लेटसिल टेबोगो र सिफान हसन विश्वकै सर्वोत्कृष्ट एथलेटिक्स खेलाडी
काठमाडौँ । पुरुषतर्फ बोत्सवानाका लेटसिल टेबोगो र महिलातर्फ नेदरल्यान्ड्सकी सिफान हसनले विश्वकै सर्वोत्कृष्ट एथलेटिक्स खेलाडीको अवार्ड हात पारेका छन् । विश्व एथलेटिक्स महासंघद्वारा मोनाकोमा आयोजित विशेष कार्यक्रमबिच उनीहरुलाई अवार्ड प्रदान गरियो ।
टेबोगो र सिफान ओलम्पिक च्याम्पियन खेलाडी हुन् । २१ वर्षीय टेबोगो वर्षको सर्वोत्कृष्ट ट्र्याक एथलिट पनि घोषित भए । हालै फ्रान्सको पेरिसमा सम्पन्न ओलम्पिक खेलकुदमा उनले पुरुष दुई सय मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।
टेबोगो ओलम्पिक खेलकुदको इतिहासमा बोत्सवानालाई स्वर्ण पदक जिताउने पहिलो खेलाडी पनि हुन् । उनले चार गुना चार सय मिटर रिले दौडमा रजत पदक पनि जितेका थिए । त्यो स्पर्धामा उनले अफ्रिकी कीर्तिमान पनि बनाएका थिए ।
‘यो वर्ष मेरा लागि निकै फलदायी सावित भयो । ओलम्पिकमा देशलाई पहिलो स्वर्ण जिताउने अवसर पाएँ । त्यसपछि अहिले विश्वकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड पनि मेरो पोल्टामा प¥यो । कुनै पनि खेलाडीका लागि यो महत्वपूर्ण उपलब्धि हो,’ उनले भनेका छन् ।
३१ वर्षीया सिफान हसनले पेरिस ओलम्पिकको महिला म्याराथनमा स्वर्ण पदक जितेकी थिइन् । त्यसअघि उनले पेरिस ओलम्पिकमै महिला पाँच हजार मिटर र १० हजार मिटर दौडमा कांश्य पदक पनि जितेकी थिइन् ।
सिफान हसन पछिल्लो ७२ वर्षयता ओलम्पिक खेलकुदको एउटै संस्करणमा यी तीनवटा स्पर्धामा पदक जित्ने पहिलो खेलाडी पनि बनेकी थिइन् । सिफान हसनको जन्म भने इथियोपियामा भएको हो । पछि उनी शरणार्थीका रुपमा नेदरल्यान्ड्स पुगेकी थिइन् ।
‘मैले यो अवार्ड हात पार्नेछु भनेर सोचेको पनि थिइन । अहिले पनि मलाई विश्वास लागिरहेको छैन । यो मेरो र मेरो देशका लागि निकै ठुलो उपलब्धि हो,’ अवार्ड हात पारेपछि निकै भावुक देखिएकी सिफान हसनले भनेकी छन् ।
महिला ट्र्याक एथलिटको अवार्ड भने अमेरिकाकी सिड्नी म्याकलघलिनले हात पारिन् । उनले पेरिस ओलम्पिकमा महिला चार सय मिटर हर्डल्स स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् ।