सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्थानीय तह उपनिर्वाचन

उपनिर्वाचनको परिणामबाट माओवादी उत्साहित

प्रचण्डले भने– पूर्वबाट ०६४ फर्कियो
सोमबार, १७ मङ्सिर २०८१, १६ : ००
सोमबार, १७ मङ्सिर २०८१

विराटनगर । मंसिर १६ (आइतबार) भएको उपनिर्वाचन अन्तर्गत धेरै स्थानको मतपरिणाम आइसकेको छ । केही स्थानको आउन बाँकी छ ।

४१ स्थानमा भएको उपनिर्वाचनमा कांग्रेस–एमाले नै प्रतिस्पर्धी हुने ठानिरहेको बेला माओवादी केन्द्र पनि सशक्त ढंगले आएको देखिन्छ । कतिपय स्थानमा पराजय व्यहोरेको भए पनि एमाले र कांग्रेसले जितेका कतिपय स्थानमा माओवादीले आफ्नो विजयको झण्डा फहराएको छ । यो परिणामले ०६४ साल दोहोरिने भन्दै माओवादी वृत्तमा खुसीयाली छाएको छ ।

२०७९ सालको निर्वाचनमा कांग्रेसले सानदार ढङ्गले जितेको मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनबाट परिणाम उल्ट्याएपछि माओवादी अध्यक्ष प्रचण्डले पूर्वबाट ०६४ साल फर्किएको बताएका छन् ।

आफ्ना पार्टीका उम्मेदवार नमोनारायण माझी कांग्रेसभन्दा १६३६ मतको अन्तरले विजयी भएपछि उत्साहित भएका प्रचण्डले यस्तो बताएका हुन् । जबकि उक्त पालिकामा ०७९ सालको निर्वाचनमा माओवादी तेस्रो स्थानमा रहे पनि मत निकै कमजोर थियो ।

उपनिर्वाचनको मतपरिणाम अनुसार माओवादीले ६ हजार ९६९ मत ल्याउँदा कांग्रेसले ५ हजार ३३३ मत ल्याएको छ भने एमालेले भने ४ हजार १५९ मतमात्रै ल्याउन सफल भयो । जबकि २०७९ को निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मत ल्याएर विजयी हुँदा एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मतमात्रै ल्याएका थिए ।

अहिलेको मतपरिणाममा भने धेरै उलटफेर देखियो र तेस्रोबाट माओवादी एकैपटक सानदार ढंगले पहिलो स्थानमा आइपुग्यो ।

जनताको अपार समर्थन र पार्टीका उम्मेदवार सफल भएपछि हौसिएका प्रचण्डले ०६४ साल फर्किएको दाबी गरेका हुन् । ‘अध्यक्षले बधाइ दिनुभयो । ०६४ पूर्वबाट फर्कियो भन्नुभएको छ,’ प्रचण्डसँगको टेलिफोन कुराकानीपछि सो क्षेत्रका सांसद अमनलाल मोदीले भने, ‘जनता कसैको ठेक्का होइन । यो कुरा कांग्रेस–एमालेले पनि बुझ्नु पर्छ ।’

कांग्रेसका महामन्त्री गगन थापादेखि एमालेका शेरधन राईसम्म आएर आफूहरूलाई चुनौती दिएको स्मरण गर्दै मोदीले भने, ‘म उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु । जनता परिवर्तनशील छ । जनताले विकास, समृद्धि र सुशासनयुक्त समाज चाहन्छ । त्यसका लागि जनताको मनोभावना अनुसार अगाडि बढ्ने जनप्रतिनिधि चाहिन्छ ।’

उनले जनताभन्दा ठुलो कोही नभएको भन्दै जनतामा जान माओवादीका नेता तथा कार्यकर्तालाई अपिल पनि गरे ।

‘जनताभन्दा ठुलो कुरा अरु हुन सक्दैन । हाम्रो पार्टीका सबै साथीहरूलाई भन्छु, जनतामा जाऔँ । माओवादी फर्किन्छ । प्रचण्ड नेतृत्वमा हाम्रो सरकार हुँदा सुशासनको पक्षमा हामीले काम गरेका थियौँ । त्यसकारण जनताले बिस्तारै बुझ्दैछन् । यो त्यसकै नतिजा हो,’ मोदीले भने ।

कांग्रेस र एमालेले जहिले पनि माओवादीलाई जोगाएको कुरा गर्दै आएको जिकिर गर्दै मोदीले ती दुवै पार्टीलाई माओवादीले सधैँ ठुलो पार्टी बनाइनराख्ने प्रस्ट पारे ।

‘उहाँहरू हामीलाई जोगाएको कुरा गर्नुहुन्छ । तर, यो सत्य होइन । हामीले एक पटक एमालेलाई ठुलो बनाइदियौँ । अर्को पटक कांग्रेसलाई ठुलो बनायौँ । अब ०८४ सालको निर्वाचनबाट माओवादी आफैँ ठुलो हुनेगरी लाग्छ ।’

माओवादीले पाएको अहिलेको मतपरिणामले उक्त पार्टीको पुनरागमन हुने, कांग्रेस र एमालेले निर्माण गर्न खोजेको भाष्यलाई चिर्ने राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल बताउँछन् ।

‘माओवादी अब सकियो भन्ने खालको एउटा भाष्य कांग्रेस र एमालेले बनाउन खोजेका थिए । तर, यो निर्वाचनले त्यो भाष्यलाई चिरेको छ । पूर्वमा आउँदा मोरङको सचेत ठाउँको गाउँपालिका नै कांग्रेसबाट खोसेर माओवादीले जित्यो,’ पोखरेलले भने, ‘एमाले मतमा निकै तल रहेर तेस्रो भयो ।’

माओवादीले पहाड, तराई, आफ्नो गढ, अर्काको गढ गरी सबैतिर जितेका कारण माओवादीलाई सकिएको शक्ति हो भन्ने खालको भाष्यलाई चिरेको पोखरेल बताउँछन् ।

०८४ सालसम्म माओवादी सत्ताको खेलमा नलाग्ने र पार्टी एकढिक्का बनाउने हो भने सशक्त शक्तिको रूपमा अगाडि आउने उनको विश्लेषण छ । ‘माओवादीले ०८४ सालसम्म सत्ताको खेलमा नलागेर जनताकै बिचमा गएर अझ गहन ढंगले काम गर्ने, अन्य माओवादी शक्तिसँग एकताको प्रयास गरेर अगाडि गयो भने त्यो एउटा सशक्त शक्तिको रूपमा यसको पुनरागमन हुनसक्ने संकेत देखायो,’ पोखरेलले भने ।

प्रचण्डले ०६४ साल फर्काउँछु भनेर एउटा उद्देश्य लिएको, कार्यकर्तामा विश्वास भरेको जिकिर गर्दै पोखरेलले ०६४ मै नपुगे पनि एउटा बलियो शक्तिको रूपमा उदय हुनसक्ने सम्भावना औँल्याए ।

ग्रामथान उपनिर्वाचनमा विजयी भएका नमोनारायण माझीले आफू जनताको सेवामा निरन्तर लाग्ने बताए । आफ्नो जित हुनमा माओवादी अध्यक्ष प्रचण्ड, सांसद अमनलाल मोदी, नेता विजय विश्वाससहितको ठुलो हात रहेको उनको भनाइ छ ।

आफूलाई जिताउन सिङ्गो पार्टी पंक्तिले सहयोग गरेको भन्दै माझीले आगामी दिनमा पार्टीको एजेण्डालाई कार्यान्वयन गरेर जाने बताए । ‘कांग्रेस र एमालेका साथीहरूसँग जनतासँग राख्ने एजेण्डा नयाँ केही थिएन । पुरानै थियो । उहाँहरूले मलाई गाली गलौजमात्रै गरिरहनु भएको थियो । तर, मैले उहाँहरूलाई कहिल्यै गाली गरिनँ,’ उनले भने, ‘मैले अब जनताको र पार्टीका एजेण्डा कार्यान्वयन गर्ने हो ।’

आफूले जाहेर गरेका प्रतिबद्धता अनुसार काम गर्ने माझीको भनाइ छ । ‘मेरोलागि दुई वर्ष धेरै समय हो । ५–६ महिनाभित्रमा ग्रामथानवासीलाई यहाँ पनि सरकार छ भन्ने अनुभूति दिलाउन सक्छु भन्ने लागेको छ,’ उनले भने, ‘सबैसँग समन्वय गरेर ग्रामथानको विकास र समृद्धिमा लाग्ने छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप