कारबाहीको चेतावनी पश्चात् ठेकेदार–राज्यमन्त्रीको कम्पनी सम्पर्कमा, थाल्यो काम
सुर्खेत । पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि अन्तिम पटक कारबाहीको चेतावनी पश्चात ठेकेदार तथा संघीय सरकारका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ उर्फ कान्छारामको निर्माण कम्पनी कर्णाली सरकारको सम्पर्कमा आएको छ ।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले १५ वटा सडकको काम अलपत्र पारेर असार महिनादेखि सम्पर्कविहीन भएको भन्दै कात्तिक २९ गते सूचना प्रकाशित गरेको थियो ।
सूचनालाई बेवास्ता गरी कार्य सम्पन्न नगरेको खण्डमा कारबाही गर्ने चेतावनी दिइएको थियो । त्यस पश्चात् तामाङको ‘कान्छाराम कन्स्ट्रक्सन’ सम्पर्कमा आएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताए ।
‘ठेकदारहरूका कारण हामीले गाली खानु परेको अवस्था छ, झन् मुख्यमन्त्री कै कार्यालय अगाडि गेटको बाटो अलपत्र छ भन्दै आलोचना भइरहेको छ,’ उनले भने, ‘अहिले हामीले काम नगर्ने ठेकेदारलाई कारबाहीको चिठी जारी गरेपछि सम्पर्कमा आएछन् । ती साथी सिंहदरबारको राज्यमन्त्री पनि रहेछन् ।’
अब काम नगरेर अलपत्र पार्ने ठेकदारविरुद्ध प्रदेश सरकार निर्मम भएर लाग्ने मुख्यमन्त्री कँडेलको भनाइ छ । मैले ठेकेदार साथीहरूलाई भनेको छु, सके पुरस्कार लिने गरी काम गर्नुहोस्, नभए कारबाही गरिने छ ।’
राज्यमन्त्री साथीको कम्पनीले चेतावनीपछि आफ्नो कार्यालय अगाडि बालुवा ल्याएर थुपारिरहेको मुख्यमन्त्री कँडेलले बताए ।
उक्त सडक हेर्ने पूर्वाधार विकास निर्देशनालयका इञ्जिनियर प्रेमचन्द्र पाण्डेले कारबाहीको चेतावनी पश्चात् कम्पनी आएर काम थालेको बताए । उक्त कम्पनीले जिल्ला अदालत–मुख्यमन्त्री कार्यालय–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय जोड्ने सडकसहित राजधानीका १५ सडक अलपत्र पारेको हो ।
मुख्यमन्त्री कार्यालय गेटको सडक जम्मा ६३५ मिटरको मात्रै छ । उक्त सडकको अहिलेसम्म नाला, २०० मिटर बेस राख्ने काम भएको छ भने ३५० मिटर ग्राभेल गरिएको छ ।
डिभिजन वन कार्यालय अगाडिको १८१ मिटरको सडकको नाला र सब बेसको काममात्रै भएको छ । बेस राख्ने र कालोपत्रे गर्ने काम पूरै बाँकी छ । इञ्जिनियर पाण्डेका अनुसार खारखोली–टेलिकम जोड्ने २२५ मिटरको सडकको बेस राखेर कालोपत्रे गर्ने काम अहिलेसम्म सुरु भएको छैन ।
यस्तै खारखोली हटलाइन अन्तर्गतको ३३४ मिटर सडकको पनि बेस राखेर कालोपर्ने गर्ने काम पूरै बाँकी छ । इत्रामखोलादेखि जिल्ला प्रहरी कार्यालय अगाडि जोड्ने ४०० मिटरको सडकको दायाँतर्फ २०७ मिटर र बायाँतर्फ २९७ मिटर नालाको काममात्रै भएको छ ।
पूर्वाधार विकास निर्देशनालय अगाडिको २४० मिटर सडकको पनि बेस राखेर कालोपत्रे गर्न बाँकी छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अगाडिको २२० मिटर सडकको नालाको काम पनि पूरा भएको छैन ।
बस्नेत नर्सरीदेखि पुरानो वडा कार्यालय जोड्ने ६३० मिटरको सडक, डीआईजी चोकदेखि खारखोली जोड्ने १११ मिटरको सडक, कालिन्चोक–मिलनचोक जोड्ने ३८८ मिटर सडकको बेस रोखर कालोपत्रे गर्न बाँकी छ । कुनै सडकको नाला बिचमै अलपत्र छ ।
यस्तै खजुरा भित्री मोडेल कलेजदेखि उत्तर पश्चिम जोड्ने ७३० मिटर सडकको रङरोगन गर्ने काम बाँकी छ भने गण्डकी लाइन अन्तर्गत मुख्य बजारभित्रको १२० मिटर सडकको १२० मिटर नाला, सब–बेसदेखि बेस राखेर कालोपत्रे गर्ने काम पूरै बाँकी छ ।
महिला छात्रावासदेखि दैलेख रोड जोड्ने ४४० मिटरको सडकमा अहिलेसम्म ३६६ मिटर नालाको काममात्रै भएको छ । यस्तै लालुपाते उत्तरतर्फको २०० मिटरको सडकको बेस राखेर कालोपत्रे गर्न बाँकी छ भने रत्न राजमार्ग–सितलनगर जोड्ने १६० मिटरको सडकको नालाको काम पनि सुरु नभएको इञ्जिनियर पाण्डे बताउँछन् ।
‘कान्छाराम कन्स्ट्रक्सन’ले यी सडकहरू ०७९ फागुन २८ गते निर्माण सम्पन्न गर्ने गरी ०७८ भदौ १७ गते १२ करोड ९४ लाख ३७ हजार ४६२ रुपैयाँमा जिम्मा लिएको हो । यद्यपि तोकिएको मितिमा काम सम्पन्न नगरेपछि ०८१ मंसिर २० गतेसम्म म्याद थप गरिएको थियो । असारदेखि भने उक्त कम्पनी काम नगरेर सम्पर्कविहीन भयो ।
धमाधम काम गर्न अहिले निर्देशन दिइएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा बताउँछन् । उनका अनुसार अब ठेकेदारविरुद्ध सरकार निर्मम भएर लागेको छ । अहिले ठेक्का लिएर विभिन्न जिल्लामा सडक अलपत्र पारेका ठेकेदारहरूलाई मन्त्रालयमै बोलाएर अन्तिम पटक चेतावनी दिने काम भइरहेको उनले बताए ।
मन्त्रालयले नियमित रूपमा निर्माण व्यवसायी र जिल्लाका कार्यालय प्रमुखसँग छलफल गरी समस्या र त्यसको समाधानको उपाय खोजेर विकास निर्माणको कामलाई तीव्रता दिइने मन्त्री बुढाले बताए ।
छलफलमा निर्माण व्यवसायीले समयमा काम नगरे कानुनी सजाय भोग्न तयार छु भनेर निर्णयमा हस्ताक्षरसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीले केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
-
रास्वपाबारे ओली : ‘पपुलिज्म’को जगमा उभिएका समूहहरूको ‘नयाँपन’ को व्यर्थता उदाङ्गो
-
सेतो जर्सीको प्रतियोगितामा आर्मीका ब्याट्सम्यानको कमजोर प्रदर्शन, पुलिसका ललितले लिए ७ विकेट
-
प्रधानमन्त्री भएको भोलिपल्टबाटै प्रचण्डमा पुरानै चरित्र प्रदर्शन हुन थाल्यो : ओली
-
माओवादीले पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको ओलीको आरोप
-
हृदयाघातबाट पालिका कर्मचारीको निधन