दुर्घटना रोक्न ट्राफिक चेकिङ, तर चेकिङले नै गरायो दुर्घटना
काठमाडौँ । ललितपुर महानगरपालिका–१५ चक्रपथ सड्क स्थित बीएण्डबी अस्पताल नजिकै ट्राफिकको तीव्र गति चेकिङमा रोक्न खोज्दा प्रत्युश थापाले चलाएको मोटरसाइकल नियन्त्रणमा आएन । अनियन्त्रित भएर प्रदेश–३–०२–००५ प २६४२ नम्बरको आर–१५ यमाहा मोटरसाइकल रेलिङमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार स्नेहा बस्यालले ज्यान गुमाइन् । मङ्सिर १४ को मध्यान्हमा भएको सो दुर्घटना ट्राफिकको तीव्र गति चेकिङको कारण भएको भनेर आलोचना भइरहेको छ ।
प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–४ घर भएका प्रत्युशले ९९ किलोमिटर प्रतिघण्टाको स्पिडमा चलाएका थिए । उनीहरू सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदा दुर्घटनामा परेका हुन् । चालकका आफन्तले मृतकका परिवारलाई ७ लाख दिने गरी सहमति गरेका छन् ।
कलंकीबाट ग्वार्को हुँदै भक्तपुरतर्फको ६ लेनको सडकमा ट्राफिक प्रहरीले राडार गनमार्फत तीव्र गति चेकजाँच गर्ने गरेको छ । कलंकी–भक्तपुर सडक खण्डमा प्रतिघण्टा ५० किलोमिटर भन्दा धेरै गतिमा सवारी साधन कुदाउन पाइँदैन ।
कलंकी–भक्तपुर सडक खण्डमा ट्राफिक प्रहरीले राडार गनमार्फत स्पिड जाँच गर्दै आएको छ । राडार गन लिएका ट्राफिक प्रहरीहरु धेरैजसो पुलमाथि बस्छन् र तीव्र गतिमा हिँडेकाहरूलाई रोकेर कारबाही गर्न अर्को टिमलाई सञ्चार सेटमार्फत भन्छन् ।
२०६९ सालमा सल्लाघारीमा तीव्र गतिको मोटरसाइकललाई दुई हात फैलाएर रोक्न खोज्दा ट्राफिक प्रहरीसहित ३ जनाले ज्यान गुमाए । गणेश राई तत्कालीन महानगरीय ट्राफिक महाशाखाको प्रमुख हुँदा भएको सो घटनापछि ट्राफिक प्रहरीले तीव्र गतिमा हुइँकिने सवारीलाई कारबाही गर्ने तरिकामा कुनै परिवर्तन गरेको छैन ।
ट्राफिक व्यवस्थापनमा लामो समय काम गरेर अवकाश पाएका एकजना पूर्वअधिकृत भन्छन्, ‘तीव्र गतिमा हुइँकिने सवारीलाई व्यस्त चोकमा पुगेपछि मात्र रोक्ने वा ‘एएनपीआर’ क्यामेराको रेकर्ड हेरेर कारबाही गर्न सकिन्छ । तर, ट्राफिकले पुरानै शैलीमा काम गर्दा थप दुर्घटना हुने गरेको छ ।’
कलंकी, धोबीघाट, सानेपा, ग्वार्को र भक्तपुरका विभिन्न ठाउँमा राडार गनमार्फत तीव्र गति जाँच गरिन्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ‘एएनपीआर’ क्यामेराले डिटेक्ट गरेको दृश्य हेरेर पनि तीव्र गतिमा हुइँकिने सवारीलाई ट्राफिकले कारबाही गर्दै आएको छ । तर, ट्राफिकको कारबाही गर्ने पुरानो शैली जोखिमपूर्ण रहेको जानकारहरू बताउँछन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गति कारबाहीलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ । मङ्सिर १५ बाट अभियानकै रूपमा कारबाही गर्न थालिएको महाशाखाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
(स्रोत: उपत्यका ट्राफिक प्रहरी कार्यालय)
आर्थिक वर्ष २०७९/०८० मा ५८ हजार ७०२ वटा सवारी तीव्र गति कारबाहीमा परेका थिए । २०८०/०८१ मा कारबाही सङ्ख्या अत्यधिक वृद्धि भएको छ । त्यसवर्ष १ लाख ३७ हजार २५० सवारी साधन कारबाहीमा परे । २०८१ साउनयता कार्तिक मसान्त सम्ममा २५ हजार ७२० वटा सवारीसाधनमाथि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
केही दिनअघि मात्र तीव्र गतिमा हुइँकिएको स्कोर्पियोलाई रोक्न खोज्दा सिरहामा सशस्त्र प्रहरीका असईले ज्यान गुमाए । मङ्सिर १६ मा नेपाल भारत सीमास्थित बडीयारपट्टी–१ मा तस्करीको मदिरा बोकेको स्कोर्पियोले ठक्कर दिँदा लक्ष्मण प्रसाद यादवले ज्यान गुमाएका हुन् ।
- सुरक्षा सतर्कता अपनाएका छौँ : डीआईजी बोहरा
भक्तपुरको गठ्ठाघरमा साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइरालाले ज्यान गुमाएका थिए ।
ट्राफिक प्रहरीले अवैज्ञानिक तरिकाले चेकजाँच गरेको कारण दुर्घटना भएको भनेर नागरिकस्तरबाट आलोचना भएपछि उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भक्तपुरले दुईवटा छुट्टाछुट्टै छानबिन समिति गठन गरेको थियो । एसपी प्रजित केसी र भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको समितिले ट्राफिकको गल्ती नदेखिएको रिपोर्ट बुझाए । तर, घटनास्थलमा ट्राफिकको उपस्थित रहेको र यसअघि पनि सो ठाउँमा लुकेर जाँच गर्ने गरेको भन्दै ट्राफिक प्रहरीको चर्को आलोचना भएको थियो ।
दुर्घटनास्थलमा ट्राफिक प्रहरीले स्कुटर वा ट्रक रोकेको नदेखिएको सीसीटिभी फुटेज सार्वजनिक गरेर ट्राफिक प्रहरीले विरोधको स्वर मत्थर बनाएको थियो ।
तीव्र गति चेकजाँच गर्दा सुरक्षा सतर्कता अपनाएरै गर्ने गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख (डीआईजी) भरत बोहराले दाबी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘ग्वार्कोमा चेकजाँच भइरहेको बोर्ड राखेर नै गरिएको छ ।’
दुर्घटना न्यूनीकरण गर्न तीव्र गतिमा हुइँकिने सवारीलाई कडाइ गरिएको उल्लेख गर्दै बोहराले भने, ‘राडार गनमार्फत चेकजाँच गर्ने ठाउँभन्दा केही मिटर पर बोर्ड राख्ने गरिएको छ, यात्रुको सुरक्षाप्रति हामी सचेत छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा एमाले बन्यो तेस्रो, कांग्रेसका डंगोलले जित्दा कसले कति मत पाए ? (नतिजासहित)
-
प्रहरीका ४५५ हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा गर्न सिफारिस
-
सरकारले जलविद्युत आयोजनामा जनतालाई शेयर दिने
-
कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
-
पोखरा आइटिएफ टेनिस प्रतियोगिता सुरु
-
कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, एमालेलाई माओवादीले उछिन्यो