बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
अन्तिम परिणाम

कर्णालीमा उपनिर्वाचन नतिजा : माओवादीलाई बोनस, कांग्रेसलाई घाटा !

एमालेले एउटा वडा गुमाउँदा समाजवादीको समर्थनमा गाउँपालिकै बोनस
मङ्गलबार, १८ मङ्सिर २०८१, ०० : ४५
मङ्गलबार, १८ मङ्सिर २०८१

सुर्खेत । कर्णालीका विभिन्न ८ स्थानीय तहमा भएको उपनिर्वाचन सम्पन्न भएको छ । यहाँ एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो । ८ पदका लागि ४३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमध्ये यहाँ ठुला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी) केन्द्रबिच नै प्रतिस्पर्धा भयो । ०७९ मा कांग्रेसले जितेका ३, माओवादीले जितेको ३ र एमालेले जितेका दुई ठाउँमा उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचनमा अरु ठाउँमा दलहरु एक्लाएक्लै चुनावी मैदानमा भएपनि रुकुमको सानीभेरीमा कांग्रेस, एमाले, एकीकृत समाजवादी गरी तीन दल माओवादीविरुद्ध गठबन्धनमा थिए भने दैलेख महावुमा एमालेलाई समाजवादीले समर्थन गरेको थियो । उपनिर्वाचनको नतिजा अनुसार कांग्रेसलाई घाटा भएको छ भने सबैभन्दा बढी फाइदा माओवादीलाई भएको छ । माओवादीले ०७९ मा जितेका एक उपाध्यक्ष र दुई वडामा उपनिर्वाचन भएको थियो । अहिले एउटा वडा गुमाएपनि एक उपप्रमुख, एक उपाध्यक्ष र अर्को एमालेबाट एउटा वडा खोसेर विरासत जोगायो । 

सँधै गठबन्धनमा रहेर चुनाव लड्ने माओवादीले यो पटक एक्लै हुँदा पनि आफ्नो उपस्थितिलाई बलियो बनाएको छ । ०७९ मा जितेकामध्ये एक वडा गुमाउँदा एमालेले गाउँपालिका अध्यक्ष र एक वडामा जित्न सफल भयो । कांग्रेसले एक गाउँपालिका अध्यक्ष र एक नगरपालिका उपप्रमुख पद गुमाएर दुई वडामा सीमित रह्यो । यस्तै कालिकोटको तिलागुफा–४, मा भने ठुला दललाई स्तब्ध पार्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले जित निकाल्यो ।

८ पदमध्ये सबैभन्दा बढी दलहरुले प्रतिष्ठाको विषय बनाएको क्षेत्र हो, दैलेख महावु गाउँपालिका अध्यक्ष । यहाँ एकीकृत समाजवादीको समर्थन पाएका एमाले उम्मेदवार जंगबहादुर शाहीले ३ हजार १२७ मत ल्याउँदै विजयी हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६७५ मत ल्याए । त्यस्तै, माओवादी केन्द्रका जंगबहादुर बराल मगरले ८४२ मत प्राप्त गरे ।

रास्वपाका प्रकाश कुमार बुढाले ११२ मत ल्याए  । ०७९ को निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा भने कांग्रेसले आफ्नो स्थान जोगाउन सकेन । अहिले निर्वाचित भएका शाही उम्मेदवारी घोषणा गर्नुभन्दा चार दिनअघि मात्रै एमाले प्रवेश गरेका थिए । त्यसअघि उनी एकीकृत समाजवादीको केन्द्रीय सदस्य थिए भने ०७९ मा समाजवादीबाटै सोही पदमा उम्मेदवार थिए । त्यो बेला उनको मत २ हजार २२९ थियो । उनको व्यक्तिगत प्रभाव राम्रो भएकाले नै एमालेले उनलाई एक्कासी पार्टी प्रवेश गराएर उम्मेदवार बनाएको थियो । यदि शाही बाहेक एमालेबाट कोही दोस्रो व्यक्ति उम्मेदवार बन्थ्यो भने एमाले जित्न सक्ने अवस्था थिएन ।

दुल्लू नगरपालिका–१३ मा एमालेले आफ्नो पद सुरक्षित गर्न सकेको छ । एमालेका लालबहादुर शाही ५७४ मतसहित वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कांग्रेसबाट रेशम बहादुर शाहीले ५७१ मत ल्याएका छन् भने माओवादीबाट ढकेन्द्र शाहीले २७८ मत मात्रै ल्याए । यहाँ रास्वपाले ५३, नेमकिपाले ४, राप्रपाले १३ र ३३ मत बदर भएका छन् ।

०७९ मा एमालेका बिर्खबहादुर शाही ८२२ मत पाएर विजयी भएका थिए । निर्वाचित भएका शाहीको ब्रेन ट्युमरका कारण ०८० माघमा मृत्यु भयो । पुनः एमालेले आफ्नो ठाउँ सुरक्षित राख्न सफल भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेमकिपाका खड्गराज शाही निर्वाचित भए । माओवादीका नैसोभा शाहीलाई २९ मतले पराजित गरे ।

नेमकिपाका शाहीले जम्मा १४३ मत ल्याएर उनी निर्वाचित हुँदा माओवादीका शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८,कांग्रेसबाट पैलन बहादुर शाहीले ४९ मत पाएका छन् । ०७९ मा माओवादीका परबहादुर शाही २३४ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी नेमकिपाका दिपबहादुर शाहीले १६१ मत पाएका थिए । जहाँ, नेमकिपाको प्रभाव राम्रै छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका नरबहादुर झाक्री विजयी भए । ०७९ को स्थानीय तह निर्वाचनबाट एमालेले जितेको थियो, यहाँ । तर झाक्रीले १६१ मतसहित जित निकाले । निकटतम प्रतिस्पर्धी एमालेका नरबहादुर रोकाले ११६ र कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाए । 

आधार क्षेत्रका रुपमा रहेको जाजरकोटमा कांग्रेसले कुशे गाउँपालिका–७ को वडाध्यक्ष पद खोस्दा नलगाड नगरपालिकाको उपप्रमुख पद भने माओवादीले खोसेको छ । जहाँ माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने ४ हजार २७२ मतका साथ विजयी भइन् । उनले प्रतिस्पर्धी कांग्रेसकी इन्द्रा चन्द सिंहलाई १ हजार १२५ मतान्तरले पराजित गरिन् । जबकि यहाँ ०७९ को निर्वाचनमा कांग्रेसकी सरिता सिंहले ५ हजार ४०६ मत ल्याएर विजयी भएकी थिइन् । उनको ०८० कात्तिकमा भूकम्पमा परी निधन भयो ।

कांग्रेसले उनकै भाइबुहारी इन्द्रालाई उम्मेदवार बनाएपनि जित निकाल्न सकेन । उसोत् ०७९ मा माओवादीकै समर्थनमा सरिताले चुनाव जितेकी थिइन् । यहाँ माओवादीको बलियो प्रभाव छ । एमालेकी सुनिता बोहोराले २ हजार ५४२ मत प्राप्त गरिन् । उनी सोही पदमा पराजित भएको दोस्रो पटक हो । ०७९ मा उनले अहिले भन्दा धेरै ३ हजार ३९३ मत ल्याएकी थिइन् । जहाँ स्वतन्त्र पार्टीले १७९ मत प्राप्त गरेर चौथो स्थानमा सीमित बन्यो ।

कुशे गाउँपालिका-७, मा ०७९ मा माओवादीका मनबहादुर घर्ती ३८० मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका खम्ब बहादुर सिंहले ३१८ मत पाएका थिए । उपनिर्वाचनमा सिंहले त्यो बेलाको हारको बदला लिएका छन् । उनले जम्मा १५ मतान्तरले माओवादीका गोरखबहादुर नेपालीलाई पराजित गरे । सिंहले ३४७ र नेपालीले ३३२ मत प्राप्त गरे । यहाँ पनि एमाले २५२ मतसहित तेस्रो स्थानमा सीमित रह्यो । वडाध्यक्ष पद कांग्रेसले जितेपनि उपप्रमुख पद गुमाउँदा कांग्रेसलाई घाटा नै लागेको छ । 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाअध्यक्ष पद कांग्रेसले सुरक्षित राख्न सफल भएको छ । माओवादीको प्रभाव क्षेत्र भएपनि एमाले, नेसपाको समर्थन पाएको कांग्रेसका मोतिराम खत्रीले ५९० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका जसिराम बस्नेतले ५३७ मत ल्याए ।  ०७९ मा एमालेमै समर्थनमा यहाँ कांग्रेसका अलबहादुर खत्री ४६२ मत पाएर विजयी भएका थिए ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिनाले विजय प्राप्त गरेकी छन् । तिमल्सिनाले १६ सय ३७ मतसहित निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी सविता बुढाले १५ सय ९४ मत ल्याईन् ।  

यस्तै एमाले उम्मेदवार जाना शाहीले ११ सय ३२ मत प्राप्त गरेकी छन् भने राप्रपाले ५१, रास्वपाले २५ र स्वतन्त्र उम्मेदवारले ९ मत पाएका छन्, यहाँ । ०७९ मा माओवादीका चन्द्र सिंह कार्कीले ३ हजार २६९ मत ल्याएर जितेका थिए । 

केही समयअघि सडक दुर्घटनाका कारण मृत्यु भएपछि उपनिर्वाचन भएको हो । माओवादीले उक्त सिट अहिले पनि सुरक्षित राख्न सफल भएको छ । ८ ठाउँमा भएको उपनिर्वाचनमा ६२ प्रतिशत अर्थात् २६ हजार ४६३ मतदाता सहभागी भएका थिए । कुल मतदाता संख्या ४२ हजार २७७ रहेपनि ३८ प्रतिशत मतदाताहरूले मतदान गरेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप