डलरको विकल्पमाथि ट्रम्पले ब्रिक्सलाई किन दिए चेतावनी ?
वासिङ्टन डीसी । कुनै देशले अमेरिकी डलरलाई कमजोर पार्ने प्रयास गरे उसले शतप्रतिशत अतिरिक्त महसुलको सामना गर्नुपर्ने भन्दै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चेतावनी दिएका छन् । उनले यो चेतावनी भारत, रुस र चीनसमेत ९ देशलाई दिएका हुन् । समूहमा यी तीन बाहेक ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, संयुक्त अरब इमिरेट्स र इरान पनि छन् ।
ब्रिक्समा सदस्यताका लागि मलेसिया र टर्कीजस्ता देशहरूले पनि आवेदन दिएका छन् । ब्रिक्स देशहरूले अर्को मुद्रालाई समर्थन गरे भने तिनीहरूले यसको मूल्य चुकाउनु पर्नेछ भनेर ट्रम्पले धम्की दिएका छन् । ट्रम्पले यस्तो धम्की किन दिइरहेका छन् ? ब्रिक्समार्फत उनले रुसलाई निशाना बनाउन खोजेका हुन् । कि उनलाई डलर कमजोर हुने भयले सताइरहेको हो ।
ट्रम्पले के भने ?
ट्रम्पले शनिवार सामाजिक सञ्जाल एक्समा आफ्नो ह्यान्डलमा लेखेका थिए, ‘डलरबाट टाढिदैं जाने ब्रिक्स देशको कोसिसमा हामी मूकदर्शक भएर बसिरहन्छौँ, यो युग समाप्त भइसकेको छ ।’ नयाँ ब्रिक्स मुद्रा बन्नेछैन, न त बलियो अमेरिकी डलरको ठाउँ दिन अन्य कुनै मुद्रालाई नै समर्थन गरिनेछ भनेर यी देशले प्रतिबद्धता जनाउन जरुरी भएको नत्र भने सय प्रतिशत अतिरिक्त महसुलको सामना गर्नु पर्ने उनले लेखेका छन् । ब्रिक्स देशले यस्तो गरे भने अमेरिकामा तिनीहरूका उत्पादन बेच्ने कामलाई बिदा गर्नु पर्ने र अरू कुनै बजार खोज्न पनि उनले भनेका छन् ।
ट्रम्पको यो सन्देशलाई विश्वभर अमेरिकी डलरको दबदबा कायम रहिरहोस् भन्ने अर्थमा हेरिएको छ । अमेरिकी डलर विश्व व्यापारमा प्रयोग हुने मुख्य मुद्रा हो । डलर र युरो सबैभन्दा लोकप्रिय र स्वीकार्य मुद्रा हो । विश्वभरमा केन्द्रीय बैंकमा विदेशी मुद्रा सञ्चितिको ६५ प्रतिशत जति अमेरिकी डलर छ । डलर बलियो अमेरिकी अर्थतन्त्रको ताकतकोे प्रतीक पनि हो ।
विश्वको ४१ प्रतिशत जनसङ्ख्या भएको ब्रिक्सको विश्वको जीडीपीमा ३७ प्रतिशतको हिस्सा रहेको छ । आगामी भविष्यमा डलरको विकल्प खोज्ने देशहरूको प्रयासले डलरलाई चुनौती दिन सक्ने र यो स्थितिसँग जुध्न ट्रम्प तयार रहेको देखिन्छ । ट्रम्पले ‘अमेरिका फष्र्ट’ नारालाई क्षति पुग्न नदिन पनि यस्तो खालको धम्की दिएको हुन सक्ने विश्लेषणहरू आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी बुढा निर्वाचित
-
२० अंकले बढ्यो नेप्से, १० अर्ब ५४ करोडको कारोबार
-
संघीय मन्त्री यादव सहभागी कार्यक्रममा कर्णालीका मन्त्री र सचिव उपस्थित भएनन्
-
अनिवार्य तथा निःशुल्क शिक्षा प्रभावकारी बनाउन आवश्यक सुझाव दिन शिक्षामन्त्रीको आग्रह
-
कारबाहीको चेतावनी पश्चात् ठेकेदार–राज्यमन्त्रीको कम्पनी सम्पर्कमा, थाल्यो काम
-
‘पुष्पा २’ को नेपालमा पनि अग्रिम बुकिङ खुल्ला