यसपटक जाडोमा तापक्रम औसतभन्दा बढी रहने अनुमान
काठमाडौँ । नेपालमा जाडो मौसम सुरु भएको छ । यो वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरिएको छ ।
जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण आफूहरूले गरिरहेको जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रवक्ता विभूति पोखरेलले बताइन् । उनले मौसम केही सुख्खा रहने देखिएको रातोपाटीलाई बताइन् ।
सुख्खा हुने भन्नुको अर्थ औसतभन्दा केही बढी नै तापक्रम रहनु भनेर उनले प्रस्ट पारिन् । ‘अनुमान लगभग गरिसकेको छौँ, तर सार्वजनिक पछि गर्छौँ, प्रादेशिक तथ्याङ्कहरू सङ्कलन गर्दैछौँ,’ उनले भनिन्, ‘यो वर्ष तापक्रम पहिलेभन्दा बढी रहने नै देखिन्छ । मौसम सुख्खा रहने भएकाले तापक्रम बढ्ने नै अनुमान लगाउन सकिन्छ । हामीले विस्तृतरुपमा केही समयपछि सार्वजनिक गर्छौँ ।
तापक्रम बढी रहने भए पनि चिसो नै नहुने भन्ने चाहिँ नहुने प्रवक्ता पोखरेलको भनाई छ । ‘तर अत्यधिक चिसो हुँदैन,’ उनले भनिन् ।
पछिल्लो समय जलवायु तथा मौसममा निकै नै उतारचढाव हुन थालेको छ । योसँगै अन्तर्राष्ट्रिय स्तरका विभिन्न अध्ययनले तापक्रम केही सुख्खा रहने औँल्याएका छन् । समग्रमा नेपालमा औसत तापक्रम पनि बढी रहेको पाइन्छ ।
जलवायुविद् मन्जित ढकालका अनुसार नेपालमा अधिकतम तापक्रम वृद्धि बढी छ । ‘अधिकतम तापमान र न्यूनतम तापमान भन्छौँ, नेपालको अधिकतम तापमान वृद्धिदर बढी छ,’ उनले रातोपाटीसँग भने, ‘ वार्षिक ०.०५ डिग्री सेल्सियस तापक्रम बढ्छ । यो भनेको ४४ वर्षमा औसत अधिकतम तापमान २.४ डिग्री सेल्सियसले बढेको छ । नेपालमा गर्मी अलि बढी नै भइरहेको । जाडोको अवस्था पनि लगभग उस्तै देखिन्छ ।’
ढकालका अनुसार नेपालको न्यूनतम तापमान खासै बढेको छैन । यो ‘ट्रेन्ड’ लाई हेर्दा तापमान बढ्न सक्ने अनुमान लगाउन सकिने उनी बताउँछन् । तर यस्तो ‘ट्रेन्ड’ एक वर्ष बढ्ने, अर्को एक वर्ष केही घट्न सक्छ ।
वर्ष दिनको मौसमको आधारमा मात्रै तापमान निकाल्न नसकिने उनी बताउँछन् । ‘यो एक वर्षको तथ्याङ्क लिएर विश्लेषण गर्न सकिँदैन,’ उनी भन्छन्, ‘वर्षको विश्लेषण गर्दा भविष्यमा यो तापमान अझै वृद्धि हुन सक्छ । किनकि पृथ्वीमा कार्बडाइअक्साइड ग्यासको उत्पादन अझै पनि बढी नै रहेको छ– कोइला, पेट्रोलियम प्रयोगले । यसले सूर्यबाट आएको तापलाई यही सञ्चित गरेर राख्छ ।’
तापमान बढ्नाले धेरै क्षेत्रमा असर पर्ने उनी बताउँछन् । पछिल्लो समय धेरै वर्षा हुनु वा वर्षा नै नहुनुमा तापमानको भूमिका देखिन्छ । विश्लेषण गर्दा तापमानले पानीको प्रक्रियालाई पनि असर पार्ने गर्दछ । ‘एकचोटी सुख्खा खडेरी बढ्दै जाने, धेरै पानी पर्ने, पानी पर्दै नपर्ने जस्ता समस्या देखिन्छ,’ उनी भन्छन्, ‘यसले कृषि र जीवजन्तुमा असर गर्छ । कृषिमा बाली पाक्न जुन तापमान आवश्यक पर्थ्यो, त्यो भन्दा फरक भयो भने प्रक्रियालाई असर पार्ने देखियो । यसबाट पर्यटन, जलविद्युतमा पनि असर पार्ने देखिन्छ ।’
मौसम पूर्वानुमान महाशाखाले मुलुकभर चिसो बढिसकेको जनाएको छ । चिसो सुरु भएको र दैनिक चिसो बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार नेपालमा उच्च पहाडी–हिमाली क्षेत्रमा थोरै हिमपातको सम्भावना छ ।
उनका अनुसार पछिल्लो सातायता चिसो बढ्दै गएको छ । तर यो वर्षको जाडोमा के कति चिसो भन्ने आङ्कलन भने तत्काल गर्न नसकिने देखिएको छ । लामिछानेले महाशाखाले तीन–तीन दिनको मात्रै मौसम आङ्कलन गर्दै आएको बताए ।
महाशाखाले मङ्सिर १८ गते (मंगलबार) का दिन दिउँसोमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । यस्तै, कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
मङ्सिर १९ गते (बुधबार) का दिन दिउँसो र रातिमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहणमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
पछिल्लो समय हिउँदमा पानी पर्ने प्रवृत्ति घटेको छ । हिउँद सुक्खा हुने गरेको पाइन्छ । यसले तापमान बढ्ने देखिन्छ । सम्पूर्ण क्षेत्रमा पर्यावरणीय क्षेत्रमा असर पर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई वर्षमा सूर्यविनायक–धुलिखेल सडक निर्माण ३५ प्रतिशतमात्र
-
चीनबाट आउने सामानमा अतिरिक्त महसुल लगाउँदै ट्रम्प
-
प्रादेशिक अस्पताल गौरमा पहिलो पटक आङ खस्ने रोगको अपरेसन
-
सिरहाबाट नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?
-
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’