देउवालाई प्रधानमन्त्री बन्न प्रचण्डले प्रस्ताव गरेको गगनको दाबीप्रति के भन्छन् कांग्रेस–माओवादीका नेता ?
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनिदिन हप्ताको एक पटक खबर पठाउने गरेको दाबी गरेपछि राजनीति तरङ्गित भएको छ । मङ्सिर १३ गते कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री बनिदिन प्रचण्डबाट कांग्रेसलाई प्रस्ताव आइरहेको खुलासा गरेका थिए ।
‘अहिले पनि हप्ताको एकपटक कांग्रेसलाई खबर पठाउँछन्, लौ न ! प्रधानमन्त्री बनिदिनु पर्यो भनेर । यो खबर पठाउने काम पहिले अर्कैले गर्थ्यो’, थापाले भनेका थिए ।
कांग्रेस संसद्को सबै ठुलो पार्टी भए पनि अहिले सरकार तलमाथि गर्ने पक्षमा आफूहरू नभएको थापाले बताएका थिए । इमानदारितापूर्वक वर्तमान गठबन्धनलाई आगामी ०८४ सम्म लिएर जान चाहेको उनको भनाइ थियो ।
तर थापाको अभिव्यक्तिलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खण्डन गरेका छन् । थापाले सरासर झुट बोलेको र आफूले सरकार ढाल्ने विषयमा कांग्रेसका सभापति तथा अन्य नेताहरूसँग कुनै कुराकानी नगरेको प्रचण्डको दाबी छ ।
शनिबार कागेश्वरी मनोहरा–२ स्थित आलापोटमा सञ्चारकर्मीसँग प्रचण्डले थापाको अभिव्यक्तिको खण्डन गर्दै भने, ‘एउटा युवा नेताको रूपमा गगन थापासँग मेरो धेरै वार्ता संवाद हुने गर्थ्यो । अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र यति तल झरेर हुँदै नभएको झुटो कुरो जनताको अगाडि बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ ।’
एउटा राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो अनैतिक कुरा गर्न सक्ने भएको देख्दा आफूलाई दया लागेको प्रचण्डले बताएका थिए । ‘म अहिले बढी भन्न चाहन्न । शतप्रतिशत झुटो कुरा हो । मैले भनेको थिइनँ, भन्दा पनि भन्दिनँ,’ प्रचण्डले भनेका थिए, ‘सरकारबाट बाहिर आएर जनतामा जाँदा नै सहज भइराखेको छ । सरकार ०८४ सम्म चलाउनोस् भनेको छु मैले । यो विषयमा शेरबहादुरजीसँग कहीँ कतै प्रत्यक्ष–परोक्ष केही कुरा भएकै छैन ।’
देउवाका स्वकीय सचिव भानु देउवाले समेत प्रधानमन्त्री बनिदिन प्रस्ताव आएको कुराको खण्डन गरेका छन् । उनले प्रधानमन्त्री बनिदिन प्रस्ताव लिएर माओवादीका तर्फबाट कोही नआएको दाबी गरे ।
‘प्रधानमन्त्री बनिदिन प्रस्ताव लिएर प्रचण्ड वा अन्य नेताहरू कोही पनि आएका छैनन् । सभापतिज्यूसँग कुनै च्यानलबाट कुरा पनि भएको छैन । महामन्त्रीज्यूसँग माओवादीका नेताहरूले भनेको भए बेग्लै कुरा हो । सरकार परिवर्तनको विषयमा हामीले सोचेका पनि छैनौँ’, उनले भने ।
असार ३१ गते प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गरेपछि कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बनेका हुन् । लामो समयपछि प्रतिपक्षी बेञ्चमा पुगेका प्रचण्ड ०८४ सम्म सरकारमा जाने कुनै योजना नरहेको दाबी गर्दै आएका छन् । यद्यपि मङ्सिर १ गते काठमाडौँ–काभ्रे सम्पर्क मञ्चले काठमाडौँमा गरेको कार्यक्रममा उनले फेरि सत्तामा फर्किन सक्ने अभिव्यक्ति दिएका थिए ।
त्यतिबेला प्रचण्डले माओवादीले पाएको सिट सङ्ख्या ३२ अङ्क ‘म्याजिक’ भएकाले प्रतिपक्ष दल हुन पाएको बताएका थिए । ‘विपक्षी दललाई गभर्मेन्ट इन वेटिङ भनिन्छ । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार बन्ने सरकार हाम्रै हुन्छ । त्यसकारण हामी चिन्तित हुने कुनै कुरा छैन’, उनले भनेका थिए ।
प्रचण्डले ०७७ सालमा ओली नेतृत्वको नेकपा सरकार गिराउनका लागि तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई लिएर देउवा समक्ष प्रधानमन्त्री बनिदिन प्रस्ताव गरेका थिए । सुरुमा प्रधानमन्त्री बन्ने प्रचण्ड–माधवको प्रस्ताव देउवाले अस्वीकार गरेका थिए । माधवकुमार नेपालले प्रधानमन्त्री बनाउन आफ्नो समूहका २७ जना सांसदले लिखित रूपमै हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्री बन्न देउवा राजी भएका थिए ।
प्रचण्डको विगतको चरित्र र थापाको अभिव्यक्तिले कतै न कतै शङ्का गर्ने ठाउँ भने देखिन्छ । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले राजनीतिमा कतिखेर के हुन्छ भन्न नसकिने बताए ।
‘नेताहरूले कतिखेर के बोल्छन्, ती सबैको पछि लागेर सम्भव छैन । विगतमा पनि सरकार छिटोछिटो परिवर्तन भएका छन् । राजनीतिमा कतिखेर के हुन्छ ? भन्न सक्ने अवस्था छैन’, उनले भने ।
उता नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय शिवाकोटीले प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति देउवाले नचाहेसम्म सरकार परिवर्तन हुन नसक्ने बताए । जनतामा चरम निराशा बढिरहेको बेला थापाले सरकार स्थिर रहने विश्वास दिलाउन महामन्त्री थापाले त्यसो भनेको हुने सक्ने उनको जिकिर थियो ।
‘पहिलो कुरा, केपी ओली र शेरबहादुर देउवाले नचाहँदासम्म वर्तमान सरकार तलमाथि हुनेवाला छैन । प्रतिपक्ष दलले अविश्वास खडा गर्न केही प्रयास गरेको हुन सक्छ’, शिवाकोटीले भने, ‘राजनीतिक अस्थिरताका कारण जनतामा चरम निराशा छाएको छ । चुनावी सभामा व्याप्त निराशालाई अन्त्य गर्न र सरकार दायाँबायाँ नहुने प्रतिबद्धता जनाउन उहाँ (गगन थापा)ले बोल्नुभएको हुन सक्छ ।’
माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले ओली सरकार गिराउने पक्षमा आफूहरू नरहेको प्रस्ट पारे । यद्यपि कुनै तह तप्कामा दुई पार्टीका नेताहरूबिच भेट हुँदा सरकारका विषयमा पनि छलफल हुनु स्वाभाविक भएको उनले बताए ।
‘अहिले ओली सरकार ढालेर अर्को बनाउने विषयमा कांग्रेसका सभापति देउवासँग कुनै छलफल भएको छैन । कुनै तह–तप्कामा कांग्रेसका नेताहरूसँग भेटघाट हुँदा सरकारको विषयमा पनि छलफल हुनु स्वाभाविक हो,’ उनले भने, ‘अहिलेको सरकारलाई हामीले ढाल्न मेहनत गर्नै पर्दैन । सत्तामा रहेका एमाले र कांग्रेसकै कारण ढल्छ ।’
त्यसो त ०७९ को निर्वाचनपछि माओवादी–एमाले गठबन्धन तीन महिना पनि नटिकेको नजिर छ । निर्वाचनपछि एमालेको समर्थनमा पुस ११ गते प्रधानमन्त्री भएका प्रचण्डले फागुन १२ गते राति कांग्रेससँग मिलेर सत्ता समीकरण बनाएका थिए । त्यतिबेला एमालेसँग सत्ता सहकार्य टुटाउन कांग्रेस महामन्त्री थापा सक्रियतापूर्वक लागेका थिए ।
तर कांग्रेससँग ११ महिना सत्ता सहकार्य गरेका प्रचण्डले फेरि एमालेसँग मिलेर ०८० फागुन २१ गते नयाँ समीकरण बनाएका थिए । ०८४ सम्म माओवादी–एमाले गठबन्धन कायम रहने दाबी गरेका ओलीले कांग्रेससँग मिलेर चार महिनामै प्रचण्ड सरकार ढालेका थिए ।
असार १७ गते मध्यराति संविधान संशोधनसहित आलोपालो सरकार बनाउने ७ बुँदे सहमति भएपछि ओली प्रधानमन्त्री भए । कांग्रेससँग सहमति गरेको भोलिपल्ट बिहान पनि ओलीले सरकार परिवर्तन गर्नेबारे कांग्रेससँग कुनै सहमति नभएको भन्दै प्रचण्डलाई विश्वास दिलाएका थिए । रातारात सत्ता समीकरण फेरबदल भएपछि एमाले–कांग्रेस सरकारलाई प्रचण्डले ‘षड्यन्त्रपूर्वक बनेको अप्राकृतिक गठबन्धन’ भन्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा
-
नेपाली र दक्षिण कोरियाली कविता वाचन
-
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा काभ्रे उमाविका शिक्षक पक्राउ
-
१० बजे १० समाचार : देउवालाई ८० सांसद देखाएर फकाउने प्रचण्डको दाउ, सुदूरपश्चिममा एमालेलाई धक्का
-
वडाध्यक्षले फेसबुकमा लेख्दा मेयरले स्पष्टीकरण सोधेपछि....
-
ईप्रका रामपुरका इन्स्पेक्टर ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित