पटक पटक हारेर पनि नहराएका तिवारी, तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ मा पहिलो पटक नेपाली कांग्रेसले जितेको छ । लगातार नेकपा माओवादी केन्द्रले जित्दै आएको उक्त वडामा पहिलो पटक कांग्रेस उम्मेदवारले जित निकालेका हुन् ।
कांग्रेसका अर्जुन तिवारीले स्थानीय तह उपनिर्वाचन अन्तर्गत मङ्सिर १६ मा भएको निर्वाचनमा पहिलो पटक कांग्रेसलाई जिताएका हुन् । उनले माओवादीका उम्मेदवार रवि कुमार प्रधानलाई हराउँदै विजयी भएका हुन् । तिवारीले २ हजार ६३ मत सहित चुनाव जित्दा माओवादीका प्रधानले १ हजार ५६० मत पाएका थिए । तेस्रो स्थानमा रहेको एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार ७८ मत प्राप्त गरेका थिए ।
यसअघि तिवारी उक्त वडाको वडा अध्यक्ष पदको निर्वाचनमा २ पटक पराजित भएका थिए । संघीयता कार्यान्वयन पश्चात् भएको २ वटा स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका तिवारी माओवादी उम्मेदवारसँग पराजित भए ।
२०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका ललितबहादुर घलानसँग पराजित भएका तिवारी २०७९ को स्थानीय तह निर्वाचनमा पनि पुनः पराजित भए । दुवै निर्वाचनमा झिनो मतान्तरे हारेका तिवारी निरन्तर गाउँमा नै रहेर काम गरिरहे । पदविहीन बने तर, गाउँ छाडेनन् । दुवै निर्वाचनमा माअोवादीका घलानले जित निकाल्दा तिवारी दोस्रो बने । तर, गाउँको विकास र नागरिकको सेवामा उनी दोस्रो कहिल्यै बनेनन् ।
धैर्यता र लगनशीलताका कारण आफू निर्वाचनमा सफल भएको उनी बताउँछन् । तामाङ बाहुल्य क्षेत्रको रूपमा रहेको हेटौँडा उपमहानगरपालिका–१२ पिछडिएको क्षेत्र अन्तर्गत पर्दछ । ग्रामीण भेग र व्याप्त समस्याका बिचबाट नागरिकहरूलाई पार लगाउन आफू उनी निरन्तर कर्मशील भएर लागेको उनी बताउँछन् ।
‘म चुनाव २०७४ मा नै जित्थे । तर, प्राविधिक कारणले त्यति बेला १०० मतले हार्नुपर्यो ।’ उनले भने, ‘नागरिकले त्यति बेला नै मतले अनुमोदन गरेका थिए । तर, बदर मत र केही विषयहरू व्यवस्थापन गर्न नसक्दा चुनाव हार्नुपरेको थियो । २०७९ मा पनि नागरिकले चुनाव जिताएका हुन् । ३१ मतान्तरले चुनाव हारेको थिएँ त्यति बेला । चुनाव हार्नुको कारण महसुस गरेर धैर्य गरिरहेँ । कमजोरी पत्ता लगाएर आफ्नो कर्ममा लागि रहेँ । अहिले कमजोरी सच्याएँ । बिग्रेका विषयलाई सुधार गरेँ । अनि चुनाव जितेँ ।’
पञ्चायतकाल देखिनै गाउँको विकास र नागरिकको सेवामा काम गर्दै आएका तिवारी पटक पटक चुनाव हारे तर, गाउँबाट हराएनन् । पदमा नरहे पनि उनी गाउँमा बजेट पुर्याएर विकासको काममा सक्रिय भए । वडा अध्यक्ष जितेकाले भन्दा बढी बजेट आफूले पहुँच पुर्याएर मागेर गाउँ लगेको उनी दाबी गर्छन् । चुनाव हारे पनि गाउँलाई नै कर्मभूमि बनाएर नागरिकको दुःखको सारथि बनेका तिवारीले आफ्नै पहुँचमा समानुपातिक रूपमा सडक पुल, खानेपानी, सिँचाइ, पर्यटन संस्कृति क्षेत्रमा बजेट लगेर विकासको काम गरेको दाबी गर्छन् ।
गाउँका मानिसलाई समस्यामा उनी पक्षपात नगरी सहयोग गर्न पुगिहाल्छन् । सोही कारणले नागरिकले आफूलाई चुनाव जिताएको उनको भनाई छ । निर्वाचन भएपश्चात् आफू वडा विकासमा लाग्ने बताए । २ वर्ष भित्र गाउँका सडक पुल निर्माणको काम गरेर सहरी रूप दिने उनले बताए । शिक्षा र स्वास्थ्यको पूर्वाधार तथा अवस्था कमजोर रहेकाले त्यसलाई सुधारका लागि प्राथमिकताका साथ अघि बढ्ने उनको भनाई छ । उपमहानगरपालिकाको स्रोतले गाउँको विकासलाई पर्याप्त नहुने भएकाले छिट्टै नै संघ र प्रदेश सरकारबाट बजेट माग गरेर विकासको काम अघि बढाउने योजना बनाएको तिवारी बताउँछन् । गाउँको स्वरूप सहितको विकासको योजना २०७४ मा नै निर्माण गरेर अघि बढेकाले त्यसको कार्यान्वयनको मिसन सुरु भएको उनले बताए ।
- तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला
२०६३/०६४ को परिवर्तन पछि उक्त वडामा माओवादीको प्रभाव राम्रो थियो । २०६४ को संविधान सभा निर्वाचनमा मकवानपुरको ४ क्षेत्रमा जित निकालेको माओवादीले हेटौँडा–१२ लाई लालकिल्लाको रूपमा परिभाषित गर्दै आएको थियो ।
पञ्चायतकालमा राप्रपाको गढको रूपमा रहेको तत्कालीन पदमपोखरी गाविसको ४, ५, ७, ८ र ९ वटा वडा मिलेर हाल हेटौँडा–१२ कायम भएको हो । पञ्चायत पश्चात् सो क्षेत्रमा एमालेले शासन गर्यो भने २०६४ को निर्वाचन पश्चात् माओवादीको किल्ला बन्दै आएको छ । सो वडामा एमालेको प्रभाव पनि राम्रै रहेको छ । संविधानसभा निर्वाचन तका निकै कमजोर अवस्थामा रहेको कांग्रेसलाई १८ वर्षको बलियो जगमा उभ्याउन सफल भएको छ ।
२०६४ र २०७० को निर्वाचनमा सो क्षेत्रमा क्रमशः माओवादी र एमालेले चुनाव जित्यो । तर, विकास निर्माण र सेवा प्रवाहका विषयमा निकै दयनीय अवस्थामा रह्यो । न राम्रो सडक न पुल । वर्षामा हिँडेरै खोला तरेर विद्यालय तथा सदरमुकाम हेटौँडा आउनु पर्ने बाध्यता रह्यो । पुल निर्माण र खानेपानीको योजना सहित पटक पटक नेता भेट्ने काम भयो तर, न पुल आयो न गाउँलेले खानेपानी पाए ।
संघीयता पछि २ पटक उक्त वडामा माओवादीले जित्यो । तर, वडाको समानुपातिक विकास हुन सकेन । वडा कार्यालय आसपास ठुला र पक्की सडक बने । तर, तल्लो राप्ती खोलाको क्षेत्र अझै पनि विकास हुन सकेको छैन । २० वर्ष अघिकै अवस्थामा सडक पूर्वाधार कायम रहेको छ ।
संघीयता पछि जसोतसो २ वटा पुलहरू निर्माण भए । आवतजावतमा सहजता भयो । तर, यात्रा अझै पैदल नै रहेको छ । पूर्वाधार बन्यो । तर, व्यवस्थापन हुन सकेन । जसका कारण अझै उक्त क्षेत्रका नागरिकहरू हिँडेर नै हेटौँडा आवतजावत गर्छन् ।
यसै बिच पटक पटक चुनाव हारेका कांग्रेसका तिवारीले तेस्रो प्रयासमा माओवादी केन्द्रको लालकिल्ला भत्काउन सफल भएका हुन् । उनको प्राथमिकता पहुँच नपुगेका क्षेत्रको विकास रह्यो र नागरिकको मत जित्न सफल भए । जसका कारण गत मङ्सिर १६ को निर्वाचनमा ५०३ मतान्तरले माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्न सफल भए ।
- माओवादीविहीन हेटौँडाको कार्यपालिका
हेटौँडाको १९ वटा वडामध्ये २०७९ को स्थानीय तह निर्वाचनमा एक मात्र वडाको अध्यक्ष पदमा माओवादीले जित निकालेको थियो । हेटौँडा–१२ को वडा अध्यक्षमा माओवादी केन्द्रका ललित बहादुर घलानले मात्र चुनाव जिते ।
सो बाहेक अन्य वडामा माओवादीले जित्न सकेन । जसका कारण हेटौँडाको कार्यपालिका माओवादीविहीन बनेको छ । हेटौँडाको कार्यपालिकामा हाल एकजना पनि माओवादीका प्रतिनिधि छैनन् । हेटौँडा–१२ को वडा अध्यक्ष बाहेक अन्य सबै पद एमालेले जितेको छ । हेटौँडाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँ रहेका छन् ।
हेटौँडाको कार्यपालिकामा एमालेका ९ वडा अध्यक्ष सहित ५६ सदस्य रहेका छन् । जसका कारण एमाले स्पष्ट बहुमतमा रहेको छ । यता कांग्रेसले हेटौँडा–१२ सहित ९ वडाको अध्यक्ष पद जितेको छ । हेटौँडाको एक वडा भने एकीकृत समाजवादीले जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिहरू बफादारीको अपेक्षा गर्छन्, तर ट्रम्प पूर्ण आज्ञाकारिताको माग गर्छन्
-
सरकारले नागरिकलाई दूषित पानी खुवाउने गरेको छ : अध्यक्ष दाहाल
-
ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह
-
माघ १५ मा हुने भनिएको प्रेस सेन्टरको महाधिवेशन सर्ने
-
निर्माण व्यवसायीद्वारा चरणबद्ध आन्दोलनको घोषणा
-
चिकित्सकले मृत घोषणा गरेका व्यक्तिले जब हात हल्लाए...