बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : स्थानीय तह उपनिर्वाचनमा प्रमुख दलहरूको हविगत के ?

सोमबार, १७ मङ्सिर २०८१, २२ : ००
सोमबार, १७ मङ्सिर २०८१

आज २०८१ मंसिर १७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा स्थानीय तह उपनिर्वाचनमा कुन दलको हविगत के ?, प्रधानमन्त्री ओली बेइजिङ पुगे, बयानका क्रममा रवि लामिछानेलाई सोधियो ७४ प्रश्न, ‘देउवालाई प्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव’ले राजनीतिमा तरङ्ग, मतदाताहरूमा वितृष्णा र निराशा देखिएको रास्वपाको टिप्पणी, दुर्घटना रोक्न गरिने ‘ट्राफिक चेकिङ’कै कारण बारम्बार दुर्घटना, दुध उत्पादन पर्याप्त हुँदा पनि आयातका लागि चलखेल लगायत छन् ।

१. स्थानीय तह उपनिर्वाचनमा कुन दलको हविगत के ?
स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार चुनाव भएका अधिकांश स्थानको नतिजा आइसकेको छ । जसअनुसार सबैभन्दा धेरै सिटमा नेपाली कांग्रेस विजयी भएको छ ।

२. प्रधानमन्त्री ओली बेइजिङ पुगे
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बेइजिङ पुगेका छन् । उनी चीन भ्रमणका लागि सोमबार बेइजिङ प्रस्थान गरेका थिए । उनी मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

३. बयानका क्रममा रवि लामिछानेलाई सोधियो ७४ प्रश्न
पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सहकारीको रकम हिनामिना सम्बन्धमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइएको छ । तीन दिनसम्म लिइएको बयान सोमबार सकिएको हो । यस क्रममा लामिछानेलाई ७४ प्रश्न सोधिएको सम्बद्ध स्रोतले जनाएको छ ।

४. ‘देउवालाई प्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव’ले राजनीतिमा तरङ्ग
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट प्रस्ताव आएको खुलासा गरेपछि राजनीतिमा तरङ्ग आएको छ । कांग्रेस महामन्त्री थापाको सो दाबीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयंले खण्डन गरिसकेका छन् । तर विश्लेषकहरू भने नेपालको राजनीतिमा जे पनि हुन सक्ने टिप्पणी गरिरहेका छन् ।

५. मतदाताहरूमा वितृष्णा र निराशा देखिएको रास्वपाको टिप्पणी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको बताएको छ । रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले सोमबार विज्ञप्ति जारी गर्दै नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको बताएका हुन् ।

६. दुर्घटना रोक्न गरिने ‘ट्राफिक चेकिङ’कै कारण बारम्बार दुर्घटना
उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गति कारबाहीलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ । मंसिर १५ बाट अभियानकै रूपमा कारबाही गर्न थालिएको महाशाखाका एक जना अधिकृतले रातोपाटीलाई बताए । तर, ट्राफिक प्रहरीले दुर्घटना रोक्न भन्दै गर्दै आएको चेकिङकै कारण कतिपय दुर्घटना भइरहेको पाइएको छ ।

७. दुध उत्पादन पर्याप्त हुँदा पनि आयातका लागि चलखेल
कोशी प्रदेशमा दुध उत्पादन मागको तुलनामा बढी छ । यद्यपि, भारतबाट पाउडर दुध तथा दुग्धजन्य पदार्थ आयातका लागि चलखेल हुन थालेपछि व्यावसायिक पशुपालक किसान तथा व्यवसायी चिन्तित देखिएका छन् । यसबारे रातोपाटीले तयार पारेको विशेष रिपोर्ट हेर्नुहोस्–  

८. पाटन क्याम्पसमा विद्यार्थी भर्नामा अनियमितता
तीन वर्ष अघि पाटन संयुक्त क्याम्पसमा बीएससी सीएसआईटी प्रथम वर्षको भर्नामा योग्यताक्रम (मेरिटोक्रेसी) मिचेर विद्यार्थी भर्ना गरेको विषय उठेपछि सहायक क्याम्पस प्रमुख डाक्टर अनन्तराज दाहालको संयोजकत्वमा क्याम्पसस्तरीय छानबिन समिति गठन भएको थियो । दाहाल नेतृत्वको समितिले मेरिट मिचिएको प्रतिवेदन पेस ग¥यो । त्यसपछि क्याम्पस प्रमुखले अर्को वर्षदेखि योग्यताक्रम अनुसार नै विद्यार्थी भर्ना गर्ने प्रतिबद्धता जनाए । तर तीन वर्षसम्म पनि यो क्रम रोकिएन ।

९. कोशीमा कांग्रेसले पठायो सर्कुलर
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षले गर्ने भनिएको सभापतिहरूको भेलाको कुनै कार्यक्रम नरहेको भन्दै केन्द्रले सर्कुलर गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेशका सबै जिल्लाका सभापतिलाई सर्कुलर गर्दै मंसिर २२ गते आधिकारिक प्रदेशको सम्मेलन हुने जनाएका हुन् ।

१०. कारबाहीको चेतावनीपछि ठेकेदार–राज्यमन्त्रीको कम्पनी आयो सम्पर्कमा
पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि अन्तिम पटक कारबाहीको चेतावनी पश्चात ठेकेदार तथा संघीय सरकारका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ उर्फ कान्छारामको निर्माण कम्पनी कर्णाली सरकारको सम्पर्कमा आएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले १५ वटा सडकको काम अलपत्र पारेर असार महिनादेखि सम्पर्कविहीन भएको भन्दै कात्तिक २९ गते सूचना प्रकाशित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप