बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य

सोमबार, १७ मङ्सिर २०८१, १४ : ३२
सोमबार, १७ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत सोमबार जारी खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको कर्णाली याक्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४१ रन बनाएको हो ।

कर्णाली याक्सका लागि गुल्सन झाले सर्वाधिक ३६ रनको योगदान गरे । राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यसमेत रहेका गुल्सनले टोली अप्ठ्यारो स्थितिमा रहँदा जिम्मेबारीपूर्ण ब्याटिङ गरे । उनले २७ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए ।

उनी छैटौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनले बाबर हायातसँग ३३ रनको साझेदारी गरेका थिए । १८ वर्षीय गुल्सन झालाई जनकपुर बोल्ट्सका तिब्रगतिका बलर किशोर महतोले बोल्ड गरेका थिए । सातौँ नम्बरमा क्रिज समाल्न आएका अर्जुन घर्तीले पनि टोलीका लागि ३३ रनको योगदान गरे । उनले केवल २२ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काए । उनले थाकेरलाई एउटै ओभरमा लगातार दुई छक्का र दुई चौका हिर्काएका थिए ।

उनी सातौँ विकेटका रुपमा रनआउट भई पेभेलियन फर्किएका थिए । अर्जुन र कप्तान सोमपाल कामीले टोलीको स्कोरलाई ७९ रनको स्थितिबाट अगाडि बढाउँदै एक सय ३५ रनको बलियो स्थितिसम्म पुर्याएका थिए । कप्तान सोमपाल कामी भने २९ रनमा अविजित रहे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल १३ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काएका थिए ।

प्रभावशाली ब्याट्सम्यान शिखर धवनले पनि टोलीका लागि १४ रनको योगदान गरे । भारतका चर्चित पूर्वखेलाडी धवन ओपनर ब्याट्सम्यानका रुपमा क्रिज समाल्न आएका थिए । धवनले १४ बलको सामना गरी तीनवटा चौका पनि हिर्काए । ३९ औँ वर्ष प्रवेशको सँघारमा रहेका धवनलाई जनकपुर बोल्ट्सका बलर हर्ष थाकेरले बोल्ड गरे । २७ वर्षीय हर्ष थाकरे क्यानडाका खेलाडी हुन् । ४.२ ओभरमा धवन आउट हुँदा कर्णाली याक्सले दुई विकेट गुमाएर २१ रन बनाएको थियो ।

कर्णाली याक्सको पहिलो विकेटका रुपमा देब खनाल पेभेलियन फर्किएका थिए । उनी केवल एक रनको ब्यक्तिगत स्कोरमा ललित राजवंशीको बलमा बोल्ड भएका थिए । कर्णाली याक्सले तेस्रो विकेटका रुपमा चाडविक वाल्टनलाई गुमाएको थियो । वेस्ट इन्डिजका ३९ वर्षीय विकेटकिपर ब्याट्सम्यान वाल्टनले १२ बलमा एक चौकाको मद्दतले आठ रन बनाए । वाल्टनलाई मोहम्मद मोहसिनले एलबीडब्लूको धरापमा पारेका थिए । कर्णाली याक्सले चौथो विकेटका रुपमा जिसन मक्सुदलाई गुमाएको थियो ।

ओमानका ३७ वर्षीय मक्सुदले खातासम्म खोल्न सकेनन् । मक्सुदलाई जनकपुर बोल्ट्सका बलर जेम्स निसामले एलबीडब्लूको धरापमा पारेका थिए । ३४ वर्षीय जेम्स निसाम न्युजिल्यान्डका प्रभावशाली अलराउन्डर खेलाडी हुन् ।   कर्णाली याक्सले पाँचौँ विकेटका रुपमा बाबर हायातलाई गुमाएको थियो । उनी २५ बलमा १२ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । चौथो नम्बरमा क्रिज समाल्न आएका हङ्कङका हायातलाई मोहम्मद मोहसिनले निसामद्वारा क्याच गराए ।

कर्णाली याक्सले अतिरिक्त रुपमा आठ रन पाएको थियो । जनकपुर बोल्ट्सका बलर मोहम्मद मोहसिनले दुई तथा किशोर महतो, ललित राजवंशी, हर्ष थाकेर र जेम्स निसामले एक–एक विकेट हात पारे । जनकपुर बोल्ट्सले दोस्रो र कर्णाली याक्सले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।

अनिल कुमार साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले शनिबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो । कर्णाली याक्सको कप्तान भने सोमपाल कामी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप