बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ठुला दलहरूलाई स्तब्ध पार्दै तिलगुफा–४ मा नेमकिपा विजयीदेखि लिलाबल्लभविरुद्धको रिट दरपिठसम्म

आइतबार, १६ मङ्सिर २०८१, २२ : ००
आइतबार, १६ मङ्सिर २०८१

आज २०८१ मंसिर १६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा स्थानीय तह उपनिर्वाचन : ठुला दलहरूलाई स्तब्ध पार्दै तिलगुफा–४ मा नेमकिपा विजयी, उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान, प्रधानमन्त्री ओलीसँगै भोलि को–को जाँदैछन् चीन ?, सरकारी सेवामा डिजिटाइजेसनले ल्याएको परिवर्तन, रविको बयान सकिएन; जोशी र खनाललाई चितवन लगियो, कोशीका पूर्वमन्त्री अधिकारीविरुद्धको रिट दरपिठ, सुनचाँदी व्यवसायीलाई कस्ने मापदण्ड बनाउँदै सरकार लगायत छन् ।

१. स्थानीय तह उपनिर्वाचन : ठुला दलहरूलाई स्तब्ध पार्दै तिलगुफा–४ मा नेमकिपा विजयी
स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार सम्पन्न चुनावको नतिजा आउन थालेको छ । यसै क्रममा कालिकोटको तिलगुफा नगरपालिका–४ को वडा अध्यक्ष पदमा ठुला दलहरूलाई स्तब्ध पार्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही निर्वाचित भएका छन् । यसअघि यहाँ माओवादी केन्द्र विजयी भएको थियो । 

२. उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान
आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा करिब ६२ प्रतिशत मतदान भएको आयोगले जनाएको हो ।

३. प्रधानमन्त्री ओलीसँगै भोलि को–को जाँदैछन् चीन ?
प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमबार) चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीसहित जम्मा ४४ जना सोमबार हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट चीन जान लागेका हुन् ।

४. सरकारी सेवामा डिजिटाइजेसनले ल्याएको परिवर्तन
सूचना र प्रविधिका क्षेत्रमा आएको विकास र परिवर्तनसँगै पछिल्लो समय नेपालमा सरकारी सेवा अनलाइनमार्फत दिने अभ्यास हुन थालेको छ । केही वर्ष अघिसम्म कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्न फाइलका चाङ बोकेर जानुपर्थ्यो । अहिले त्यो अवस्था अन्त्य भएको छ । सरकारी सेवामा डिजिटाइजेसनले ल्याएको परिवर्तनका सम्बन्धमा रातोपाटीले तयार पारेको यो रिपोर्ट हेर्नुहोस्–  

५. रविको बयान सकिएन, जोशी र खनाललाई चितवन लगियो
सहकारीको रकम हिनामिनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज नसकिएपछि उनलाई हिरासतमा फिर्ता पठाइएको छ । भद्रकालीस्थित जिल्ला सरकारी वकिल कार्यालयमा उनीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् । उता, पूर्वडीआईजी छविलाल जोशी र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक रामबहादुर खनाललाई सहारा बचत तथा ऋण सहकारीको रकम हिनामिनाबारे बयान लिन पोखराबाट चितवन लगिएको छ ।

६. लिलाबल्लभविरुद्धको रिट दरपिठ
सर्वाेच्च अदालतले कोशी प्रदेशका पूर्वकानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मानव बेचबिखन मुद्दा नचलाई उन्मुक्ति दिने निर्णय विरुद्धको रिटलाई दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको रिट निवेदनमा आइतबार निर्णय गर्दै सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेका हुन् ।

७. सुनचाँदी व्यवसायीलाई कस्ने मापदण्ड बनाउँदै सरकार
सरकारले सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउन प्रस्ट मापदण्ड तयार गर्ने उद्देश्यले गृहकार्य थालेको छ । व्यवसायीहरूले ज्याला र जर्तीको नाममा मनपरी शुल्क असुल्ने र सो बापतको राजस्व पनि सरकारलाई नबुझाउने अवस्था सिर्जना भएपछि सरकारले आवश्यक मापदण्डका लागि गृहकार्य थालेको हो ।

८. गगनले भनेझैँ नेपालका आईटी इञ्जिनियरले ३–४ लाख कमाउँछन् ?
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएरै महिनामा ३÷४ लाख कमाउन सकिने दाबी गरेका थिए । उनको यो दाबीबारे रातोपाटीले ‘फ्क्याक्ट चेक’ गरेको छ ।

९. नेपाली फिल्मका चल्तीका ६ हिरो के गर्दैछन् ?
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसमा सुनामी नै ल्याएको छ । ‘पूर्णबहादुरको सारङ्गी’लेमात्र होइन, पछिल्लो समय रिलिज भएका ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ले पनि राम्रो व्यवसाय गरे भने ‘बेहुली फ्रम मेघौली’, ‘ज्वाइँ साब’ लगायतले लगानी सुरक्षित गरे । ह्रस्व दीर्घदेखि तेलभिसासम्म लगानी सुरक्षित गर्नेतर्फ लम्किरहेका छन् । फिल्मको व्यवसाय राम्रो भएपछि निर्माण बढ्ने नै भयो । यसले फिल्मका चल्तीका हिरो (अभिनेता)हरूको व्यस्तता पनि बढाएको छ ।

१०. एनपीएलमा सट्टेबाजी हुन सक्ने आशङ्कामा सीआईबीको कडा निगरानी
नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी हुन सक्ने आशङ्कामा प्रहरीले निगरानी बढाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सट्टेबाजीमा प्रयोग हुने वानएक्स बेटका नेपाली एजेन्ट र बेटिङमा प्रयोग हुने अन्य अनलाइनबारे अनुसन्धान थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप