शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशीमा शान्तिपूर्ण उपनिर्वाचन, ६९ प्रतिशत मतदान

आइतबार, १६ मङ्सिर २०८१, १९ : ५६
आइतबार, १६ मङ्सिर २०८१

विराटनगर । कोशी प्रदेशका विभिन्न सात जिल्लाका आठ वटा स्थानीय तहमा शान्तिपूर्ण रूपमा मतदान भएको छ । प्रदेशभित्र एक गाउँपालिका अध्यक्ष र सात वडाध्यक्ष पदका लागि निर्वाचन भएको हो । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मतदानका क्रममा काहीँ पनि कुनै अप्रिय घटना भएनन् । 

मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदमा, ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कनकाई नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ साथै उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ मा वडाध्यक्ष पदका लागि निर्वाचन सम्पन्न भएको हो । 

कोशी प्रदेशका एक पालिका अध्यक्ष र सात वटा वडाध्यक्षका लागि भएको निर्वाचनमा औसतमा ६९.०२ प्रतिशत मत खसेको कोशी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । त्यसैगरी कोशी प्रदेशका सात जिल्लाका सात वडाध्यक्ष पदका लागि ५५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । स्थानीय तह उपनिर्वाचनमा कोशी प्रदेशका २१ वटा मतदान स्थल र ४९ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो । निर्वाचनका लागि २९४ जना कर्मचारी परिचालन गरिएको पनि प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

ग्रामथानमा ७१ प्रतिशत मतदान

मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७१.३३ प्रतिशत मतदान भएको छ । कुल २६ हजार ४४ मतदाता रहेको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको निर्वाचनमा १८ हजार ५७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

ग्रामथान गाउँपालिकामा १२ मतदान स्थल र २९ मतदान केन्द्र कायम गरिएको थियो । विभिन्न दलबाट १५ र स्वतन्त्र एकसहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । मतदान सकिएसँगै मतपेटिका सङ्कलनको काम गरी सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना प्रारम्भ गर्ने योजना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

गढी गाउँपालिका–६ मा ६८ प्रतिशत मतदान

सुनसरीको गढी गाउँपालिका–६ मा ७३ प्रतिशत मतदान भएको छ । गढी–६ मा भएको स्थानीय उपनिर्वाचनमा एक हजार २५८ पुरुष र एक हजार ३८७ महिला गरी दुई हजार ६४५ ले मतदान गरेका छन् । गढी–६ मा तीन हजार ६२२ मतदाता रहेका छन् । मतदानपछि मतपेटिका सङ्कलन गर्ने र राति नै सर्वदलीय बैठक बसेर आइतबारबाटै मतगणना सुरु गर्ने योजना रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

मोलुङ–५ मा शान्तिपूर्ण मतदान

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा भइरहेको उपनिर्वाचनमा ५८ प्रतिशत मत खसेको छ । कुल एक हजार ३२५ मतदातामध्ये ७६८ जनाले मतदान गरेका छन् । वडाध्यक्षको एक पदका लागि कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपा गरी छ दलका छ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

उदयपुरमा करिब ६५ प्रतिशत मतदान 

उदयपुरका दुई स्थानीय तहको दुई वटा वडामा आइतबार शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ मा रिक्त वडाध्यक्ष पदका लागि गरिएको उपनिर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ ।

तीन हजार १३६ मतदाता रहेको बेलका–९ मा एक हजार ८८६ अर्थात् ६० प्रतिशत मत खसेको छ भने तीन हजार ८४७ मतदाता रहेको त्रिनपा–१२ मा दुई हजार ५२७ मत अर्थात् ६५ प्रतिशत मत खसेको छ । 

सिकैँचाको उपनिर्वाचन मर्यादित

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३, सिकैँचाको उपनिर्वाचनमा ५८.३१ प्रतिशत मतदाताले मतदान गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई वटा मतदान स्थलमध्ये सरस्वती माध्यमिक विद्यालय कुञ्जारीमा ६१५ मत खसेको छ । यस्तै दुर्गा माध्यमिक विद्यालय ओसेमा २७६ मतदाताले मतदान गरेका छन् । सिकैँचाको उपनिर्वाचनमा कुल मतदाता एक हजार ५२८ थिए । दुई वटै मतदान स्थलमा गरी ८९१ मतदाताले मतदान गरेका हुन् ।

कनकाई–६ मा ७३.५१ प्रतिशत मतदान

झापाको एक मात्रै निर्वाचन भएको कनकाई–६ मा कूल एक हजार ५१३ मत खसेको छ । कुल २०५८ मतदातामध्ये एक हजार ५१३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन केन्द्रबाट कुल मतदातामध्ये ७३.५१ प्रतिशत मत खसेको हो । जसमा ८२४ महिला र ६८९ पुरुष मतदाताले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । आइतबारदेखि मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ । कनकाई–६ मा आठ दल र एक स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी दिएका थिए । 

तेह्रथुमको लालिगुराँस–८ मा शान्तिपूर्ण मतदान

तेह्रथुमस्थित लालीगुराँस नगरपालिका–८ मा भएको निर्वाचनमा ९२३ जनाले मतदान गरेका छन् । सो वडामा एक हजार ४८१ मतदाता रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप