जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्सलाई आठ विकेटले हरायो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हासिल गरेको छ । जनकपुर बोल्ट्सले सोमबार सम्पन्न खेलमा कर्णाली याक्सलाई आठ विकेटको फराकिलो अन्तरले हरायो ।
दोस्रो खेल खेलेको जनकपुर बोल्ट्सले यसअघि प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सलाई पनि आठ विकेटले नै हराएको थियो । कर्णाली याक्सले भने आफ्नो पहिलो खेलमै हार ब्यहोरेको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको कर्णाली याक्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सले १५.१ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
जनकपुर बोल्ट्सको जितमा कप्तान अनिलकुमार साह र मार्की खेलाडी आसिफ शेखले महत्वपूर्ण योगदान गरे । यी दुबैले आपनिङ विकेटका लागि ८४ रनको साझेदारी गरे । कप्तान अनिलले अविजित ६२ रन बनाए ।
अनिलले केवल ४२ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए । अनिलले केवल ३५ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनले छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए । जारी एनपीएलमा बनेको यो तेस्रो अर्धशतक हो ।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा दुईवटा अर्धशतक बनेको थियो । त्यो खेलमा विराटनगर किङ्सका मार्टिन गप्टिलले ५५ रन बनाएका थिए । त्यो खेलमा जनकपुर बोल्ट्सका लागि पनि लाहिरु मिलनथाले अविजित ७५ रन बनाएका थिए ।
अर्का ओपनर आसिफ शेखले पनि टोलीका लागि ३६ रनको योगदान गरे । उनले केवल २९ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काए । जनकपुर बोल्ट्सको ओपनिङ जोडी ९.४ ओभरसम्म क्रिजमा टिकेको थियो । उनलाई कर्णाली याक्सका बलर मौसम ढकालले देव खनालद्वारा क्याच गराएका थिए ।
जनकपुर बोल्ट्सले दोस्रो विकेटका रुपमा लाहिरु मिलनथालाई गुमाएको थियो । उनी १३ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २४ रन बनाउँदै आउट भए । विकेटकिपर ब्याट्सम्यान मिलनथालाई कर्णाली याक्सका बलर जिसन मक्सुदले एलबीडब्लूको धरापमा पारेका थिए ।
जनकपुर बोल्ट्सका लागि चौथो नम्बरमा क्रिज समाल्न आएका जेम्स निसामले पनि अविजित १८ रनको योगदान गरे । उनले केवल आठ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए । कर्णाली याक्सका बलर मौसम ढकाल र जिसन मक्सुदले एक–एक विकेट लिए ।
त्यसअघि, कर्णाली याक्सका लागि गुल्सन झाले सर्वाधिक ३६ रनको योगदान गरेका थिए । राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यसमेत रहेका गुल्सनले टोली अप्ठ्यारो स्थितिमा रहँदा जिम्मेबारीपूर्ण ब्याटिङ गरेका थिए । उनले २७ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए ।
उनी छैटौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनले बाबर हायातसँग ३३ रनको साझेदारी गरेका थिए । १८ वर्षीय गुल्सन झालाई जनकपुर बोल्ट्सका तिब्रगतिका बलर किशोर महतोले बोल्ड गरेका थिए ।
सातौँ नम्बरमा क्रिज समाल्न आएका अर्जुन घर्तीले पनि ३३ रनको योगदान गरेका थिए । उनले केवल २२ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काएका थिए । उनले थाकेरलाई एउटै ओभरमा लगातार दुई छक्का र दुई चौका हिर्काएका थिए ।
उनी सातौँ विकेटका रुपमा रनआउट भई पेभेलियन फर्किएका थिए । अर्जुन र कप्तान सोमपाल कामीले टोलीको स्कोरलाई ७९ रनको स्थितिबाट अगाडि बढाउँदै एक सय ३५ रनको बलियो स्थितिसम्म पु¥याएका थिए ।
कप्तान सोमपाल कामी २९ रनमा अविजित रहे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल १३ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काएका थिए । प्रभावशाली ब्याट्सम्यान शिखर धवनले पनि टोलीका लागि १४ रनको योगदान गरे । भारतका चर्चित पूर्वखेलाडी धवन ओपनर ब्याट्सम्यानका रुपमा क्रिज समाल्न आएका थिए । धवनले १४ बलको सामना गरी तीनवटा चौका पनि हिर्काए ।
३९औँ वर्ष प्रवेशको सँघारमा रहेका धवनलाई जनकपुर बोल्ट्सका बलर हर्ष थाकेरले बोल्ड गरे । २७ वर्षीय हर्ष थाकरे क्यानडाका खेलाडी हुन् । ४.२ ओभरमा धवन आउट हुँदा कर्णाली याक्सले दुई विकेट गुमाएर २१ रन बनाएको थियो ।
कर्णाली याक्सको पहिलो विकेटका रुपमा देब खनाल पेभेलियन फर्किएका थिए । उनी केवल एक रनको ब्यक्तिगत स्कोरमा ललित राजवंशीको बलमा बोल्ड भएका थिए । कर्णाली याक्सले तेस्रो विकेटका रुपमा चाडविक वाल्टनलाई गुमाएको थियो ।
वेस्ट इन्डिजका ३९ वर्षीय विकेटकिपर ब्याट्सम्यान वाल्टनले १२ बलमा एक चौकाको मद्दतले आठ रन बनाए । वाल्टनलाई मोहम्मद मोहसिनले एलबीडब्लूको धरापमा पारेका थिए । कर्णाली याक्सले चौथो विकेटका रुपमा जिसन मक्सुदलाई गुमाएको थियो ।
ओमानका ३७ वर्षीय मक्सुदले खातासम्म खोल्न सकेनन् । मक्सुदलाई जनकपुर बोल्ट्सका बलर जेम्स निसामले एलबीडब्लूको धरापमा पारेका थिए । ३४ वर्षीय जेम्स निसाम न्युजिल्यान्डका प्रभावशाली अलराउन्डर खेलाडी हुन् ।
कर्णाली याक्सले पाँचौँ विकेटका रुपमा बाबर हायातलाई गुमाएको थियो । उनी २५ बलमा १२ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । चौथो नम्बरमा क्रिज समाल्न आएका हङ्कङका हायातलाई मोहम्मद मोहसिनले निसामद्वारा क्याच गराए ।
कर्णाली याक्सले अतिरिक्त रुपमा आठ रन पाएको थियो । जनकपुर बोल्ट्सका बलर मोहम्मद मोहसिनले दुई विकेट लिए । किशोर महतो, ललित राजवंशी, हर्ष थाकेर र जेम्स निसामले पनि एक–एक विकेट हात पारे ।
NPL - Nepal Premier League 2024
विस्तृत विवरणखेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले भन्यो– मतदाताहरूमा वितृष्णा तथा निराशा देखियो
-
प्रधानमन्त्री ओली बेइजिङमा, उपमन्त्री सुनले गरे स्वागत
-
पाटन क्याम्पसमा योग्यता पुगेका ३० जनाको नाम काटेर ‘खल्ती’बाट विद्यार्थी भर्ना
-
तार्केश्वर मेयर रनिङ सिल्ड मंगलबारदेखि
-
भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योति च्याम्पियन
-
हुम्लाको सर्केगाड गाउँपालिकाको मतगणना : कसले कति मत ल्याए ?