आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
विकास निर्माण

यसरी हुँदै छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति (तस्बिरहरू)

मङ्गलबार, १८ मङ्सिर २०८१, ०९ : १२
मङ्गलबार, १८ मङ्सिर २०८१

काठमाडौँ । दैनिक १० घण्टा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम धमाधम भइरहेको छ । विमानस्थल अन्तर्गत समानान्तर ट्याक्सी वे, इन्टरनेशनल एप्रोन ह्याङ्गर एप्रोन लगायत क्षेत्रमा स्तरोन्नति भइरहेकोमा यसको गति सन्तोषजनक रूपमा अघि बढेको देखिएको हो । 

सोमबार राती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे नेतृत्वको टोलीले विमानस्थलको स्तरोन्नतिको सन्दर्भमा भइरहेका कामको अनुगमन गरेको थियो । विमानस्थल सञ्चालनको समय सकिएपछि विमानस्थल पुगेर यो सन्दर्भमा भइरहेका कामको स्थलगत अनुगमन गरिएको हो । सो क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत मन्त्रालय र प्राधिकरणका उच्च अधिकारीको समेत सहभागिता थियो । 

अनुगमनपछि पाण्डेले अहिलेको भइरहेको कामबाट आफू सन्तुष्ट भएको भन्दै यही गतिमा अघि बढे पाँच महिना अगाडि नै विमानस्थल सञ्चालनको समय बढाउन सकिने सम्भावना रहेको बताए । 

कसरी हुँदै छ काम ? 

खासगरी विमानस्थल स्तरोन्नति अन्तर्गत अहिले तीनवटा काम भइरहेको छ । पहिलो, धावन मार्गको पश्चिमतर्फ समानान्तर रूपमा रहेको ट्याक्सीवेको लम्बाइ अहिले विस्तार गरिँदै छ । अहिले करिब १२०० मिटर धावनमार्गमा समानान्तर ट्याक्सीवे छैन । विमानहरू टेकअफका लागि रनवेमा प्रवेश गर्नुअघि ट्याक्सीवे हुँदै तोकिएको ठाउँमा पुग्छन् । इन्टन्स ट्याक्सीवेमा गएर प्रतिक्षा गर्छन् र अनुमति पाएपछि धावन मार्गमा प्रवेश गरेर टेकअफ गर्छन् । 

02-TIA Construction.Photo Nepal Photo Library.-1292उल्लेखित लम्बाइ बराबरको ट्याक्सीवे र मापदण्ड अनुसारको इन्ट्रान्स र एक्जिट वे विस्तारले टेकअफका लागि तयारी अवस्थामा रहनसक्ने विमानको सङ्ख्यालाई बढाउँछ । यसले एउटै रनवेको क्षमतालाई समेत बढाउन सक्छ । अर्को रनवे बनाउन भने यही विमानस्थलमा सम्भव छैन । यसका लागि अहिलेको रनवेसँग कम्तीमा एक किलोमिटरको दूरी चाहिने र यसको लागि ठाउँ नै नरहेको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठ बताउँछन् । यही कारण विमानस्थलको क्षमता करिब २५ प्रतिशत बढ्ने उनको भनाइ छ । 

त्यस्तै, उत्तरपश्चिमतर्फ रहेको पार्किङ एप्रोनको स्तरोन्नतिले अहिले विमानस्थलमा जहाज पार्किङ गर्न सकिने क्षमता बढाउँछ । अहिलेको पार्किङ एप्रोनमा ११ वटा न्यारोबडी जहाज पार्किङको क्षमता रहेकोमा यसको संख्या १८ पुग्नेछ । दुईवटा न्यारोबडीले पार्किङका लागि ओगट्ने ठाउँ एउटा वाइडबडीले ओगट्छ । वाइडबडी पार्किङ गर्दा त्यही अनुसार पार्किङ क्षमता हुने आयोजना प्रमुख श्रेष्ठ बताउँछन् । 

03-TIA Construction.Photo Nepal Photo Library.-1296

त्यस्तै, उत्तर पूर्वतर्फको ह्याङ्गर एप्रोनको स्तरोन्नति हुँदा अन्य एयरलाइन्स कम्पनीहरुको ह्याङ्गर समेत निर्माण हुन सक्नेछ । अहिले त्यो क्षेत्रमा बुद्ध एयरको मात्रै ह्याङ्गर छ । जहाजको नियमित मर्मत तथा सर्भिसिङका लागि ह्याङ्गर प्रयोग हुन्छ ।

विमानस्थल स्तरोन्नति अन्तर्गतको कामलाई अहिले दुई भागमा विभाजन गरिएको छ । एउटा, विमानस्थल बन्द गरेरै गर्नुपर्ने काम र अर्को विमानस्थल सञ्चालन हुँदाको समयमा पनि गर्न सकिने काम । आयोजना प्रमुख श्रेष्ठका अनुुसार विमानस्थलको सञ्चालनको अवधिमा धावन मार्गबाट ७५ मिटर दायाँ बायाँ कुनै पनि संरचना तथा गतिविधि हुन नहुने आईकाओको मापदण्ड छ । यो क्षेत्रमा कुनै पनि प्रकारको खाल्डो समेत छोड्न मिल्दैन । त्यसैले राती भएका खाल्डोहरु समेत बिहान पुरिसक्नुपर्छ । त्यसैले यो क्षेत्रमा हुने काम विमानस्थल सञ्चालनको अवधिमा गर्न सकिँदैन । खासगरी ट्याक्सीवेको मर्मत र स्तरोन्नतिका लागि विमानस्थल बन्द गर्नैपर्छ । 

04-TIA Construction.Photo Nepal Photo Library.-1300

तर, त्योभन्दा बाहिरको क्षेत्रमा भने विमानस्थल सञ्चालन हुँदा पनि काम रोकिँदैन । अहिले त्यो क्षेत्रमा चौबीसै घण्टा काम भइरहेको उनले बताए । पार्किङ एप्रोन, नयाँ इन्टरनेशनल टर्मिनल लगायतको काम निरन्तर रूपमा भइरहेको उनको भनाइ छ । अहिले ती क्षेत्रमा भएका माटो खनेर लैजाने र मापदण्ड अनुसार निर्माण सामाग्रीहरू ल्याएर पुर्ने, सम्म्याउने लगायतका कामहरू भइरहेको देखिन्छ ।

06-TIA Construction.Photo Nepal Photo Library.-1297विमानस्थल बन्द गर्ने भनेर पाँच महिना तोकिए पनि त्यति समयमै सबै काम सकिने भन्ने चाहिँ होइन । करिब १५ अर्ब लागतको उक्त परियोजना निर्माण हुन समय लागे मापदण्ड अनुसार विमानस्थल सञ्चालन अवधिमा गर्न नसकिने काम मात्रै यो अवधिमा पूरा गर्ने विमानस्थलका अधिकारीहरू बताउँछन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

01-TIA Construction.Photo Nepal Photo Library.-129107-TIA Construction.Photo Nepal Photo Library.-129808-TIA Construction.Photo Nepal Photo Library.-129409-TIA Construction.Photo Nepal Photo Library.-130110-TIA Construction.Photo Nepal Photo Library.-129011-TIA Construction.Photo Nepal Photo Library.-129512-TIA Construction.Photo Nepal Photo Library.-128813-TIA Construction.Photo Nepal Photo Library.-1293

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप