बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

फार्मेसीमा परिचय र पोसाक अनिवार्य गरिँदै

आइतबार, १६ मङ्सिर २०८१, १७ : ३५
आइतबार, १६ मङ्सिर २०८१

काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले फार्मेसीमा परिचय र पोसाक अनिवार्य लागू गर्ने भएको छ । आगामी पुस ४ गतेबाट फार्मेसीमा परिचय र पोसाकको अनिवार्य व्यवस्था लागू गराउने भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषद्लाई सुझाएका थिए । सोही अनुसार परिषद्ले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोसाक अनिवार्य गर्ने निर्णय गरेको हो ।

परिषद्ले आगामी पुस ४ गतेबाट लागू हुनेगरी गत मंसिर ४ गते फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोसाक र परिचय अनिवार्य गर्ने निर्णय गरेको थियो ।

कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि वितरण मा कार्यरत रहेका फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय पुस ४ गतेबाट लागू हुँदैछ ।

यस्तो निर्णयले औषधी बिक्री वितरणमा आधिकारिक व्यक्ति मात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले बताए ।

मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सघाउने प्रतिबद्धता जनाए । औषधीको बिक्री वितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधी व्यवस्था विभागलाई समेत अनुगमन बढाउन सजग गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले परिषद्को निर्णय कार्यान्वयनमा सघाउन मन्त्रालयले पत्राचार गर्ने बताए । यसका अलावा औषधी बिक्री वितरणमा बेथिति देखिए नदेखिएको समेत अनुगमन गर्ने र दोषी देखिएमा एकै साथ कारबाही अघि बढाइने उनले बताए ।

मन्त्री पौडेलले औषधीको मूल्य समायोजन गर्नका लागि गठित समितिले अहिले काम गरिरहेको बताए । समितिको सुझाव अनुसार अधिकतम उपयोग हुने औषधीमा नागरिकलाई कम भार पर्ने गरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप