बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

रास्वपालाई प्रश्न– एउटा वडाको जितमा हर्ष कि गाउँ केन्द्रित संगठन निर्माण नगरेकोमा दुःख ?

सोमबार, १७ मङ्सिर २०८१, १९ : ४५
सोमबार, १७ मङ्सिर २०८१

काठमाडौँ । ‘दुई रातमा रास्वपाको माहोल राम्रो आयो भन्ने सुनियो । मतगणना गर्दा के हुन्छ हेरौँ,’ आइतबार राति कांग्रेसका एक नेताले रातोपाटीसँग काठमाडौँ १६ को चुनावी अवस्थाबारे बताउँदै भने ।

ती नेताले भनेजस्तै सोमबार बिहानसम्म निर्वाचन परिणाम आउँदा काठमाडौँ–१६ रास्वपाले जित्यो । इतिहासमा पहिलो पटक पार्टीको टिकटमा निर्वाचन लडेर रोजीना श्रेष्ठले चुनाव जितिन् । २१ हजार २५ मतदाता रहेको वडामा झरेको १० हजार ५५६ मतमध्ये श्रेष्ठले २ हजार ९०२ मत प्राप्त गरिन् र नेपाली कांग्रेसको किल्ला भत्काएर वडामा रास्वपाको झण्डा खडा गरिन् ।

यसअघि यहाँ दुई कार्यकाल नेपाली कांग्रेसले चुनाव जितेको थियो । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको मतदान गर्ने वडामा उनकै क्याम्पका मुकुन्द रिजालले दुई पटक चुनाव जितेका थिए । तर त्यो विरासतलाई कांग्रेसले जोगाउन सकेन ।

निर्वाचन आयोगको अन्तिम तथ्याङ्क अनुसार दोस्रो स्थानमा एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत तथा तेस्रोमा कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २१४ मत प्राप्त गरे ।

उपनिर्वाचन जितेसँगै रास्वपाले विजय र्‍याली निकाल्यो । तर, प्रतिनिधि सभाको चौथो ठुलो दल रास्वपा स्थानीय तहको उपनिर्वाचनमा त्यो हैसियत जोगाउन असफल रह्यो । रास्वपाले एकमात्र वडा जित्दा जसपा नेपालले दुई वडा जित्दै उपनिर्वाचनमा चौथो दलका रूपमा आफूलाई स्थापित गरेको छ ।

काठमाडौँ–१६ बाहेक रास्वपाले कहीँ कतै निर्वाचन जित्न सकेन । यतिसम्म कि पार्टीबाट उम्मेदवार बनेकाहरूले एकदमै कम मत ल्याउँदा २२ ठाउँमा जमानत समेत जोगाउन सकेन ।

निर्वाचन आयोगले जारी गरेको अन्तिम नतिजा सम्बन्धी विवरण अनुसार रास्वपाले विभिन्न ११ स्थानमा ५० मत पनि कटाउन सकेन ।

त्यसैले पनि रास्वपालाई सहर केन्द्रित एउटा वडा जितेकोमा हर्ष भयो कि देशभर संगठन निर्माण गर्न नसकेकोमा दुःख भन्ने प्रश्न तेर्सिएको छ । किनभने काठमाडौँ–१६ रास्वपाको पकड क्षेत्र नै हो । यहाँ पार्टी सभापति रवि लामिछाने सहितको टीमभन्दा पनि समुदायमा घुलमिल भएका नेताहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, गणेश पराजुली, शिशिर खनाल लगायतको बढी प्रभाव पर्ने क्षेत्र हो ।

त्यसैले पनि यहाँ पार्टीले मत ल्याउँछ भन्ने २०७९ को संघीय निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फ पार्टीलाई आएको मतले पनि स्पष्ट पार्ने रास्वपा नेतृत्वको दाबी छ ।

सोही कारण रास्वपाले कीर्तिपुर नगरभन्दा पनि काठमाडौँ–१६ मा बढी प्राथमिकता दिएर चुनाव लडेको थियो । जहाँ उसले सफलता पनि हासिल गर्‍यो । यो सफलतासँगै देशका अन्य स्थानीय तहमा रास्वपाले किन चुनाव जित्न सकेन, किन दबाब दिने गरी प्रभावकारी भोट ल्याउन सकेन, स्थापना भएको लामो समयसम्म पार्टी संगठन गर्न कहाँ चुक्यो भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ ।

पार्टी संघीय सांसद तथा प्रभावशाली नेता शिशिर खनाल वैकल्पिक शक्तिको उदय र आधार तथा प्रभाव क्षेत्र सहर केन्द्रित राजनीतिनै हुने बताउँछन् । हरेक पार्टीको क्षेत्रगत विशेषता हुने भन्दै उनी रास्वपाको ग्रामीण र पहाडी क्षेत्रमा भन्दा पनि बन्दै गरेको सहरीकरण र बनिसकेका सहरहरू नै रहेको उल्लेख गर्छन् ।

‘दुर्गम र ग्रामीण भेगमा हाम्रो उपस्थिति कमजोर छ । हामीले निर्वाचनमा भाग लिएको उपस्थिति जनाउन र संगठन निर्माण गर्न पनि हो,’ खनालले भने, ‘हामीले काठमाडौँ–१६ जित्यौँ र झापाको कन्काइमा पनि हाम्रो समर्थनमा स्वतन्त्र उम्मेदवारले जित्नुभयो । हाम्रो टेस्ट पनि हो कि हामीले काठमाडौँको १० निर्वाचन क्षेत्रमध्ये ४ वटा जितेका थियौँ । अहिले हाम्रो टेस्ट थियो कि हामीले काठमाडौँ–१६ जित्नैपर्ने दबाब थियो र जित्यौँ पनि ।’

नेता खनाल अहिलेको निर्वाचनले ग्रामीण तथा पहाडी क्षेत्रमा पनि संगठन निर्माण गर्न सकिन्छ भन्ने आधार प्रस्तुत गरेको बताउँछन् ।

‘उपनिर्वाचनले हामीलाई नयाँ राजनीतिक बाटो दिएको छ,’ उनले भने, ‘२०७९ को निर्वाचन नतिजा हेर्दा सुदूरपश्चिमका जिल्लामात्र होइन, पहाडका जिल्ला र मधेसमा हाम्रो संगठन राम्रो थिएन । ओखलढुंगा जस्तो ठाउँमा आएको मतले हौसला दिएको छ । पहाडी जिल्लामा संगठन गर्न सकिन्छ भन्ने सन्देश दिएको छ,’ उनले थपे ।

२०७९ को स्थानीय तह निर्वाचन पश्चात रास्वपाको स्थापना भएको हो । त्यसपछि भएको संसदीय निर्वाचनमा २१ सिटसहित रास्वपा संसदको चौथो दल बनेपछि पटक–पटक विवादमा घेरियो । विशेष गरेर पार्टी सभापति रवि लामिछानेकै कारण पार्टी विवादमा आयो । जसले रास्वपाको उदय र ओरालो यात्रा चाँडै भयो भन्ने बहसहरू पनि भए ।

इलाम उपनिर्वाचनले थप प्रश्नमा घेरिएको रास्वपाले स्थानीय तह उपनिर्वाचनमा एक मात्र वडा जितेर सबै विषयको जवाफ दिन सक्यो त भन्ने प्रश्न जन्मिनु स्वाभाविक हो ।

पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी भने उपनिर्वाचन भएको सबै स्थानीय तहमा पार्टीको संरचना नपुगेकाले जति मत आएको छ, त्यसले निराश नबनाएको दाबी गर्छन् । पार्टीको जम्मा ५/६ जना सदस्य भएको ठाउँमा सय मत हाराहारीमा उम्मेदवारले मत पाएको भन्दै उनी उत्साहजनक नभए पनि पार्टीलाई संगठन र उपस्थिति बढाउने पर्याप्त आधार प्रस्तुत गरेको बताउँछन् ।

‘अहिलेको परिणामले संगठनमा जानुपर्छ, गर्नुपर्छ भन्ने छ,’ बुर्लाकोटीले भने, ‘काठमाडौँको जित र झापाको हाम्रो समर्थन एक ठाउँमा छ । अरू ठाउँको मत परिणाम नराम्रो भन्न मिल्दैन । पुरानो दलको तुलनामा संगठनको हिसाबले हामीले काम धेरै गर्नुपर्छ । नागरिकलाई बुझाउनुपर्छ भन्ने हाम्रो बुझाइ छ ।’

कसले कति पाए मत ?

– रास्वपाका उम्मेदवारको सबैभन्दा लज्जास्पद मत महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा आएको छ । वडा अध्यक्ष पदमा यहाँ रास्वपाले सुरसैद खाँलाई उम्मेदवार बनाएको थियो । उनले जम्मा ४ मत प्राप्त गरे ।

– तिलगुफा नगरपालिका–४ मा पनि रास्वपाका लागि निराशाजनक रह्यो । यहाँ रास्वपाका गगन बमले जम्मा ५ मत प्राप्त गरे ।

– रौतहटको ईशनाथ नगरपालिका–७ मा रास्वपाका शेख असराजले जम्मा ६ मत प्राप्त गरे ।

– रुन्टीगढी गाउँपालिका–४ मा रास्वपाका हिमबहादुर पुनले जम्मा ७ मत पाए ।

– सिरिजंघा गाउँपालिका–३ मा रास्वपाका देवी प्रसाद पौडेलले ७ मत पाए ।

– धनुषाधाम नगरपालिका–१ को वडा अध्यक्षमा रामनरेश दासले जम्मा १० मत प्राप्त गरे ।

– ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्ष पदमा रास्वपाका बासुदेव शर्माले १७ मत पाए ।

– पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा जानकी कुमार खड्का (कुँवर) ले ३१ मत पाइन् ।

– गढी गाउँपालिका–६ को वडा अध्यक्षमा रास्वपाका शशि कुमार साहुले ३३ मत पाए ।

– लालीगुराँस नगरपालिका–८ मा रास्वपाका सन्जिव खड्काले ३८ मत प्राप्त गरे ।

–मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा रास्वपाका विकास थापाले जम्मा ४३ मत प्राप्त गरे ।

–सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा मतगणना जारी रहँदा अहिलेसम्म रास्वपाका उम्मेदवार बाँचा बुढाले जम्मा ५ मत प्राप्त गरेको निर्वाचन आयोगको वेवसाइटमा उल्लेख छ ।

–ग्रामथान गाउँपालिका अध्यक्षमा नविनकुमार विश्वास खवासले ३७५मत पाएका छन् ।

–भीमदत्त नगरपालिका–६ को वडा अध्यक्षमा रामदत्त भट्टले २१८ मत पाएका छन् ।

–उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडा अध्यक्षमा ध्रुवप्रसाद पोखरेलले २०२ मत प्राप्त गरेका छन् ।

–नलगाड नगरपालिकाको उममेयरमा रास्वपबाट पार्वती पुनले १७९ मत प्राप्त गरेकी छन् ।

– मोलुङ गाउँपालिका–५ को वडा अध्यक्षमा विष्णु प्रसाद पोखरेलले १५१ मत पाए ।

– महाबु गाउँपालिका अध्यक्षमा प्रकाश कुमार बुढाले ११२ मत पाएका छन् ।

–शुद्धोधन गाउँपालिका–१ को वडा अध्यक्षमा अवधेश कुमार चौधरीले ९२ मत पाएका छन् ।

–हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा आशावीर बलले ८३ मत पाए ।

– नुवाकोटको ककनी गाउँपालिका–२ को वडा अध्यक्षमा मंगलसिद्धि लामा तामाङले ८३ मत प्राप्त गरे ।

–गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा मंगलबहादुर थापाले ८२ मत प्राप्त गरेका छन् ।

–दुल्लु नगरपालिका–१३ को वडा अध्यक्षमा रामबहादुर शाहीले जम्मा ५३ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोमन आचार्य
रोमन आचार्य
लेखकबाट थप