बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान : निर्वाचन आयोग

तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन
आइतबार, १६ मङ्सिर २०८१, १७ : ५४
आइतबार, १६ मङ्सिर २०८१

काठमाडौँ । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ। उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको आयोगले जनाएको हो।

उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो। ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमश: नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल)को मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो भने रूकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्तीको मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो। 

एक एक जना उम्मेदवारी कायम भएका बाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार रहेका थिए।  

मतदान कार्य समाप्त भई मतपेटिका सुरक्षित रूपमा सङ्‍कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले बताइन्। एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुने व्यवस्था मिलाइएको छ भने अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी मतगणना हुनेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप