सूर्यदर्शन सहकारी चलाउन आफैँ कस्सिए पीडित बचतकर्ता, ऋण उठाउन समिति बन्दै
पोखरा । सहकारीको रकम हिनामिना गर्ने धमाधम पक्राउ पर्दै आएका छन् । तीमध्ये कोहीमाथि अनुसन्धान चलिरहेको छ, कोही पुर्पक्षका लागि थुनामा गएका छन् । कोही अझै फरार छन् ।
सहकारी रजिस्ट्रार कार्यालय गण्डकीका अनुसार उसको कार्यक्षेत्र पर्ने ११ वटा सहकारी अहिले क्रोनिक अवस्थामा छन् । अरूको पनि अनुसन्धान र छानबिन चलिरहेको छ ।
त्यसबाहेक पोखरा महानगरको कार्यक्षेत्रमा रहेका आधा दर्जनभन्दा बढी सहकारीको कारोबार रोक्का गरिएको छ । पीडितहरू आन्दोलित बनेका छन् । रकम हिनामिना गर्नेहरू समात्ने क्रम जारी छ । प्रहरीले रकम हिनामिना गर्नेलाई पक्राउ गरेर मात्रै आफूहरूले बचत फिर्ता पाउने ग्यारेन्टी बचतकर्तालाई छैन ।
‘मान्छे पक्राउ परेका छन्, ठिकै छ । तर बचत कहिले कुन हिसाबबाट फिर्ता पाइन्छ ?,’ पीडितहरू भन्छन्, ‘हामीलाई को समातियो वा को उम्कियो मतलब छैन । राज्यबाट लाइसेन्स लिएर चलाएका सहकारीले पैसा नदिएपछि राज्यले फिर्ता दिनुपर्छ ।’
रकम हिनामिनामा दोषी ठहरिएकाहरूको समेत सम्पत्ति रोक्का राख्ने र पीडितलाई भराइदिनुपर्ने उनीहरूको भनाइ छ । तर त्यसतर्फ सरकारले स्पष्ट काम अघि बढाएको छैन । यही अवस्थामा पोखराको सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताहरूले सहकारीले लगानी गरेका ऋण उठाउने गरी तयारी थालेका छन् ।
सहकारीको कारोबार बन्द भएपछि हिसाबकिताब अलपत्र छ । तिर्न चाहने ऋणीहरूले पनि ऋण फिर्ता गर्न पाएका छैनन् ।
मंगलबार साधारणसभा मार्फत सञ्चालक समिति चयन गर्ने र उक्त समितिले बजारमा लगानी भएका ऋण फिर्ताका लागि पहल गर्न लागिएको हो । संघर्ष समितिका संयोजकसमेत रहेका पीडित बचतकर्ता किरण श्रेष्ठले पोखरामा भएका ऋणीहरू बोलाउने र उक्त रकम सहकारीको खातामा जम्मा गर्न लगाउने बताए ।
पीडितहरूले कात्तिक २५ गतेदेखि नै सहकारी कार्यालय खोलेर बचतकर्तालाई सम्पर्कमा आउन आह्वान गरेका छन् । ‘अफिस दैनिक खोलिएको छ । हामीले नै खोल्छौँ, हामी नै बन्द गर्छाैं,’ उनले भने, ‘बचतकर्ताहरू सम्पर्कमा आइरहेका छन् । ऋणीहरू आएर ऋण फिर्ताका लागि वातावरण बनाइदिन आग्रह गरिरहेका छन् ।’
सहकारीको कारोबार बन्द भएपछि हिसाबकिताब अलपत्र छ । तिर्न चाहने ऋणीहरूले पनि ऋण फिर्ता गर्न पाएका छैनन् । ‘कसैको अन्तिम किस्ता तिर्न बाँकी छ । कोही किस्ता तिरेर पनि सवारी साधन पास गर्न पाएका छैनन् । उनीहरू आएर हामीसँग अनुनय गरेका छन्,’ श्रेष्ठले भने ।
महानगर र प्रहरीसँगको समन्वयमा ऋणीले लगेका रकम फिर्ता गर्ने गरी योजना बनेको उनले बताए । अहिले बाँडफाँटभन्दा पनि ऋण असुलीमै बढी जोड दिइने उनले सुनाए ।
बचतकर्ता आफैँले कार्यालय खोल्ने र पीडितको गुनासो सङ्कलन गरिरहेका छन् । त्यसका लागि यही मङ्सिर १८ मा पोखरामा विशेष साधारणसभा डाकिएको संघर्ष समिति संयोजक किरण श्रेष्ठले जानकारी दिए ।
‘दिनदिनै अफिस खोलेका छौँ । गुनासोसँगै बचतकर्तालाई सम्पर्कमा ल्याउने काम भइरहेको छ,’ उनले भने, ‘आठ सय बचतकर्ता भेला पारेपछि साधारणसभा गर्ने र नेतृत्व नयाँ छान्ने भनेका छौँ ।’
सञ्चालकहरूको रोक्का राखेका सम्पत्तिबारे भने बचतकर्ता पीडितहरूलाई प्रहरी वा अनुसन्धानकर्ता निकायले जानकारी गराएको छैन ।
सहकारीका सचिव दुर्गानाथ न्यौपानेले साधारणसभाका लागि आवश्यक पर्ने कोरम पुगिसकेको बताए ।
‘करिब ८ सय हाराहारी सम्पर्कमा आएका छन् । साधारणसभा गर्न पूर्ण हिसाबले हामी तयार छौँ,’ उनले भने, ‘हाम्रो काम भनेको सञ्चालकले हिजो बजारमा छरेको पैसा उठाउने हो । वितरण गर्नेतिर ध्यान छैन ।’
रकम हिनामिना गर्नेले पनि पैसा तिरेर निस्किन चाहेको बेला रकम लिने समिति पनि नभएका कारण साधारणसभा गर्न लागेको उनले सुनाए । ‘थुनामा भएका अभियुक्तले पैसा तिरेर बाहिर निस्किन चाहे भने पनि समिति चाहियो । रोक्कामा राखेका जग्गाहरू छन् । त्यसको बेचबिखनको सहजीकरण पनि समितिले गर्नुपर्छ,’ उनले भने ।
महानगर र पीडितको नाममा संयुक्त खाता खोलिएको जानकारी दिँदै न्यौपानेले उठेको रकम जम्मा गर्ने तर निकाल्न नपाइने प्रस्ट पारे ।
यसअघि पनि साधारणसभाको तयारी गरिएको थियो । तर कोरम नपुगेर स्थगित गरिएको थियो । पीडितका अनुसार करिब १४ करोड रुपैयाँ सहकारीले पोखरा बजारमा लगानी गरेको देखिन्छ । ‘धितोवाला पनि छन्, विनाधितो र सवारीसाधनमा पनि छ,’ पीडितहरू भन्छन्, ‘कतिपयले पैसा तिर्न खोज्दा पनि तिर्न पाउनुभएको छैन । बचतकर्तालाई मात्रै नभई ऋणीहरूलाई पनि सहज होस् भनेर साधारणसभा गर्न लागेका हौँ ।’
सञ्चालकहरूको रोक्का राखेका सम्पत्तिबारे भने बचतकर्ता पीडितहरूलाई प्रहरी वा अनुसन्धानकर्ता निकायले जानकारी गराएको छैन ।
सहकारीको १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको छानबिनले देखाएको छ । रकम हिनामिना गरेर गितेन्द्रबाबु (जीबी) राईसहित सञ्चालक समितिका पदाधिकारी फरार भएपछि पीडित बचतकर्ता नै सहकारी सञ्चालन गर्न तातेका हुन् । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि यही सहकारीको रकम अपचलन गरेर गोर्खा मिडिया मार्फत खर्च गरेको आरोपमा पक्राउ परेका छन् ।
उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लगायत अहिले पुर्पक्षका लागि कास्की कारागारमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियालाई हराउन नेपालले १४० रन बनाउनुपर्ने
-
सिमेन्टको तीन महिना अघिकै मूल्य कायम गरिनुपर्छ : ज्वाला साह
-
तनहुँको डुम्रे बजारमा आगलागी
-
कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण