विगतमा जितेका चार पालिका र नौ वडा गुम्यो : नयाँ सात स्थानमा जित्न सफल
काठमाडौँ । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको केही स्थानीय तह बाहेक लगभग सबैको मतगणना सकिएको छ । जसमा सत्तामा रहेको दल नेपाली कांग्रेसले केही नयाँ वडामा विजयी हासिल गर्दा पालिका प्रमुख र उपप्रमुख भने गुमाएको छ ।
कीर्तिपुर नगरपालिका‚ दोलखाको गौरिशंकर गाउँपालिका‚ हुम्लाको सर्केगाड गाउँपालि र उदयपुरको वेलका नगरपालिका वडा नम्बर ९ को नतिजा आउन बाँकी छ ।
निर्वाचन आयोगले जारी गरेको अन्तिम नतिजा अनुसार कांग्रेसले कोशी प्रदेश अन्तर्गत २०७९ को तुलनामा चार पद गुमाएको छ । कांग्रेसले ताप्लेजुङ‚ मोरङ्ग, ओखलढुंगामा र उदयपुरमा पराजय भोग्दा सुनसरीमा भने जित निकालेको छ ।
यस्तै मधेस प्रदेशमा पनि कांग्रेसले तीन वडा गुमाउँदा रौतहटको इशानाथमा मात्र जित हासिल गर्यो । पार्टीले बागमती प्रदेशअन्तर्गत काठमाडौँ १६ र ककनी गुमाउँदा‚ कीर्तिपुर नगरपालिका वडा नम्बर ४ र हेटौडा १२ मा भने जित्न सफल भएको छ ।
आयोगले जारी गरेको अन्तिम नतिजा अनुसार कांग्रेसले कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को वडा अध्यक्ष पद‚ कर्णालीको महाबु गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष गुमाएको छ ।
कांग्रेसले हालसम्म प्राप्त नतिजा अनुसार १५ वडामा जित हासिल गरेको छ । विगतमा जितेका ४ पालिका मध्ये २ महाबुँ गाउँपालिका र ग्रामनाथ गाउँपालिका पालिका अध्यक्ष तथा नलगाड नगरपालिका र स्वामिकार्तिक गाउँपालिका गुमाएको छ । यस्तै विगतमा जितेका वडाहरूमध्ये ९ वडा कांग्रेसले गुमाएको छ भने नयाँ सात वडा अध्यक्ष पदमा जित हासिल गरेको छ ।
कोशीका गुमे पालिका अध्यक्षसहित ४ पद
ताप्लेजुङ जिल्ला सिरिजंगा गाउँपालिका–३ कांग्रेसले गुमाएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार कांग्रेसले यहाँ तेस्रो स्थानमा मत ल्याउँदा एमाले विजयी भएको छ । कांग्रेसबाट उम्मेदवार बनेका भीम कुमार लक्सम्वाले २१८ मतमात्र प्राप्त गर्दै तेस्रो बने । विजयी एमाले उम्मेदवार कुमारी सावादेनले ३५३ मत ल्याउँदा दोस्रो बनेका माओवादी उम्मेदवार अम्वी साउदेनले २५१ मत प्राप्त गरे । यो वडामा २०७९ को निर्वाचनमा कांग्रेसका दीलप्रसाद वोखिम ४०३ मतसहित विजयी भएका थिए । उक्त निर्वाचनमा एमाले उम्मेदवार कुमारी सावादेनले ३९९ मत पाएकी थिइन् ।
झापाको कन्काइ नगरपालिका–६ उपनिर्वाचन पनि कांग्रेसले जित्न सकेन । यहाँ स्वतन्त्र उम्मेदवार बनेका लक्ष्मी प्रसाद ओलीले ४९३ मतसहित निर्वाचन जिते । कांग्रेस उम्मेदवार रामगोपाल ओली ३१७ मतसहित तेस्रो बने ।
२०७९ को उपनिर्वाचन पनि कांग्रेस यहाँ तेस्रो भएको थियो । कांग्रेसका उम्मेदवार केशव विमलीले २०९ मत पाएका थिए । जबकि पहिलो हुने दल एमालेका उम्मेदवार दीर्घबहादुर थापाले ५०८ तथा दोस्रोमा रहेका स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले ४४० मत पाएका थिए ।
कांग्रेसले २०७९ सालमा जितेको मोरङ जिल्लाको ग्रामथान गाउँपालिका अध्यक्ष पद माओवादी केन्द्रलाई सुम्पिएको छ । यहाँ माओवादी उम्मेदवार नमोनारायण माझीले ६९६९ मतसहित जित हासिल गर्दा कांग्रेस उम्मेदवार बलराम सरदारले ५३३३ मत मात्र प्राप्त गरे ।
अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मतसहित निर्वाचित हुँदा एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत पाएका थिए ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ भने कांग्रेसले विरासत जोगाएको छ । वडा अध्यक्षमा कांग्रेसबाट नगेन्द्र लिम्बू उम्मेदवार बन्दै ४४० मतसहित विजयी भए । एमालेका बुद्ध बहादुर लिम्बुले ३६० मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा यो वडाको अध्यक्ष पदमा कांग्रेसका तेजमान लिम्बु ५२४ मतसहित निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा यहाँ एमालेका तुलसीराम खनालले ४१३ मत पाएका थिए ।
सुनसरीको गढी गाउँपालिका–६ भने यसपटक कांग्रेसले जितेको छ । वडा अध्यक्षमा भएको उपनिर्वाचनमा कांग्रेसले तेतर साहलाई उम्मेदवार बनाएको थियो । साहले ८१६ मतसहित निर्वाचन जितेको निर्वाचन आयोगले जारी गरेको नतिजामा उल्लेख छ ।
गएको निर्वाचनमा कांग्रेस यहाँ तेस्रो बनेको थियो । ०७९ को निर्वाचनमा यहाँ एमालेका सदानन्द उराँव झागर ७१२ मतसहित निर्वाचित हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवारले ४२४, कांग्रेसका तिलेश्वर चौधरीले ४१६, जसपा नेपालका रामनारायण साहुले ३५६ मत पाएका थिए ।
कांग्रेसले ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष पद कांग्रेसले गुमाएको छ । गएको निर्वाचनको नतिजालाई निरन्तरता दिने अभिभारासहित कांग्रेसले धनश्याम दाहाललाई टिकट दिएको थियो । तर १७७ मतसहित उनी दोस्रो स्थानमा रहे । यहाँ एमालेका गंगा बहादुर तामाङले ३९९ मतसहित विजयी हासिल गरे ।
२०७९ को निर्वाचनमा यहाँ कांग्रेसका गोपीकृष्ण कार्की ३८४ मतसहित निर्वाचित भएका थिए । यसपटक पनि कांग्रेसले जितलाई निरन्तरता दिने तयारी गरेको छ । कांग्रेसले यहाँ घनश्याम दाहाललाई हाल उम्मेदवार बनाएको छ । गएको निर्वाचनमा यहाँ एमालेका गोपाल नेपाल ३७० मतसहित दोस्रो स्थानमा थिए । अहिले एमालेले यो वडा अध्यक्ष पदमा गंगाबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडा अध्यक्ष पदमा कांग्रेसले सञ्जिव काफ्लेलाई टिकट दिएको थियो । काफ्लेले कांग्रेसको विरासत जोगाउने भन्दै टिकट पाएका हुन् । तर‚ उनले चुनाव जित्न सकेनन् । यहाँ कांग्रेस तेस्रो स्थानमा सिमित भएको छ । कांग्रेसबाट उम्मेदवार बनेका काफ्लेले ३५९ मत पाउँदा माओवादीका नविन वान्तवा राईले ९२३ मतसहित जित हासिल गरे । ०७९ को निर्वाचनमा कांग्रेसका चुडाराज काफ्ले ४३९ मतसहित निर्वाचित भएका थिए ।
यस्तै उदयपुरकै बेलका नगरपालिका–९ मा कांग्रेसले नवराज बस्नेतलाई टिकट दिएको छ । बस्नेतलाई पनि विरासत जोगाउनुपर्ने चुनौती छ । किनभने २०७९ को निर्वाचनमा पार्टीबाट उम्मेदवार बनेका पदमबहादुर खड्का ६७१ मतसहित विजयी भएका थिए । यस्तै दोस्रो स्थानमा एमालेका रणजित राईले ५४८ मत पाएका थिए । हालसम्म यहाँको मतगणना नतिजा आएको छैन ।
मधेसका ३ वडा गुमे
मधेस प्रदेशअन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ को वडा यसअघि कांग्रेसले जितेको थियो । तर‚ उपनिर्वाचनबाट कांग्रेसले दुवै ठाउँको वडाध्यक्ष पद गुमाएको छ ।
डाक्नेश्वरी १ मा भूलिया देवी थरुनी ५८७ मतसहित दोस्रो बन्दा जसपा नेपाल उम्मेदवार धिरेन्द्र कुमार शाहले ६५२ मतसहित निर्वाचन जितेका छन् । २०७९ को निर्वाचन भने कांग्रेसबाट उम्मेदवार बनेका प्रितमलाल चौधरी ५३५ मतसहित निर्वाचित भएका थिए ।
डाक्नेश्वरी नगरपालिका–४ मा पार्टीले जोगिन्द्र रायलाई टिकट दिएको थियो । तर‚ उनी २७७ मतसहित दोस्रो स्थानमा रहे । यहाँ जसपा नेपालका देवेन्द्र प्रसाद यादवले ३७२ मतसहित चुनाव जितेका छन् । २०७९ को निर्वाचनमा यहाँ कांग्रेसका हरिप्रसाद यादव ३३३ मतसहित निर्वाचित भएका थिए ।
धनुषाको धनुषाधाम नगरपालिका–१ पनि कांग्रेसले गुमाएको छ । विरासत जोगाउने जिम्मेवारीसहित वडा अध्यक्ष पदमा कांग्रेसले अशोककुमार मण्डललाई उम्मेदवार बनाएको थियो । उनले ६०२ मतसहित दोस्रो स्थानमा चित्त बुझाए । यहाँ माओवादी उम्मेदवार शुनिल कापर केवटले ६८४ मतसहित जित निकाले । २०७९ को निर्वाचनमा कांग्रेसले जित्दा विश्वनाथ यादव ६१८ मत पाएका थिए । यस्तै दोस्रो स्थानमा एमालेका प्रमोद यादवले ३७७ मत पाएका थिए । यहाँ नेकपा माओवादी केन्द्रका सुनिल कापर केवटले ३६९ र जसपा नेपालका देवनारायण यादवले ३२५ मत पाएका थिए ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा यसपटक कांग्रेस तेस्रो स्थानमा पुगेको छ । यहाँ पार्टीले मोहम्मद जनिफ खाँलाई टिकट दिएको थियो । उनले २८४ मत मात्र प्राप्त गरे ।
मधेश प्रदेशकै रौतहटको ईशनाथ नगरपालिका–७ को वडा अध्यक्षमा कांग्रेसले जितेको छ । यसअघि यहाँ एमालेका शेख खलीउल्लाह ६८३ मतसहित निर्वाचित भएका थिए । २०७९ सालमा निर्वाचन लड्दै कांग्रेसका शेख अब्दुल खलिकले ५७८ मत पाएका थिए । यसपटक उनले ६२७ मत सहित निर्वाचन जितेका हुन् ।
रौतहटकै राजपुर नगरपालिका–६ को वडा अध्यक्षमा कांग्रेसले विरासत जोगाएको छ । यसअघि कांग्रेसका शेख मोजरे आलम ५३४ मतसहित निर्वाचित भएका थिए । त्यही जितलाई कायम गर्न भन्दै कांग्रेसले उपनिर्वाचनका लागि समसे आलमलाई टिकट दिएको थियो । आलमले ७४४ मतसहित जित हासिल गरे ।
रौतहटकै गढीमाई नगरपालिका–८ मा भने कांग्रेसले यसपटक पनि जित हासिल गर्न सकेन । अघिल्लो निर्वाचनमा यहाँ जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मतसहित जितेका थिए । दोस्रो स्थानमा कांग्रेस उम्मेदवार वैधनाथ ठाकुर लोहारले ५६१ मत पाएका थिए । उपनिर्वाचनमा भने यहाँ नेकपा एकीकृत समाजवादीले चुनाव जित्दा कांग्रेस उम्मेदवार सुवोदकुमार यादव ६१७ मत सहित तेस्रो स्थानमा रहे ।
महत्त्वपूर्ण बागमती : २ वडा गुम्दा‚ नयाँ २ वडा खोस्न सफल
देशभरकै एकमात्र नगरपालिका अन्तर्गत बागमती प्रदेश अन्तर्गत कीर्तिपुर नगरपालिकामा उपनिर्वाचन भएको छ । आइतबार भएको उपनिर्वाचनबाट यहाँ २ वडाको नतिजा आउँदा दुबै वडा कांग्रेसले जितेको छ । नगरपालिकाको भने मतगणना जारी छ । यता‚ काठमाडौँ १६ भने कांग्रेसले गुमाएको छ ।
कीर्तिपुरको अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मतसहित निर्वाचित भएका थिए । त्यसबखत एमालेका केशवरत्न बज्राचार्यले ५ हजार ५०७ मत पाएका थिए । माओवादी केन्द्रका प्रा.डा.शिवशरण महर्जनले ४ हजार ९० र नेकपा एकीकृत समाजवादीका वटुकृष्ण थापाले एक हजार १५३ मत पाएका थिए ।
जारी मतगणना अनुसार हाल यहाँ कांग्रेस उम्मेदवार कृष्णमान डंगोलले अग्रता बनाइरहेका छन् ।
कीर्तिपुर वडा नम्बर १ मा पनि कांग्रेसनै विजयी भएको छ । विरासत जोगाउँदै कांग्रेसका इच्छा कुमार महर्जन ५६२ मतसहित चुनाव जित्न सफल भए । यसअघि यहाँ हिरालाल महर्जन ७७८ मतसहित निर्वाचित भएका थिए ।
यस्तै‚ कीर्तिपुर नगरपालिका–४ को वडा अध्यक्ष पदमा कांग्रेसका राजेन्द्र बानियाँले चुनाव जितेका छन् । बानियाँले ७४२ मत प्राप्त गर्दै निर्वाचन जितेका हुन् । गएको निर्वाचनमा यहाँ स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी एक हजार ३८० मतसहित निर्वाचित भएका थिए ।
बागमती प्रदेश अन्तर्गत काठमाडौँ महानगरपालिका–१६ को वडा अध्यक्ष पदमा कांग्रेसले देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको थियो । तर‚ पाठकले कांग्रेसको विरासत जोगाउन सकेनन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार विजयी भइन् । २९०२ मतसहित रास्वपा उम्मेदवार रोजिना श्रेष्ठ विजयी हुँदा २२१४ सहित कांग्रेस उम्मेदवार देवेन्द्र पाठक तेस्रो स्थानमा रहे ।
यो वडा गएको निर्वाचन पनि कांग्रेसले जितेको वडा हो । त्यसबखत कांग्रेसका मुकुन्द रिजाल ४ हजार १९ मतसहित निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३१० र एकीकृत समाजवादीका लक्ष्मण गमालले एक हजार ५८९ मत पाएका थिए ।
नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष कांग्रेसले गुमाएको छ । पार्टीले सूर्य तामाङलाई विरासत धान्ने जिम्मेवारीसहित टिकट दिएको थियो । तर‚ उनले ५८७ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे । यहाँ माओवादी केन्द्रका कृष्ण घिमिरे १०८५ मत सहित चुनाव जित्न सफल भए । गएको निर्वाचनमा कांग्रेसका तिलकबहादुर लामा ८८८ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला माओवादी केन्द्रका कृष्ण घिमिरेले ७३४ मत सहित दोस्रो स्थानमा रहेका थिए ।
कांग्रेसले हेटौंडा उपमहानगरपालिका–१२ को वडा भने माओवादीबाट खोस्न सफल भएको छ । २०७९ को निर्वाचनमा अध्यक्षमा माओवादी केन्द्र विजयी भएको थियो । त्यसबखत पार्टीबाट ललितबहादुर घलान एक हजार ३७१ मतसहित निर्वाचित भएका थिए । दोस्रो स्थानमा भने नेपाली कांग्रेस आएको थियो । कांग्रेसका अर्जुनप्रसाद तिवारीले एक हजार ३४० मत पाएका थिए ।
उपनिर्वाचनमा उम्मेदवार बनेका कांग्रेसका उनै तिवारीले २०६३ मतसहित चुनाव जित्दा माओवादी उम्मेदवार रबि कुमार प्रधान १५६० मत सहित दोस्रो स्थानमा आए ।
यता‚ दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदको मतपरिणाम आइसकेको छैन । यो पालिका पनि कांग्रेसले जितेकै स्थान हो ।
गोरखामा यसपटक पनि कांग्रेस दोस्रो
गण्डकी प्रदेश अन्तर्गत एक मात्र स्थानी तहमा भएको उपनिर्वाचनमा कांग्रेस सफल हुन सकेन । निर्वाचन आयोगका अनुसार गोरखा नगरपालिका– ५ को वडा अध्यक्ष पदमा उपनिर्वाचन हुँदा माओवादी विजयी भएको छ । यसपटक पनि यहाँ कांग्रेस दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भयो ।
आयोगका अनुसार वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा माओवादी उम्मेदवार बिष्णु बहादुर मगर ४८६ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार भाइ काजी आले ४०२ मत सहित दोस्रो स्थानमा रहे ।
२०७९ को उपनिर्वाचनमा यहाँ कांग्रेसले दोस्रो स्थानमा मत ल्याएको थियो । त्यसबखत पार्टीबाट उम्मेदवार बनेकी गीता थापामगरले ४२८ मत पाएकी थिइन् । उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेर खिलबहादुर राना ४५३ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला माओवादी केन्द्रकी सावित्री थापा रानाले २७४ मत पाएका थिए ।
लुम्बिनीमा पनि गुमायो १ वडा
लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्ष पदमा विरासत धान्नुपर्ने दबाबलाई कांग्रेसले पूरा गरेको छ । अघिल्लो निर्वाचन जस्तै जित्नै पर्ने दबाबसहित उपनिर्वाचनका लागि आनन्द श्रेष्ठले टिकट पाएका थिए । उनले ११८४ मतसहित निर्वाचन जितेका छन् । दोस्रो भएका एमालेका दल बहादुर थापाले ९३० तथा माओवादीका दुर्गा बहादुर विकले १४३ मत पाएका छन् । अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसका मोहन घिमिरे एक हजार १८२ मतसहित निर्वाचित हुँदा एमालेका नारायणबहादुर थापाले एक हजार १४३ मत पाएका थिए ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडा अध्यक्ष पनि अघिल्लो निर्वाचन कांग्रेसलेनै जितेको थियो । त्यही जितलाई भुपमणि पुन मगरले निरन्तरता दिएका छन् । माओवादी प्रभाव क्षेत्रमा मगरले ६४३ मतसहित चुनाव जिते । दोस्रो बनेका एमालेका वेगम पुनले ५३५ मत प्राप्त गरे । २०७९ मा भएको निर्वाचनमा कांग्रेसका टंकबहादुर पुनले ४८८ मतसहित निर्वाचित हुँदा एमालेका वेगम पुनले ४८० पाएका थिए ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष पुथाउत्तरगंगा–२ को वडा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिएको थिएन ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१को वडा अध्यक्ष पद भने कांग्रेसले गुमायो । यसअघि कांग्रेसका तिलक राम यादव एक हजार ३२ मतसहित निर्वाचित भएको स्थानमा उपनिर्वाचन भने नेकपा एमालेले जित्यो ।
निर्वाचन आयोगको तथ्यांक अनुसार एमाले उम्मेदवार मोहमद ताहिर मुसलमानले ११५० मत सहित जिते । यता कांग्रेस उम्मेदवार दिनेशकुमार यादव (बब्लु)ले १०७६ मतसहित दोस्रो स्थान हासिल गरे । २०७९ को निर्वाचनमा यहाँ एमाले दोस्रो बनेको थियो । अब्दुल मोजीब खाँले यहाँ ८८९ मत पाएका थिए ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ पनि यसअघि कांग्रेसले जितेको हो । हाल कांग्रेसले यहाँ अमिन थारूलाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा यो वडामा कांग्रेसका सूर्यबहादुर बिष्ट निर्वाचित भएका थिए । बिष्टले एक हजार २०९ मत पाउँदा एमालेका नारायण अधिकारीले ५८० र माओवादी केन्द्रका अमरबहादुर थापाले ४२१ मत पाएका थिए ।
कर्णालीमा गुम्यो गाउँपालिका अध्यक्ष र उपाध्यक्ष
कर्णाली प्रदेश अन्तर्गत पर्ने दैलेखको महाबु गाउँपालिका अध्यक्ष कांग्रेसले गुमाएको छ । यअसघि जितेको चुनाव उपनिर्वाचनबाट भने कांग्रेसले एमालेलाई सुम्पिएको छ ।
निर्वाचन आयोगको अन्तिम नतिजा अनुसार एमाले उम्मेदवार जंग बहादुर शाहीले ३१२७ मत सहित चुनाव जिते । जबकि कांग्रेस उम्मेदवार झलकबहादुर भण्डारीले २६७५ मत मात्र पाए । यहाँ माओवादी उम्मेदवार जंङ्ग बहादुर बराल मगरले ८४२ मत प्राप्त गरे ।
२०७९ को निर्वाचनमा कांग्रेस लछुमन गुरुङ २९७९ ले मतसहित जित हासिल गर्दा एमालेका हरि प्रसाद उपाध्याय २५१९ र एकीकृत समाजवादीका जंगबहादुर शाही २२६८ ले मत पाएका थिए ।
दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ भने कांग्रेसले जितेको वडा हैन । यसपटक पनि कांग्रेसले जित्न सकेन । रेशम बहादुर शाहीले ५७१ मतसहित दोस्रो स्थान हासिल गरेका छन् । यो वडा एमालेले जितेको छ । एमाले उम्मेदवार लालबहादुर शाही ५७४ मतसहित विजयी बन्दा माओवादीका ढकेन्द्र बहादुर शाहीले २७८ मत प्राप्त गरे ।
गएको निर्वाचन यहाँ एमालेका बिर्ख बहादुर शाही ८२२ मतसहित जित निकाल्दा‚ माओवादीका डम्बर बहादुर शाही ७७३‚ एकीकृत समाजवादीका भीम प्रसाद शर्मा ३६ मत पाएका थिए ।
कर्णाली प्रदेश अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख कांग्रेसले गुमाएको छ । यसअघि जितेको उपप्रमुख पद उपनिर्वाचनबाट कांग्रेसले गुमाएको हो । यहाँ एमाले उम्मेदवार देवका लामिछानेले ४२७२ मतसहित चुनाव जितिन् । कांग्रेस उम्मेदवार इन्द्रा चन्द (सिंह)ले मात्र ३१४७ मतसहित दोस्रो बनिन् । यसअघि कांग्रेसबाट उम्मेदवार बनेकी सरिता सिंह ५४०६ मतसहित विजयी हुँदा एमालेकी सुनिता बोहरा ३३९३ मत पाएकी थिइन् ।
गएको निर्वाचनमा हारेको कुशे गाउँपालिका वडा नम्बर ७ भने कांग्रेसले जितेको छ । जाजरकोट उक्त गाउँपालिका कांग्रेसका खम्ब बहादुर सिंहले ३४७ मत सहित चुनाव जितेका हुन् । यहाँ कांग्रेसले माओवादीबाट वडा खोसेको हो । दोस्रो बनेको माओवादीका गोरख बहादुर नेपालीले ३३२ मत प्राप्त गर्दा एमाले उम्मेदवार डम्बर बहादुर घर्तीले २५२ मत पाए । २०७९ को निर्वाचनमा माओवादीका मनबहादुर घर्ती ३८० मतसहित विजयी भएका थिए । यहाँ कांग्रसका खम्बबहादुर सिंह ३१८ मत सहित दोस्रो भएका थिए । यसपटक उपनिर्वाचनका लागि पार्टीले उनै सिंहलाई टिकट दिएको थियो ।
कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ पनि कांग्रेसले जित्न सकेन । गएको निर्वाचनमा ३ मत पाएको कांग्रेसले यो उपनिर्वाचनमा ४९ मत पायो । कांग्रेसबाट पैल बहादुर शाही उम्मेदवार थिए । यहाँ नेमकिपाका खड्ग राज शाहीले १४३ मत सहित चुनाव जिते । २०७९ मा भएको निर्वाचन यहाँ माओवादीले जितेको थियो ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा कांग्रेस तेस्रो स्थानमा आएको छ । १६१ मतसहित माओवादीका नरबहादुर झाँक्रीले चुनाव जित्दा तेस्रो बनेको कांग्रेस उम्मेदवार कांग्रेसका राजेन्द्र प्रसाद न्यौपानेले २१ मत पाए ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसले मोतिराम खत्रीले चुनाव जितेका छन् । उनले ५९० मतसहित चुनाव जितेका हुन् । माओवादीका जसीराम बस्नेत ५३७ मतसहित दोस्रो स्थानमा रहे । यसअघि पनि यहाँ कांग्रेसका अल बहादुर खत्रीले ४६२ मतसहित चुनाव जितेका थिए । जबकि २०७९ को निर्वाचनमा दोस्रो बनेका माओवादी केन्द्रका तीर्थ बहादुर खत्री ४३४ मत पाएका थिए ।
कर्णाली प्रदेश अन्तर्गत सर्केगाड गाउँपालिका हुम्लाको मतपरिणाम आइसकेको छैन ।
देउवाको गृह प्रदेश: गाउँपालिका गुम्यो‚ थपियो वडा
पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ कांग्रेसलेनै जित्यो । पार्टीबाट उम्मेदवार बनेका प्रकाश चन्द ११०७ मत सहित विजयी भए । जबकि यहाँ एमाले उम्मेदवार दोस्रो स्थानमा रहँदै बहादुर चन्दले ४८७ मत प्राप्त गरे । २०७९ को निर्वाचनमा यहाँ कांग्रेसका महेन्द्र खड्का ११०२ मतसहित निर्वाचित हुँदा एमालेका जनकराज अवस्थीले ६९८ मतमात्र पाएका थिए ।
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष कांग्रेसले जितेको छ । पार्टीबाट धनसिंह कुँवरले चुनाव लड्दै ३७६ मत प्राप्त गरे । यस्तै दोस्रो बनेको एमाले उम्मेदवार मानसिंह बडालले ३५८ मत प्राप्त गरेका छन् । माओवादी उम्मेदवार वीर सिंह कार्कीले ९८ मत प्राप्त गरे ।
यसअघि ०७९ को निर्वाचनमा यहाँ कांग्रेस र माओवादी केन्द्रबिच तालमेल भएको थियो । त्यतिबेला माओवादी केन्द्रका मनोरथ भट्ट ५८२ मतसहित निर्वाचित हुँदा एमालेका मानसिंह बडालले ३०२ मत पाएका थिए ।
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदमा कांग्रेसबाटै मोहन थापा विजयी भएका छन् । उनले ४६८ मतसहति चुनाव जितेका हुन् । दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार देब बहादुर थापाले ३०१ मत पाए । २०७९ को निर्वाचनमा यहाँ कांग्रेसकै पुष्पराज जोशी ५१३ मतसहित निर्वाचित हुँदा एमालेका देवबहादुर भण्डारीले ३८७ र माओवादी केन्द्रका टंकबहादुर नेपालीले ४९ मत पाएका थिए ।
बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्ष एमालेबाट कांग्रेसले खोसेको छ । उपनिर्वाचनबाट वडामा कांग्रेस उम्मेदवार धीरेन्द्र पुजाराले ६५७ मतसहित चुनाव जिते । दोस्रो बनेका एमालेका लखिचन्द्र बोहराले ४८७ मत पाए । २०७९ को निर्वाचनमा यहाँ एमालेका सर्जन बहादुर बोहरा ६२९ मतसहित निर्वाचित भएका थिए । दोस्रोमा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष भने कांग्रेसले गुमाएको छ । यहाँ एमाले उम्मेदवार सुलोचना कुमारी भण्डारीले १७४० मतसहित चुनाव जितिन् । कांग्रेस उम्मेदवार पुत्लीसरा शाहीले १४७४ मत प्राप्त गरिन् । यसअघि भएको निर्वाचनमा कांग्रेसकी मैना जोशी विजयी भएकी थिइन् । जोशीले एक हजार ८१० मतसहित निर्वाचित हुँदा एमाले उम्मेदवारले एक हजार ६३७, माओवादीका सुरेश बहादुर रोकायाले एक हजार २१३ मत पाएका थिए ।