलबार, १८ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । सुदूरपश्चिम रोयल्सले मंगलबार खेलिएको आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई ९० रनले हरायो ।

जारी प्रतियोगितामा विराटनगर किङ्सको यो लगातार दोस्रो हार हो । यसअघि गत शनिबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग आठ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।

मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ८२ रनको सम्मानजनक स्कोर तयार पारेको थियो । जारी एनपीएलमा बनेको यो सर्वाधिक रन पनि हो ।

जवाफी ब्याटिङमा ओर्लिएको विराटनगर किङ्सले भने १६.१ ओभरमै अलआउट हुनुअघि ९२ रनमात्र बनाउन सक्यो । विराटनगर किङ्सका ब्याट्सम्यानहरुले अत्यन्तै निराशाजनक प्रदर्शन गरे । विराटनगर किङ्सले ११ रनको कुल स्कोरमै तीन प्रभावशाली विकेट गुमाइसकेको थियो ।

ओपनर मार्टिन गप्टिल खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । अर्का ओपनर लोकेश बम पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका निकोलस किर्टन पनि पाँच रनमै पेभेलियन फर्किएका थिए ।

त्यसपछि, चौथो नम्बरमा क्रिज समाल्न आएका राजेश पुलामी र पाँचौँ नम्बरका ब्याट्सम्यान बसिर अहमदले विराटनगर किङ्सको पालीलाई समाल्ने प्रयास गरेका थिए । यी दुईले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै टोलीको स्कारलाई ४३ रनसम्म पुर्‍याएका थिए ।

१०औँ ओभरको तेस्रो बलमा राजेश पुलामी दुर्भाग्यपूर्ण तरिकाले रनआउट भएपछि यी दुईबिचको साझेदारी टुटेको थियो । राजेशले १५ बलमा एक छक्काको मद्दतले १५ रन बनाए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका इस्मात आलम पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् ।

त्यसलगत्तै बसिर अहमद पनि पेभेलियन फर्किए । उनले २८ बलमा दुई चौकाको मद्दतले २४ रन बनाए । उनलाई अविनाष बोहराले कप्तान दीपेन्द्रद्वारा क्याच गराएका हुन् । अविनाषले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका हुन् ।

त्यसपछि पनि विराटनगर किङ्सको विकेट पतन हुनेक्रम जारी नै रह्यो । लगत्तै अर्को ओभरमा आठौँ नम्बरका ब्याट्सम्यान प्रतिश जिसी पनि तीन बलमा एक रन बनाउँदै आउट भए । आठौँ विकेटका रुपमा कप्तान सन्दीप लामिछाने ६ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भए ।

1-2M4A9899

नवौँ विकेटका रुपमा दीपक बोहरा पेभेलियन फर्किए । उनी ६ बलमा पाँच रन बनाउँदै आउट भएका हुन् । अन्तिम विकेटका रुपमा क्रिस सोल आउट भएका थिए । उनी सात बलमा एक छक्काको मद्दतले नौ रन बनाउँदै पेभेलियन फर्किए । अनिल खरेल १० रनमा अविजित रहे । उनले ११ बलमा एक चौका हिर्काए ।

विराटनगर किङ्सले अतिरिक्त रुपमा सात रन पायो । विराटनर किङ्सलाई सस्तोमा समेटने क्रममा सुदूरपश्चिम रोयल्सका बलर स्कट र अविनाषले तीन–तीन विकेट लिए । ब्रान्डन म्याकमलेन, सेफ जेब र इशान पाण्डेले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि, पहिलो ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पाली खेलेका थिए । उनले अविजित ५७ रन बनाए । सातौँ नम्बरमा क्रिज समाल्न आएर आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २४ बलमा पाँच छक्का र तीन चौका पनि प्रहार गरे ।

जारी एनपीएलमा बनेको यो चौथो अर्धशतक हो । यसअघि सोमबार कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साहले अर्धशतक बनाएका थिए । उनले ४२ बलमा ६२ रन बनाएका थिए ।

2-2M4A9917

प्रतियोगिताको उद्घाटन खेलमा पनि दुईवटा अर्धशतक बनेको थियो । त्यो खेलमा विराटनगर किङ्सका मार्टिन गप्टिलले ५५ रन बनाएका थिए । त्यही खेलमा जनकपुर बोल्ट्सका लागि लाहिरु मिलनथाले पनि अविजित ७५ रन बनाएका थिए ।

मंगलबारको खेलमा सुदूरपश्चिम रोयल्सका लागि ओपनर विनोद भण्डारीले पनि २३ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान विनोदले २० बलमा चार चौका हिर्काए । उनलाई पाँचौ ओभरको चौथो बलमा अनिल खरेलले प्रतिस जिसीद्वारा क्याच गराएका थिए ।

सुदूरपश्चि रोयल्सका अर्का ओपनर अमित श्रेष्ठ भने एक रनको ब्यक्तिगत स्कोरमै पेभेलियन फर्किएका थिए । उनलाई दोस्रो ओभरको अन्तिम बलमा विराटनगर किङ्सका बलर इस्मात आलमले मार्टिन गप्टिलद्वारा क्यच गराएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका ब्रान्डन म्याकमलेनले ३६ रन बनाए । स्कटल्यान्डका २५ वर्षीय अलराउन्डर ब्रान्डनले २६ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । म्याकमलेनलाई अनिल खरेलले प्रतिश जिसीद्वारा लङ–अनमा क्याच गराएका थिए ।

क्रिजमा जमिसकेका म्याकमलेनले अनिलको अघिल्लो बलमा आकर्षक छक्का प्रहार गरेका थिए । लगत्तै अर्को बलमा पनि छक्का प्रहार गर्ने क्रममा उनी बाउन्ड्री लाइननजिकै प्रतिस जिसीद्वारा समातिन पुगेका थिए ।

चौथो नम्बरका ब्याट्सम्यान आरिफ शेख पाँच बलमा दुई चौकाको मद्दतले नौ रन बनाउँदै आउट भएका थिए । उनलाई छैटौँ ओभरको चौथो बलमा विराटनगर किङ्सका बलर बसिर अहमदले निकोलस किर्टनद्वारा क्यच गराएका थिए ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका सेफ जेबले पनि टोलीका लागि १४ रनको योगदान गरे । उनले १५ बलमा एक छक्का पनि प्रहार गरे । उनलाई पनि विराटनगर किङ्सका २४ वर्षीय स्पिरन अनिल खरेलले बोल्ड गरेका थिए ।

त्यसपछि सुदूरपश्चि रोयल्सको स्कोरलाई छैटौँ नम्बरमा क्रिज समाल्न आएका इशान पाण्डे र सातौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान दीपेन्द्रसिंह ऐरीले अगाडि बढाएका थिए । इशान र दीपेन्द्रले टोलीको स्कोरलाई ८९ रनको स्थितिबाट एक सय ३८ रनको स्थितिसम्म डोर्‍याएका थिए ।

sudurpakshim  (1)

इशान २१ रनको ब्यक्तिगत स्कोरमा रन आउट भई पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले १६ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए । अनिल खरेलले उपलब्ध गराएको बललाई सदूपयोग गर्दै विराटनगरका विकेटकिपर लोकेश बमले इशानलाई रन आउट गराएका थिए ।

आठौँ नम्बरमा क्रिज समाल्न आएका स्कट क्रिस्टोफर कुग्गेलियनले पनि ६ बलमा दुई चौकाको मद्दतले १० रन बटुले । ३२ वर्षीय स्कट न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट टेस्टसमेत खेलिसकेका खेलाडी हुन् । उनलाई क्रिस सोलले निकोलस किर्टनद्वारा क्याच गराएका थिए ।

३० वर्षीय क्रिस सोल स्कटल्यान्डका मध्यमतेज गतिका बलर हुन् । नवौँ नम्बरका ब्याट्सम्यान वसन्त खत्री चार रनमा अविजित रहे । सुदूरपश्चि रोयल्सले अतिरिक्त रुपमा सात रन पायो । विरानटर किङ्सका बलर अनिल खरेलले तीन विकेट हात पारे । क्रिस सोल, इस्मात आलम र बसिर अहमदले पनि एक–एक विकेट लिए ।

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको एनपीएलमा आठवटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिता पुस ६ गतेसम्म चल्नेछ । मंगलबारको दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबिच खेलिने छ । उक्त खेल दिउँसो १३ः१५ बजे सुरु हुनेछ । 

sudurpakshim  (2)sudurpakshim  (3)
 

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप