डीएसपी पुरुषोत्तम कार्कीमाथि छानबिन

काठमाडौँ । नेपाल प्रहरीका डीएसपी पुरुषोत्तम कार्कीमाथि छानबिन थालिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत डीएसपी कार्कीमाथि आर्थिक अनियमितता सम्बन्धी आरोपमा छानबिन थालिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
उनलाई प्रहरी प्रधान कार्यालयले सीआईबीबाट हटाएर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरेको छ ।
ब्यूरोको पिल्लर–५मा फरार प्रतिवादी पक्राउ गर्ने जिम्मेवारीमा रहेका कार्कीले एक जनालाई पक्राउ गरेर थुनामा राखेको र रकम लेनदेन गरेर रिहा गरेको आरोप छ । बब्लु शाह नाम गरेका एक जनालाई उनको टिमले पक्राउ गरेर थुनामा राखेको भेटिएको छ । घटनाबारे जानकार एकजना अधिकृत भन्छन्, ‘१ लाख ५० हजार रुपैयाँ डीएसपी कार्कीले लिएको अर्को पक्षको आरोप छ, त्यसबारे छानबिन हुँदै छ ।’
केन्द्रीय अनुसन्धान ब्यूरोले नै त्यसबारे छानबिन गरिरहेको छ ।