बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

कर्णालीमा ६२ प्रतिशत मत खस्यो, आजै मतगणना सुरु हुने

आइतबार, १६ मङ्सिर २०८१, १९ : २९
आइतबार, १६ मङ्सिर २०८१

सुर्खेत । आइतबार कर्णालीका विभिन्न ७ वटा स्थानीय तहमा भएको उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । ७ ठाउँमा गरी कुल ६२ प्रतिशत अर्थात् २६ हजार ४६३ मत खसेको छ । कुल मतदाता संख्या ४२ हजार २७७ रहेपनि ३८ प्रतिशत मतदाताहरूले मतदान गरेनन् ।

यहाँ विभिन्न पालिकामा एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदका लागि भएको मतदानमा ६५.३४ प्रतिशत अर्थात् ११ हजार ५६३ मत खस्यो ।

दुई ठाउँको कुल मतदाता संख्या १७ हजार ७५१ रहेको थियो ।

नलगाड नगरपालिकाको उपप्रमुख पदमा लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुनिता बोहोरा, नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ ।

यस्तै कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

एमालेबाट डम्बरबहादुर घर्ती, कांग्रेसबाट खम्बबहादुर सिंह, माओवादीबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्री प्रतिस्पर्धामा छन् ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, को वडाध्यक्ष पदका लागि भएको मतदानमा १ हजार १४६ अर्थात् ७९ प्रतिशत मत खस्यो । 

१ हजार ४३४ मतदाता रहेको यहाँ ६०६ महिला र ५४० जना पुरुष सहभागी भए । 

यहाँ माओवादी केन्द्रका तर्फबाट जसिराम बस्नेत, कांग्रेसबाट मोतीराम खत्री, एकीकृत समाजवादीबाट हंशराज पुरी उम्मेदवार छन् । यहाँ एक स्वतन्त्र उम्मेदवारी पनि दर्ता भएको छ । स्वतन्त्रबाट विरबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमालेले भने उम्मेदवारी दर्ता गराएको छैन ।

समाजवादीले माओवादीलाई समर्थन गर्ने भएपछि माओवादी–कांग्रेसबिच प्रतिस्पर्धा हुने देखिएको छ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको मतदानमा ६६.४१ प्रतिशत अर्थात् ४ हजार ५२४ मत खस्यो । ६ हजार ८१० मतदाता संख्या रहेको यहाँ २ हजार ३२९ पुरुष र २ हजार १९५ महिला मात्रै मतदानमा सहभागी भए ।

यहाँ कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना, राप्रपाबाट संगिता शाही, रास्वपाबाट बाँचा शाही, स्वतन्त्र उम्मेदवार दिनेमा नरेश शाही र रामसरा खड्का शाही उम्मेदवार छन् । 

दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको मतदानमा ५५.४० प्रतिशत अर्थात् ६ हजार ९८८ मत मात्रै खसेको छ । कुल मतदाता संख्या १२ हजार ६१४ रहेको यहाँ नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा (माओवादी केन्द्र)बाट जंगबहादुर बराल, नेकपा एमालेबाट जंगबहादुर शाहीको उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा, राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगर चुनावी प्रतिस्पर्धामा छन् । एकीकृत समाजवादीका जगतबहादुर हमालले उम्मेदवारी दर्ता गरेपनि उनले एमाले उम्मेदवार शाहीलाई समर्थन गरिसकेका छन् ।

कुल २७ सय ६ मतदाता रहेको दुल्लु नगरपालिका–१३,को वडाध्यक्ष पदका लागि भएको मतदानमा ५६.४६ प्रतिशत अर्थात् १ हजार ५२८ मत मात्रै खसेको जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकृत नरबहादुर सलामीले रातोपाटीलाई बताए ।

यहाँ ६ जना चुनावी मैदानमा छन्। कांग्रेसबाट रेशम बहादुर शाही, माओवादीबाट ढकेन्द्र शाही, एमालेबाट लालबहादुर शाही, राप्रपाबाट रेशमकुमार मल्ल, रास्वपाका रामबहादुर शाही र नेमकिपाबाट पुर्णप्रसाद उपाध्याय रहेका छन् ।

६०९ मतदाता रहेको कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्ष पदका लागि भएको मतदानमा ६७.४८ प्रतिशत अर्थात ४११ मत खसेको छ ।

यहाँ एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, रास्वपाबाट गगन बम, राप्रपाबाट गोगन शाही, माओवादीबाट नैस्वभा शाही र नेपाली कांग्रेसबाट पैलन बहादुर शाही उम्मेदवार छन् ।

कुल ३५३ जना मतदाता रहेको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि भएको मतदानमा ३०३ मत मात्रै खस्यो । यहाँ वडाध्यक्ष पदका लागि लागि ४ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

समाजवादीबाट ज्योति घर्ती, एमालेबाट नरबहादुर रोका, माओवादीबाट नरबहादुर झाँक्री र कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपानेले रहेका छन् । यद्यपि समाजवादीले माओवादीलाई समर्थन गर्ने भएकाले एमाले, माओवादी र कांग्रेसबिच प्रतिस्पर्धा हुने छ ।

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलनको काम भइरहेको छ । निर्वाचन अधिकृतहरूका अनुसार सबै ठाउँको मत आइतबार बेलुकादेखिनै गणना गर्ने तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप