बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

एक सातादेखि नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य बन्द

सोमबार, १७ मङ्सिर २०८१, १० : २९
सोमबार, १७ मङ्सिर २०८१

काठमाडौँ । एक सातादेखि नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य बन्द भएको छ । सुरुङ मार्ग क्षेत्रका स्थानीयले जग्गाको मुआब्जा माग गर्दै निर्माणमा अवरोध पुर्‍याएका कारण काम बन्द भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । 

चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का स्थानीयले मंसिर ९ गतेदेखि अवरोध सुरु गरेको पन्थीको भनाइ छ ।

‘पहिला घरहरुमा क्र्याक आएको थियो । मुआब्जा दिनुपर्‍यो भनेर अवरोध गरे । हामीले ती घरहरूको मुआब्जाको लागि मन्त्रालयमा प्रस्ताव पठाएका छौँ,’ इन्जिनियर पन्थीले भने, ‘तर फेरी घर भएको स्थानको जग्गाका मुआब्जा माग गर्दै निर्माणमा अवरोध गरेका छन् ।’

पन्थीकाअनुसार सुरुङमार्गको निर्माणका क्रममा सुरुङ्गमार्गको माथिल्लो भाग चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा पर्ने जग्गामा बनेका ७ वटा घर चर्किएको थियो । त्यहिबेला घरधनीहरूले चर्किएका घरको क्षतिपूर्ति माग गर्दै सुरुङ मार्ग निर्माणमा अवरोध सिर्जना गरे ।  स्थानीयको अवरोधपछि नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले घरहरूको क्षतिपूर्ति दिने प्रतिविद्धतासँगै प्रक्रिया अघि बढाइसकेको छ ।

अहिले फेरी स्थानीयले जग्गाको पनि मुआब्जा माग गर्दै सुरुङ मार्ग निर्माणमा अवरोध गरेका छन् ।

‘घरसँगैको जग्गाको पनि मुआब्जा दिनुपर्छ भन्ने उनीहरूको माग छ । हामीले त्यो ठाउँको अध्ययन गराएका छौँ । अध्ययनले त्यहाँको जग्गामा कुनै समस्या नआउने देखाएको छ,’ इन्जिनियर पन्थीले भने, ‘बरु घरहरूको समस्या देखिएकाले मुआब्जा वितरणका लागि प्रक्रिया अघि बढाएका छौँ । जग्गाको मुआब्जा चाहिँ दिन सक्दैनौँ ।’

यसअघि खानेपानी र मुआब्जाको माग राख्दै २०८० फागुनदेखि चैतसम्म स्थानीयले निर्माणमा अवरोध गरेका थिए । जसका कारण एक महिनै निर्माणको काम अघि बढ्न सकेको थिएन । 

अहिले खानेपानीको समस्या भने समाधान भइसकेको छ । तर फेरी मुआब्जा माग गर्दै स्थानीयले काममा अवरोध गर्न थालेका छन् । अहिले स्थानीयको अवरोधले सुरुङ मार्ग निर्माणको सम्पूर्ण काम ठप्प भएको छ । बलम्बुमा निर्माण भइरहेको फ्लाइओभरको काम पनि रोकिएको छ ।

हालसम्म सुरुङ मार्गको सुरुङ निर्माणको काम शतप्रतिशत सम्पन्न भइसकेको छ । सुरुङ मार्ग निर्माणको काम अब करिब १८ प्रतिशत बाँकी भएको आयोजनाले जनाएको छ । भौतिक प्रगति ८२ प्रतिशत र ७५ प्रतिशत वित्तीय प्रगति भएको छ ।  अहिले सुरुङमा लाइनिङसहित फिनिसिङको काम भइरहेको आयोजनाले जनाएको छ । यस सुरुङ मार्गमा दुई वटा सुरुङ रहेका छन् । जसमध्ये २ हजार ५५७ मिटरको आपतकालिन सुरुङ (इभ्याक्युएसन टनेल) २०८० साउन २२ गते ब्रेकथ्रु भएको छ । २६८८ मिटर लम्बाई रहेको मुख्य सुरुङ (मेन टनेल)  २०८१ वैशाख ३ गते ब्रेकथ्रु भएको छ । 

यसैगरी १२८ मिटर क्रस प्यासेज, १२६ मिटरको निर्माणको काम भइरहेको छ । 

यस्तै अन्डरपास ३ वटा बक्स कल्भर्ट ४ वटा ओभरपास ३ वटा र पुल ३ वटा सम्पन्न भएको छ । फ्लाइओभर ९५ प्रतिशत सम्पन्न भएको छ । 

यो सुरुङ मार्गको पश्चिमी पोर्टल सिस्नेखोलातर्फ स्लोप कटिङ र बलम्बुदेखि सुरुङ मार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्रे गर्ने कार्य भइरहेको थियो । तर स्थानीयको अवरोधले रोकिएको नागढुङ्गा टनेल कन्सटक्सन आयोजनाले जनाएको छ ।

धादिङको सिस्ने खोलादेखि काठमाडौँको सतुंगल जोड्ने यो सुरुङ मार्ग ५ वर्षअघि निर्माण सुरु गरिएको थियो । २०७६ कार्तिक २८ गतेदेखि निर्माण सुरु गरिएको यो आयोजनाको कुल २२ अर्ब रुपैयाँमा ठेक्का लागेको छ ।  जसमध्ये जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ । 

सुरुमा २०८० वैशाखसम्म सक्ने गरि सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच सम्झौता भएको थियो । उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्म म्याद थपिएको थियो । तर सो अवधिमा मुआब्जा वितरणका समस्याले सुरुङ मार्ग निर्माण हुन सकेन । यसपछि फेरि २०८२ असोजसम्म म्याद थपिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप