बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

आधार क्षेत्रका पाँच वडा गुमाएको माओवादीले कांग्रेस एमालेसँग कहाँ–कहाँ लियो बदला ?

चुनावी नतिजाप्रति माओवाद उत्साहित
सोमबार, १७ मङ्सिर २०८१, २० : ०१
सोमबार, १७ मङ्सिर २०८१

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत रिक्त ४१ स्थानमा भएको चुनावमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले एक अध्यक्ष र एक उपप्रमुखसहित ९ स्थान जित्न सफल भएको छ ।

मंसिर १६ गते सम्पन्न निर्वाचनमा विभिन्न ४१ पदमध्ये काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुर नगरपालिका–९ को अन्तिम मतपरिणाम आउन बाँकी छ । जसमा माओवादीले २०७९ को निर्वाचनमा जितेका ५ वडा गुमाएको छ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका र पुथा उत्तरगंगा–२ मात्र जोगाउन सक्यो । अघिल्लोपटक जितेको हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा अग्रता कायमै छ ।

तर यसअघि जितेको महोत्तरीको रामगोपालपुर नगरपालिका– २, मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १२, जाजरकोटको कुशे गाउँपालिका– ७, कालिकोटको तिलागुफा नगरपालिका– ४ र दार्चुलाको  दुहुँ गाउँपालिका– ५ को वडाध्यक्ष पद गुमाएको छ ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपाध्यक्ष पद जित्न सफल भएको छ । यी दुवै पदका यसअघि कांग्रेसले जितेको थियो । यस्तै नुवाकोटको ककनी गाउँपालिका–२, उदयपुरको त्रियुगा नगरपालिका–१२, धनुषाको धनुषाधाम नगरपालिका–१, गोरखा नगरपालिका–५ र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पद जितेर गुमेको शक्ति फर्काएको छ ।

यद्यपि आन्तरिक र प्राविधिक कमजोरीका कारण बागमतीको हेटौंडा उपमहानगरपालिका–१२ जित्ने सुनिश्चित हुँदाहुँदै पनि पराजित हुन पुगेको माओवादीका प्रवक्ता अग्निप्रसाद साकोटाले स्वीकार गरे । उनले माओवादीकै आधार क्षेत्र रहेको रुकुम र रोल्पमा पराजित हुन पुग्दा केही प्रश्न उठेपनि समग्रमा माओवादी जनमतले उत्साह जगाएको जिकिर गरे ।

‘केही स्थानमा हाम्रो प्राविधिक कमजोरीका कारण पराजित हुन पुगेको छ । माओवादीका आधार क्षेत्र रहेका रुकुम र रोल्पामा सोचे अनुसारको मत आउन सकेन । पहिला जितेका केही स्थान गुमाए पनि हामीले ११ स्थान जित्न सकिन्छ भन्ने विश्वास छ’, चुनावी नतिजाबारे रातोपाटीसँग उनले भने ।

आगामी पार्टीको बैठकमा चुनावी परिणामबारे थप समीक्षा गरेर ०८४ को निर्वाचनको तयारी गर्ने उनले बताए । माओवादीले अन्य दलसँग गठबन्धन गरेरभन्दा आफ्नै शक्तिमा निर्वाचन जित्न सकिने चुनावी नतिजाले देखाएको सापकोटाको जिकिर छ । सत्ता छाडेर जनतातिर फर्किएपछि माओवादी बलियो हुँदै गएको उनको भनाइ छ ।

‘हामी लामो समय सत्ता केन्द्रित भयौँ । कांग्रेस र एमालेसँग माओवादीले सत्ता सहकार्य गरेको जनतालाई त्यति मन परेको थिएन । पछिल्लो समय माओवादी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा उभिएको र पार्टी रुपान्तरणसहित जनतामा गएकाले जनमत माओवादीप्रति बढ्दै गएको छ । आगामी दिनमा विशेष कार्यक्रम लिएर पार्टी जनताबिचमा जान्छ’, उनले भने ।     

ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३, सुनसरीको गढी गाउँपालिका–६, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको राजपुर नगरपालिका–६, मकवानपुरको हेटौंडा उपनगरपालिका–१२, बर्दियाको ठाकुरबाबा नगरपालिका–४, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५, जाजरकोटको कुसे गाउँपालिका–७, कालिकोटको तिलागुफा नगरपालिका–४, दार्चुलाको दुहु गाउँपालिका–५ मा माओवादी दोस्रो स्थानमा रहेको छ ।

अघिल्लो निर्वाचनको तुलनामा केही स्थानमा मत घटाएपनि अधिकांश स्थानमा माओवादीले मत संख्या बढाएको देखिन्छ । मतगणनाको अन्तिम परिणाम आउन बाँकी चार स्थानमध्ये कीर्तिपुर नगरपालिका र दोलखाको गौरीशंकर गाउँपालिका बाहेक हुम्लाको सर्केगाड गाउँपालिका र उदयपुरको वेलका नगरपालिका–९ मा माओवादीको अग्रता छ । काठमाडौँको कीर्तिपुर नगरपालिकामा माओवादी तेस्रो स्थानमा रहेको छ ।

अग्रता कायमै राखेका दुई स्थानीय तहमा जितेमा माओवादीको १० सिट पुग्नेछ । अघिल्लो निर्वाचन भन्दा उपनिर्वाचनमा माओवादीले थप दुई सिट बढाउने देखिन्छ । यद्यपि आधार क्षेत्र मानिएको रोल्पा, रुकुमपश्चिम लगायत क्षेत्रमा भएको पराजयबारे आगामी दिनमा गम्भीर समीक्षा हुने माओवादीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप