१२ बजे, १२ समाचार : उपनिर्वाचनको चुनावी परिणाममा ठूला दलकै बर्चश्वदेखि सकिएन रविको बयानसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. उपनिर्वाचन नतिजा, ठूला दलकै बर्चश्व
स्थानीय तह उपनिर्वाचनको मतपरिणामले ठूला राजनीतिक दलकै पल्ला भारी वा बर्चश्व देखिएको छ । आइतबार भएको निर्वाचनको मत परिणाम अनुसार अधिकांश स्थानीय तह तथा वडामा ठूला राजनीतिक दलका उम्मेदवार विजयी भएका छन् । छिटपुट केही ठाउँमा साना दल तथा स्वतन्त्र उम्मेदवार अघि देखिए । कालिकोटको तिलागुफा नगरपालिका ४ मा भने नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खड्ग राज शाही विजयी भएका छन् । उनले १४३ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत ल्याइन् । तेस्रोमा एमाले उम्मेदवार ऐन बहादुर शाहीले ७८ मत ल्याए ।
२. उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान
आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा करिब ६२ प्रतिशत मतदान भएको आयोगले जनाएको हो ।
३. प्रधानमन्त्री ओलीसँगै भोलि को–को जाँदैछन् चीन ?
प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमबार) चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीसहित जम्मा ४४ जना सोमबार हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट चीन जान लागेका हुन् ।
४. सरकारी सेवामा डिजिटाइजेसनले ल्याएको परिवर्तन
सूचना र प्रविधिका क्षेत्रमा आएको विकास र परिवर्तनसँगै पछिल्लो समय नेपालमा सरकारी सेवा अनलाइनमार्फत दिने अभ्यास हुन थालेको छ । केही वर्ष अघिसम्म कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्न फाइलका चाङ बोकेर जानुपथ्र्यो । अहिले त्यो अवस्था अन्त्य भएको छ । सरकारी सेवामा डिजिटाइजेसनले ल्याएको परिवर्तनका सम्बन्धमा रातोपाटीले तयार पारेको यो रिपोर्ट हेर्नुहोस्,
५. रविको बयान सकिएन, जोशी र खनाललाई चितवन लगियो
सहकारीको रकम हिनामिनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज नसकिएपछि उनलाई हिरासतमा फिर्ता पठाइएको छ । भद्रकालीस्थित जिल्ला सरकारी वकिल कार्यालयमा उनीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् । उता, पूर्वडीआईजी छविलाल जोशी र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक रामबहादुर खनाललाई सहारा बचत तथा ऋण सहकारीको रकम हिनामिनाबारे बयान लिन पोखराबाट चितवन लगिएको छ ।
६. लिलाबल्लभविरुद्धको रिट दरपीठ
सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वकानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मानव बेचबिखन मुद्दा नचलाई उन्मुक्ति दिने निर्णय विरुद्धको रिटलाई दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको रिट निवेदनमा आइतबार निर्णय गर्दै सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेका हुन् ।
७. सुनचाँदी व्यवसायीलाई कस्ने मापदण्ड बनाउँदै सरकार
सरकारले सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउन प्रस्ट मापदण्ड तयार गर्ने उद्देश्यले गृहकार्य थालेको छ । व्यवसायीहरूले ज्याला र जर्तीको नाममा मनपरी शुल्क असुल्ने र सो बापतको राजस्व पनि सरकारलाई नबुझाउने अवस्था सिर्जना भएपछि सरकारले आवश्यक मापदण्डका लागि गृहकार्य थालेको हो ।
८. गगनले भनेझैँ नेपालका आईटी इञ्जिनियरले ३-४ लाख कमाउँछन् ?
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएरै महिनामा ३र४ लाख कमाउन सकिने दाबी गरेका थिए । उनको यो दाबीबारे रातोपाटीले ‘फ्क्याक्ट चेक’ गरेको छ ।
९. नेपाली फिल्मका चल्तीका ६ हिरो के गर्दैछन् ?
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसमा सुनामी नै ल्याएको छ । ‘पूर्णबहादुरको सारङ्गी’लेमात्र होइन, पछिल्लो समय रिलिज भएका ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ले पनि राम्रो व्यवसाय गरे भने ‘बेहुली फ्रम मेघौली’, ‘ज्वाइँ साब’ लगायतले लगानी सुरक्षित गरे । ह्रस्व दीर्घदेखि तेलभिसासम्म लगानी सुरक्षित गर्नेतर्फ लम्किरहेका छन् । फिल्मको व्यवसाय राम्रो भएपछि निर्माण बढ्ने नै भयो । यसले फिल्मका चल्तीका हिरो (अभिनेता)हरूको व्यस्तता पनि बढाएको छ ।
१०. एनपीएलमा सट्टेबाजी हुन सक्ने आशङ्कामा सीआईबीको कडा निगरानी
नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी हुन सक्ने आशङ्कामा प्रहरीले निगरानी बढाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सट्टेबाजीमा प्रयोग हुने वानएक्स बेटका नेपाली एजेन्ट र बेटिङमा प्रयोग हुन अन्य अनलाइनबारे अनुसन्धान थालेको हो ।
११. जय शाह आईसीसीको अध्यक्ष
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अर्थात आईसीसीको अध्यक्षको पदभार ग्रहण गरेका छन् । ३६ वर्षीय जय शाह न्युजिल्यान्डका ग्रेग बार्कलेको स्थानमा आइसीसीको सबैभन्दा कान्छो अध्यक्ष बनेका छन् । आईसीसीले एक सामाजिक सञ्जाल पोस्टमा यो जानकारी दिएको हो ।
१२. चीनको चेतावनी
चीनको विदेश मन्त्रालयका अनुसार अमेरिकी रक्षा विभागले ताइवानलाई ३८५ मिलियन अमेरिकी डलर बराबरको हतियार बेच्न स्वीकृति दिएको प्रति आपत्ति जनाएको छ । यस बिक्रीको एक भागको रूपमा अमेरिकाले ताइवानलाई एफ(१६ लडाकु विमान पनि बेच्नेछ। अमेरिकी विदेश मन्त्रालयले नोभेम्बर ३० मा ताइवानलाई अमेरिकी हतियार बेच्न स्वीकृति दिएको हो । यस सम्बन्धमा चीनको विदेश मन्त्रालयले पनि आफ्नो प्रतिक्रिया जनाएको हो ।