लुम्बिनी प्रदेशमा साख जोगाउन माओवादी सफल
बुटवल । स्थानीय तह उपनिर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका स्थानीय तहका रिक्त ६ पदमा भएको निर्वाचनमा माओवादी केन्द्रले आफ्नो साख जोगाएको छ ।
उपनिर्वाचन भएका लुम्बिनीका स्थानीय तहका ६ पदमध्ये २०७९ को निर्वाचनमा कांग्रेसले ४ र माओवादीले २ स्थानमा जितेका थिए ।
माओवादी केन्द्रले आफ्नो पकड कायम राख्दै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष र सोही पालिकाको २ नम्बर वडा अध्यक्ष पदमा जित हासिल गरेको छ ।
नेपाली कांग्रेसले रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, गुल्मीको मुसिकोट नगरपालिका–१, बर्दियाको ठाकुर बाबा नगरपालिका–४ मा जिते पनि कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ गुमाएको छ । यहाँ एमालेले बाजी मारेको हो ।
एमालेका लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले उपनिर्वाचनमार्फत पार्टीलाई लुम्बिनीमा एउटा वडा अध्यक्ष ‘बोनस’ प्राप्त भएको बताए ।
माओवादीको आधार इलाका रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचन नेपाली कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार बने पनि माओवादी केन्द्रकी नरपुरा बुढाले एक हजार ४९९ मतको फराकिलो अन्तरले पराजित गरिन् ।
५ हजार ९३१ मत खसेकोमा बुढाले ३ हजार ६२७ मत प्राप्त गर्दा कांग्रेस–एमाले र अशोक राईको जसपा पार्टीको साझा उम्मेदवार बनेकी केशकुमारी तुलाचनले २ हजार १२८ मतमात्र प्राप्त गरिन् । यहाँ माओवादीलाई एकीकृत समाजवादीले समर्थन गरेको थियो ।
उक्त गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भए । माओवादीको आधार इलाकामा कांग्रेस–एमाले मिलेर निर्वाचनमा जाँदा पनि माओवादीले आफ्नो पकडलाई कायम राखेको छ । पार्टीको एजेन्डा र उक्त ठाउँमा यसअघि माओवादी नेतृत्वले गरेको विकासका कारणले मतदाताले पत्याएको माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए ।
उनले जिल्लास्तरको नेतृत्वले गरेको चुनावी रणनीतिले ठुला पार्टी मिल्दा पनि यति ठुलो अन्तरले माओवादी उम्मेदवार विजयी भएको बताए ।
कांग्रेसको के छ अवस्था ?
यो उपनिर्वाचनमा नेपाली कांग्रेसले लुम्बिनी प्रदेश अन्तर्गत एउटा वडा गुमाएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ मा कांग्रेसका आनन्द श्रेष्ठ निर्वाचित भए । यहाँ स्वतन्त्रसहित ८ जना उम्मेदवार मैदानमा थिए । श्रेष्ठले एक हजार १८४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दल बहादुर थापाले ९३० मत प्राप्त गरे ।
यसैगरी माओवादी केन्द्रका उम्मेदवार दुर्गाबहादुर विकले १४३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरी खातीले ५ मत प्राप्त गरे ।
मुसिकोट नगरपालिका वडा नं १ मा चार हजार ९१ मतदातामध्ये दुई हजार ३३४ जनाले मतदान गरेका थिए ।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर४ मा कांग्रेसका टङ्कबहादुर पुन ४८८ मत पाएर अघिल्लो निर्वाचनमा विजयी भएका थिए । अहिले नेपाली कांग्रेसका भूपमणि पुन ६४३ मतसहित निर्वाचित भएका छन् ।
यहाँ नेकपा एमालेका बेगम पुनले ५३५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । नेकपा माओवादीका नरेश जङ्ग सिंहले ७० मत प्राप्त गरे ।
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले जितेको अर्को ठाउँ बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ हो । २०७९ सालको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष जितेका सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए । सोही कारण रिक्त भएको वडा अध्यक्ष पदमा निर्वाचन हुँदा कांग्रेसका उम्मेदवार अमिन थारु विजयी भएका छन् । उनले १ हजार ४३ मत प्राप्त गर्दा माओवादी केन्द्रका शेरबहादुर थारुले ६७८ मत पाए । नेकपा एमालेका विष्णुप्रसाद देवकोटा ३३७ मतसहित तेस्रो स्थानमा रहे ।
कपिलवस्तुको शुद्धोधन–१ भने कांग्रेसले गुमाएको छ । यो वडा अध्यक्ष पदमा एमालेका मोहम्मद ताहिर मुसलमान निर्वाचित भएका छन् । उनले १ हजार १ सय ५० मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार ७६ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिगो विकास लक्ष्यका लागि शीर्षक विहीन खर्च बढ्यो
-
रविसँग किन मागियो ६० लाख धरौटी ? यस्तो छ अदालतको तर्क
-
एआईले बनाएका ५ फिल्मसहित निफमा ८७ फिल्म प्रदर्शन हुने
-
ओली सरकारले सत्ताको दुरुपयोग गर्यो : माधव नेपाल
-
निकट समयमै पार्टी एकता गर्नेमा समाजवादी मोर्चाका चार दल सकारात्मक
-
प्रचण्ड–माधवलाई विप्लवको प्रस्ताव : संसद् तपाईं तताउनोस् सडकमा हामी साथ दिन्छौँ