सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य, कप्तान दीपेन्द्रको उत्कृष्ट अर्धशतक
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबार जारी पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई जितका लागि एक सय ८३ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ८२ रन बनाएको हो ।
जारी एनपीएलमा बनेको यो सर्वाधिक रन पनि हो । सुदूरपश्चिम रोयल्सका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पाली खेले । उनले अविजित ५७ रन बनाए । सातौँ नम्बरमा क्रिज समाल्न आएर आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल २४ बलमा पाँच छक्का र तीन चौका पनि प्रहार गरे ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम रोयल्सका लागि ओपनर विनोद भण्डारीले पनि २३ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान विनोदले २० बलमा चार चौका हिर्काए । उनलाई पाँचौ ओभरको चौथो बलमा अनिल खरेलले प्रतिस जिसीद्वारा क्याच गराएका थिए ।
सुदूरपश्चि रोयल्सका अर्का ओपनर अमित श्रेष्ठ भने एक रनको ब्यक्तिगत स्कोरमै पेभेलियन फर्किएका थिए । उनलाई दोस्रो ओभरको अन्तिम बलमा विराटनगर किङ्सका बलर इस्मात आलमले मार्टिन गप्टिलद्वारा क्यच गराएका थिए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका ब्रान्डन म्याकमलेनले ३६ रन बनाए । स्कटल्यान्डका २५ वर्षीय अलराउन्डर ब्रान्डनले २६ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । म्याकमलेनलाई अनिल खरेलले प्रतिश जिसीद्वारा लङ–अनमा क्याच गराएका थिए ।
क्रिजमा जमिसकेका म्याकमलेनले अनिलको अघिल्लो बलमा आकर्षक छक्का प्रहार गरेका थिए । लगत्तै अर्को बलमा पनि छक्का प्रहार गर्ने क्रममा उनी बाउन्ड्री लाइननजिकै प्रतिस जिसीद्वारा समातिन पुगेका थिए ।
चौथो नम्बरका ब्याट्सम्यान आरिफ शेख पाँच बलमा दुई चौकाको मद्दतले नौ रन बनाउँदै आउट भएका थिए । उनलाई छैटौँ ओभरको चौथो बलमा विराटनगर किङ्सका बलर बसिर अहमदले निकोलस किर्टनद्वारा क्यच गराएका थिए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका सेफ जेबले पनि टोलीका लागि १४ रनको योगदान गरे । उनले १५ बलमा एक छक्का पनि प्रहार गरे । उनलाई पनि विराटनगर किङ्सका २४ वर्षीय स्पिरन अनिल खरेलले बोल्ड गरेका थिए ।
त्यसपछि सुदूरपश्चि रोयल्सको स्कोरलाई छैटौँ नम्बरमा क्रिज समाल्न आएका इशान पाण्डे र सातौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान दीपेन्द्रसिंह ऐरीले अगाडि बढाएका थिए । इशान र दीपेन्द्रले टोलीको स्कोरलाई ८९ रनको स्थितिबाट एक सय ३८ रनको स्थितिसम्म डोर्याएका थिए ।
इशान २१ रनको ब्यक्तिगत स्कोरमा रन आउट भई पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले १६ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए । अनिल खरेलले उपलब्ध गराएको बललाई सदूपयोग गर्दै विराटनगरका विकेटकिपर लोकेश बमले इशानलाई रन आउट गराएका थिए ।
आठौँ नम्बरमा क्रिज समाल्न आएका स्कट क्रिस्टोफर कुग्गेलियनले पनि ६ बलमा दुई चौकाको मद्दतले १० रन बटुले । ३२ वर्षीय स्कट न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट टेस्टसमेत खेलिसकेका खेलाडी हुन् । उनलाई क्रिस सोलले निकोलस किर्टनद्वारा क्याच गराएका थिए ।
३० वर्षीय क्रिस सोल स्कटल्यान्डका मध्यमतेज गतिका बलर हुन् । नवौँ नम्बरका ब्याट्सम्यान वसन्त खत्री चार रनमा अविजित रहे । सुदूरपश्चि रोयल्सले अतिरिक्त रूपमा सात रन पायो । विरानटर किङ्सका बलर अनिल खरेलले तीन विकेट हात पारे । क्रिस सोल, इस्मात आलम र बसिर अहमदले पनि एक–एक विकेट लिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको एनपीएलमा विराटनगर किङ्सले आफ्नो दोस्रो खेल खेलिरहेको हो । प्रभावशाली स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्स प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कप्तानमा रहेको सुदूरपश्चिम रोयल्सले भने जारी प्रतियोगितामा आफ्नो पहिलो खेल खेलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास