संघीय मन्त्री यादव सहभागी कार्यक्रममा कर्णालीका मन्त्री र सचिव उपस्थित भएनन्
सुर्खेत । सोमबार बिहानैदेखि वीरेन्द्रनगरको होटल सिद्धार्थमा कर्णाली प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका जीर्ण र पुराना पूर्वाधारहरुको दिगो व्यवस्थापन एवं स्तरोन्नति गर्ने उद्देश्यले ‘ग्रामीण खानेपानी सेवा सहायता केन्द्र’सञ्चालन कार्यक्रम भयो ।
संघीय सरकार अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतको आयोजना, प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको सहआयोजनामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण ‘सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना आयोजना सहयोग कार्यालय वीरेन्द्रनगर’ गरेको थियो ।
‘मर्मत र सुचारुपना सबैको ध्यान, खानेपानीको दिगो समाधान’ भन्ने नाराका साथ कर्णालीमै लागु गर्ने कार्यक्रममा प्रदेश सरकारका जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा र उक्त मन्त्रालयका सचिवनै सहभागी भएनन् । कार्यक्रममा सहभागीका लागि सचिव र मन्त्रीलाई खबर पनि भएको थियो ।
कार्यक्रममा केन्द्रीय खानेपानीमन्त्री प्रदीप यादवसहितको टोली कार्यक्रममा उपस्थित छ । साथै स्थानीय तहका प्रमुख, सम्बन्धित विभिन्न निकायका अधिकारीहरू कार्यक्रम सहभागी थिए । कार्यक्रममा प्रदेशको मन्त्री र सचिव नै उपस्थित नभएपछि संघीय खानेपानीमन्त्री यादवले मञ्चमै गुनासो गरे ।
उनले भने, ‘यो प्रदेश मेरो मनले, दिलले माया गर्ने प्रदेश हो, म मन्त्री नबन्दै यहाँ आउँदा पटक–पटक कणालीको मुद्दा उठाएको छु, आज म मन्त्रीको रूपमा यहाँ कर्णाली आएको छु । स्वाथ्यमन्त्री हुँदा जुम्लाको प्रतिष्ठानका लागि सहयोग राम्रै गरेको हुँ । यहाँको खानेपानीको पक्षमा म लाग्ने छु । तर यो कार्यक्रममा जुन प्रकारले प्रदेशका साथीहरू हुनुपर्थ्यो, त्यो पाइन् ।’
कर्णालीका अधिकांश नागरिकहरूले दूषित पानी खाइरहेका छन् । त्यसको सुधारका लागि कार्यक्रम ल्याएर आउँदा कमसेकम प्रदेशको खानेपानी हेर्ने मन्त्री उपस्थित हुनुपर्ने भएपनि नभएको भन्दै यादवले गुनासो गरे ।
‘मन्त्री देखिन, बिरामी हुनुहुन्छ भने सचिवजी आउनुपर्थ्यो, सचिव पनि आउनुभएन, मन्त्री बिराम भए सचिव बिरामी हुन जरुरी थिएन नि,’ उनले भने, ‘त्यसैले लापरबाही भएर मुलुक बन्दैन । मुलुक बनाउनको निमित्त हामी एक हुनुपर्छ । मैले पहिला पनि भने म संघीयताको लागि लडेको व्यक्ति हुँ । तर आज मलाई खल्लो महसुस भयो ।’
आफू कर्णाली र नागरिकको खानेपानीका लागि काम गर्न आएको उनले बताए । आफू केही लिन नआएको तर केही दिन आएको भन्दै उनले मन्त्री र सचिव नहुँदा खल्लो महसुस भएको बताए । ‘मैले मनले मानेको माया गरेको कर्णालीमा, यहाँ खल्लो महसुस भयो,’ उनले भने । तीन तहको सरकार छ, तर काम गर्ने कुरामा एकता नहुँदा समस्या भएको उनको भनाइ छ ।
अरुबेला पार्टीका नेताहरू समेत आउँदा स्वागत गर्न विमानस्थल पुग्ने मन्त्रीहरू किन कार्यक्रममा आएन ? भन्ने विषयमा कार्यक्रमस्थलमा बहसनै भयो ।
कार्यक्रममा सहभागी एक अधिकारीले भने, ‘एमाले, कांग्रेसको मन्त्री भए दौडेर आउँथे, उहाँ जसपाको मान्छे हुनुभयो, टेरेनन् । तर उहाँ मन्त्री हो, कर्णालीमै यतिठुलो कार्यक्रम ल्याएर आउनुभयो । यो त अपमान हो ।’
प्रदेशको जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढाका स्वकीय सचिव नवराज भण्डारीले मन्त्रीको स्वास्थ्यमा समस्या भएकाले काठमाडौँ रहेको बताए । ‘सचिवको विषय त थाह भएन, मन्त्रीज्यू बिरामी भएर काठमाडौँ हुनुहुन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समिति सभापतिहरूको दाबी : समितिमा रहेका सबै विधेयक यसै अधिवेशनमा संसद् लैजान्छौँ
-
प्रस्तावनाबाट गृहले हटाएको ‘अपराध अनुसन्धान’ मन्त्रिपरिषद्बाट थप
-
सर्भरमा समस्या देखिएपछि अखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता समय थपियो
-
आईजीपी नियुक्ति गर्न विधेयकले राखेको ६ आधार
-
कर फर्स्योट विवाद : चुडामणी शर्माको भ्रष्टाचार मुद्दामा सातौँ पटक ‘अन्य आदेश’
-
रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन