बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

मध्यराति पर्यटनमन्त्रीद्वारा त्रिभुवन विमानस्थलको निरीक्षण

मङ्गलबार, १८ मङ्सिर २०८१, ०५ : ०७
मङ्गलबार, १८ मङ्सिर २०८१

काठमाडौं । मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ ।  गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’लगायत काम भइरहेको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम भइरहेको जनाएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् । सोमबार मध्यराति पर्यटनमन्त्री, पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी, पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो ।
     
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ को काम गरिरहेको हो । यी काम पूरा गर्न करिब रु १५ अर्ब खर्च हुने आयोजना कार्यालयले जनाएको छ ।
     
विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न कामको अवलोकन गर्दै पर्यटनमन्त्री पाण्डेले निर्माण तीव्र गतिमा भइरहेको भन्दै समयमा काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले ठूलो सङ्ख्यामा जनशक्तिसहित प्रभावकारी रूपमा उपकरणको परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्माणले विकासे आयोजनाको कामलाई गुणस्तरीय र निर्धारित समयमा सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिएको उल्लेख गरे । 
 पर्यटनमन्त्री पाण्डेले अहिले भइरहेको निर्माण सन्तोषजनक रहेको जनाउँदै निर्धारित समयमा काम सकेपछि विमानस्थलको उडान सेवा प्रभावकारी र थप गुणस्तरीय हुने विश्वास व्यक्त गरे । ‘दश घण्टा विमानस्थल बन्द गरेर निर्माण तीव्र गतिमा सबै क्षेत्रमा भइरहेको छ । आगामी चैत १८ गतेसम्म १० घण्टा विमानस्थल बन्द गरेर काम गर्ने समय तोकेका थियौँ, अहिलेको युद्धस्तरमा भइरहेको कामले त्योभन्दा पहिला सम्पन्न हुने सङ्केत गरेको छ’, उनले भने । 

पर्यटनमन्त्री पाण्डेले हरेक परियोजना समयमा काम नहुने, ठेक्का तोडिने र सडक तथा भवन अलपत्र हुने अवस्था रहेको छ भन्दै यस्ता गतिविधि रोक्न सम्बन्धित स्थानीय तह, नागरिक समाजले पनि निर्माण कम्पनीलाई दबाब सृजना गर्नुपर्नेमा जोड दिए । विमानस्थलमा भइरहेको निर्माणको गतिले तोकिएकै समयमा काम सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे ।     

विमानस्थल क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठले आवश्यक जनशक्ति तथा उपकरणको पूर्ण क्षमतामा परिचालन गरेर अहिले विमानस्थलको क्षमता अभिवृद्धिको काम भइरहेको बताए ।  उनका अनुसार तीन सयभन्दा दक्ष जनशक्ति, आधुनिक उपकरणको सहायताले दैनिक १० घण्टा विमानस्थल विस्तारको काम भइरहेको छ ।

विमानस्थलको धावनमार्गसँगै समानन्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको प्रमुख श्रेष्ठले जानकारी दिए । विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापन सहज हुने उनको भनाइ छ । विमानस्थल स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गरिएका छन् । उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरेर विस्तारको काम गरिएको प्राधिकरणले जनाएको छ ।
    
नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् । मुलुकको जेठो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप