विक्रान्त मैसीले किन लिए अभिनयबाट सन्यास ?
नयाँ दिल्ली । बलिउड अभिनेता विक्रान्त मेसीले अभिनयबाट सन्यासको घोषणा गरेका छन् । हालै उनी फिल्म ‘द साबरमती रिपोर्ट’मा देखिएका थिए । यसअघि ‘१२ फेल’ र ‘सेक्टर ३६’ जस्ता चलचित्रमा उत्कृष्ट अभिनय गरेको भन्दै उनले प्रशंसा पाएका थिए ।
यो सफलताको फाइदा उठाएर विक्रान्त अगाडि बढ्ने अपेक्षा गरिएको थियो । तर अभिनेताले एक्कासी सन्यास लिने निर्णय गरेका छन् । ३७ वर्षको उमेरमा उनले अभिनयलाई अलविदा भन्न लागेका हुन् ।
विक्रान्तले सोमबार बिहान अभिनयबाट सन्यास लिने घोषणा गरेर आफ्ना फ्यानहरूलाई चकित पारेका छन् । इन्स्टाग्राममा सेयर गरेको नोटमा उनले लेखेका छन् ‘पछिल्ला केही वर्ष र यसअघिको समय अचम्मको रह्यो । मलाई सधै साथ दिनुहुने सबैलाई म धन्यवाद दिन्छु, तर म अगाडि बढ्दै जाँदा मैले महसुस गरें कि एक पति, बुबा, छोरा र एक अभिनेताको रूपमा अब यो आफैंलाई पुनस्र्थापित गर्ने र घर फर्कने समय हो ।’
यी हुनेछन् उनका अन्तिम दुई फिल्म
खबरका अनुसार विक्रान्त अहिले ‘यार जिगरी’ र ‘आँखों की गुस्ताखियाँ’मा काम गरिरहेका छन् । यी फिल्मबारे कुरा गर्दै, अभिनेताले लेखे, ‘हामी २०२५ मा अन्तिम पटक भेटिनेछौं । पछिल्ला २ फिल्म र धेरै वर्षको सम्झनाको लागि फेरि एक पटक धन्यवाद ।’ विक्रान्तको यो घोषणाले उनका फ्यानहरुलाई स्तब्ध बनाएको छ । मानिसहरूले कमेन्टमा आश्चर्य व्यक्त गरिरहेका छन् ।
‘किन यस्तो गरिरहनुभएको छ ? तपाईंजस्ता कलाकार कमै छन् । हामीलाई राम्रो सिनेमा चाहिन्छ ।’ एक फ्यानले लेखेका छन् । अर्का एक जनाले चाहि ‘अचानक? सबै ठिक छ ? फ्यानहरूका लागि यो अत्यन्तै स्तब्ध पार्ने खबर हो । हामी तपाईंको अभिनय र फिल्महरू मन पराउँछौं ।’ भनेर लेखेका छन् । धेरै फ्यानले विक्रान्तलाई यो निर्णयमा पुनर्विचार गर्न आग्रह समेत गरेका छन् । ‘भाइ, तिमी शिखरमा छौं.... किन यस्तो सोचिरहेका छौं ?’ अर्का एक जनाफ्यानले लेखेका छन् । केही फ्यानहरूले यो कुनै फिल्म वा ब्रान्ड प्रमोशनको लागि पब्लिसिटी स्टन्ट हो कि भनेर पनि शंका व्यक्त गरेका छन् ।
विक्रान्त हालै ‘द साबरमती रिपोर्ट’मा देखिएका थिए । यस फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मले अहिलेसम्म बक्स अफिसमा २८ करोडभन्दा बढीको व्यापार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ती भारतीय स्वतन्त्रताका सेनानी, जो नेपालको राणाशासनविरुद्ध लडेर सहिद भए
-
शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तालिम पाठ्यक्रम स्वीकृत
-
चितवनमा हात्ती तथा पर्यटन महोत्सव सुरु, तस्बिरहरु
-
गौतम बुद्ध रंगशाला निर्माणका लागि रकम निकासा गर्ने बागमती सरकारको निर्णय
-
चुम्बन गर्दा सर्छ माउथ अल्सर ?
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत