चितवन राइनोजको विजयी सुरुवात, काठमाडौँ गुर्खाजलाई ५ विकेटले हरायो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबार खेलिएको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा चितवन रनाइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको हो ।
जारी प्रतियोगितामा चितवन राइनोज र काठमाडौँ गुर्खाज दुवैले आफ्नो पहिलो खेल खेलेका हुन् । टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँ गुर्खाजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको चितवन राइनोजले भने १७.१ ओभरमै केवल पाँच विकेट गुमाएर एक सय १४ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । चितवन राइनोजका लागि छैटौँ नम्बरका ब्याट्सम्यान सन्तोष कार्कीले अविजित २८ रनको योगदान गरे ।
सन्तोषले ३१ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए । सातौँ नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान शरद भेषावकरले पनि २१ बलको सामना गरी अविजित ११ रन बनाएका थिए ।
लुक बेनकेन्स्टाइनले पनि टोलीका लागि २२ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले १७ बलमा दुई छक्का र एक चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान हसन इशाखिलले पनि १२ रन बटुले ।
कप्तान कुशल मल्ल ११ रन बनाउँदै पेभेलियन फर्किए । ओपनर दीपक बोहराले सात रन बनाए । रवि बोपारा पनि ११ रन बनाउँदै आउट भए । उनले साहब आलमको बलमा लगातार दुई चौका प्रहार गरे भने तेस्रो बलमा आउट भए ।
चितवन राइनोजले अतिरिक्त रूपमा १२ रन पायो । काठमाडौँ गुर्खाजका बलर साहब आलमले तीन विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । जेरहार्ड एरास्मस र डन डउथवेटले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि काठमाडौँ गुर्खाजनका ब्याट्सम्यानहरूले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । ओपनर ब्याट्सम्यान माइकल लेभिटले २५ रनको योगदान गरे । उनले १६ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका सुमित महर्जनले पनि २९ रन बनाए । टोली अप्ठ्यारो स्थितिमा रहँदा सुमितले ४१ बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । डन डउथवेटले पनि अविजित १९ रन जोडे । आठौँ नम्बरमा क्रिज समाल्न आएका उनले १८ बलको सामना गरी दुई चौका हिर्काए ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका ब्याट्सम्यान शंकर रानाले १६ रन बटुले । उनले १७ बलको सामना गरी एक छक्का र एक चौका हिर्काए । काठमाडौँका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । काठमाडौँले अतिरिक्त रूपमा आठ रन पायो । दीपेश कँडेल एक रनमा अविजित रहे ।
चितवन राइनोजबाट खेलिरहेका पाकिस्तानका तीव्र गतिका बलर सोहेल तनवीरसामु काठमाडौँ गुर्खाजका ब्याट्सम्यानहरू निरीह देखिएका थिए । ३९ वर्षीय बायाँहाते बलर तनवीर एक्लैले पाँच विकेट लिएका थिए ।
सोहेल तनवीरले चार ओभरमा केवल २१ रन खर्चिए । उनले काठमाडौँ गुर्खाजका ओपनर ब्याट्सम्यान स्टिफन एस्किनाजी (दुई रन), माइकल लेभिट, भीम सार्कीलाई (एक रन), कप्तान करण केसी (एक रन) र साहब आलम (एन रन) को विकेट लिए ।
चिनवन राइनोजका बलर रिजन ढकाल, कुशल मल्ल, अमरसिंह रौतेला र लुक बेनकेन्स्टाइनले पनि एक–एक विकेट हात पारे । इङ्ल्यान्डको यू–१९ टोलीका सदस्य २० वर्षीय लुक दक्षिण अफ्रिकाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर डेल बेनकेन्स्टाइनका छोरा हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको एनपीएलमा सोमबारको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच खेलिने छ । जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले दोस्रो र कर्णाली याक्सले पहिलो खेल खेल्न लागेका हुन् ।
अनिल कुमार साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले शनिबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो । पुस ६ गतेसम्म चल्ने एनपीएलमा आठ टोलीको सहभागिता रहेको छ ।
NPL - Nepal Premier League 2024
विस्तृत विवरणखेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावमा कर्णालीका खानेपानी योजना रोकिँदैनन् : मन्त्री यादव
-
शिक्षक दरबन्दी पुनरावलोकन कार्यदलले माग्यो सुझाव
-
रिलायन्स स्पिनिङ मिलले पाएन अन्तरिम आदेश, प्राधिकरणलाई बत्ती काट्ने बाटो खुल्यो
-
टिकट काटेर धरहरा चढ्नेको सङ्ख्या ६ हजार नाघ्यो
-
दोलखाको गौरिशंकर गाउँपालिकामा माओवादीको अग्रता
-
एउटा वडा अध्यक्ष जितेको रास्वपाले ११ ठाउँमा ५० मत पनि कटाउन सकेन