१२ बजे, १२ समाचार : उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिकदेखि तीन दिनमा सकियो रविको बयानसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक
काठमाडौं । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सम्पूर्ण चुनावी मत परिणाम आएको छ । सार्वजनिक नतिजा अनुसार तीन ठूला दल कांग्रेस, एमाले र माओवादीले १–१ स्थानमा प्रमुख पद जितेका छन् भने उप्रमुख जित्नेमा माओवादी पहिलो बनेको छ । उसले तीन स्थानीय तहमा उपप्रमुख जित्दा एमालेले दुई ठाउँमा उपप्रमुख पाएको छ । वडातहमा भने नेपाली कांग्रेस सबैभन्दा अघि देखिएको छ । कांग्रेस एक्लैको भागमा १६ वटा वडाध्यक्ष परेको छ ।
२. प्रधानमन्त्री ओली बेइजिङमा
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बेइजिङ पुगेका छन् । उनी चीन भ्रमणका लागि सोमबार बेइजिङ प्रस्थान गरेका थिए । उनी मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम छ ।
३. तीन दिनमा सकियो रविको बयान, सोधियो ७४ प्रश्न
पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सहकारीको रकम हिनामिना सम्बन्धमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा लिइएको बयान तीन दिनमा सकिएको छ । शुक्रबारबाट जारी बयान सोमबार सकिएको हो । यस क्रममा लामिछानेलाई ७४ प्रश्न सोधिएको बताइएको छ ।
४. ‘देउवालाई प्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव’ले राजनीतिमा तरङ्ग
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट प्रस्ताव आएको खुलासा गरेपछि नेपाली राजनीतिक वृत्तमा तरङ्ग आएको छ । कांग्रेस महामन्त्री थापाको सो दाबीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने खण्डन गरेका छन् । तर, विश्लेषकहरू भने नेपालको राजनीतिमा जे पनि हुन सक्ने टिप्पणी गर्छन् ।
५. मतदातामा वितृष्णा र निराशा देखिएको रास्वपाको टिप्पणी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको बताएको छ । रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले विज्ञप्ति जारी गर्दै नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको बताएका हुन् ।
६. दुर्घटना रोक्न गरिने ‘ट्राफिक चेकिङ’कै कारण बारम्बार दुर्घटना
उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गति कारबाहीलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ । मंसिर १५ बाट अभियानकै रूपमा कारबाही गर्न थालिएको महाशाखाका एक जना अधिकृतले रातोपाटीलाई बताए । तर, ट्राफिक प्रहरीले दुर्घटना रोक्न भन्दै गर्दै आएको चेकिङकै कारण कतिपय दुर्घटना भइरहेको पाइएको छ ।
७. दुध उत्पादन पर्याप्त हुँदा पनि आयातका लागि चलखेल
कोशी प्रदेशमा दुध उत्पादन मागको तुलनामा बढी छ । यद्यपि, भारतबाट पाउडर दुध तथा दुग्धजन्य पदार्थ आयातका लागि चलखेल हुन थालेपछि व्यावसायिक पशुपालक किसान तथा व्यवसायी चिन्तित देखिएका छन् । यसबारे रातोपाटीले तयार पारेको विशेष रिपोर्ट हेर्नुहोस्,
८. पाटन क्याम्पसमा विद्यार्थी भर्नामा अनियमितता
तीन वर्षअघि पाटन संयुक्त क्याम्पसमा बीएससी सीएसआईटी प्रथम वर्षको भर्नामा अनियमितता भएको खुल्न आएको छ । योग्यताक्रम (मेरिटोक्रेसी) मिचेर विद्यार्थी भर्ना गरेको विषय उठेपछि सहायक क्याम्पस प्रमुख डाक्टर अनन्तराज दाहालको संयोजकत्वमा क्याम्पसस्तरीय छानबिन समिति गठन भएको थियो । दाहाल नेतृत्वको समितिले मेरिट मिचिएको प्रतिवेदन पेस गर्यो । त्यसपछि क्याम्पस प्रमुखले अर्को वर्षदेखि योग्यताक्रम अनुसार नै विद्यार्थी भर्ना गर्ने प्रतिबद्धता जनाए । तर, तीन वर्षसम्म पनि यो क्रम रोकिएन ।
९. कोशीमा कांग्रेसले पठायो सर्कुलर
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले गर्ने भनिएको सभापतिहरूको भेलाको कुनै कार्यक्रम नरहेको भन्दै केन्द्रले सर्कुलर गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेशका सबै जिल्लाका सभापतिलाई सर्कुलर गर्दै मंसिर २२ गते आधिकारिक प्रदेशको सम्मेलन हुने जनाएका हुन् ।
१०. कारबाहीको चेतावनीपछि राज्यमन्त्रीको ठेकेदार कम्पनी आयो सम्पर्कमा
पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि अन्तिम पटक कारबाहीको चेतावनी पश्चात ठेकेदार तथा संघीय सरकारका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ उर्फ कान्छारामको निर्माण कम्पनी कर्णाली सरकारको सम्पर्कमा आएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले १५ वटा सडकको काम अलपत्र पारेर असार महिनादेखि सम्पर्कविहीन भएको भन्दै कात्तिक २९ गते सूचना प्रकाशित गरेको थियो ।
११. नयाँ निर्यात प्रतिबन्ध
संयुक्त राज्य अमेरिकाले नयाँ निर्यात प्रतिबन्धहरू घोषणा गरेको छ । घोषणाले विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रबीचको प्रतिस्पर्धा गहिरो हुँदै गर्दा चीनको उन्नत सेमीकन्डक्टरहरू बनाउने क्षमतालाई लक्षित गरेको छ । सेमीकन्डक्टर हतियार प्रणाली र कृत्रिम बुद्धिमत्ता (एआई) मा प्रयोग हुन्छ ।
२. राखेपको पत्र
राष्ट्रिय खेलकूद परिषद राखेपले नेपाल ओलम्पिक कमिटी (एनओसी)लाई मंगलबार गर्ने भनिएको साधारण सभा नगर्न पत्राचार गरेको छ । सोमबार एनओसीलाई पत्राचार गर्दै राखेपले साधारण सभा नगर्न भनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा सुदूरपश्चिमका ९ जिल्लामा जिल्ला समिति गठन
-
हवाई फायर गरी गैंडाको खाग तस्कर पक्राउ
-
छाया सेन्टरलाई धक्का, भीएफएस ग्लोबल सर्ने तयारी
-
न्यायालयमाथि विप्लवको आक्रोश, प्रकाश सपुतको गीत गुनगुनाउँदै ओलीमाथि पनि प्रश्न
-
कि सच्चिनु पर्यो, कि सकिन तयार हुन पर्यो : गंगानारायण श्रेष्ठ
-
स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न मेडिकल व्यवसायी संघको माग