बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

बालबालिकामा जलवायु परिवर्तनको असर

आइतबार, १६ मङ्सिर २०८१, १५ : ५०
आइतबार, १६ मङ्सिर २०८१

अजरबैजानको बाकुमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) को निष्कर्षलाई प्रसिद्ध सञ्चारमाध्यम ‘द गार्डियन’ले ‘न्यायको भद्दा मजाक’ (ट्राभेस्टी अफ् जस्टिस)को संज्ञा दिएको छ । किनभने निर्धारित समयभन्दा एक दिन ढिलो गरी सम्पन्न सो सम्मेलन नाटकीय रुपमा अन्त्य भएको थियो । जलवायु संकटका प्रभावसँग जुध्नका लागि धनी देशहरूले विकासशील राष्ट्रहरूलाई प्रति वर्ष एक खर्ब डलर प्रदान गर्नुपर्ने आग्रह गरिएकामा अन्तिम क्षणमा धनी राष्ट्रहरूले प्रतिवर्ष जम्मा ३०० अर्ब डलरको प्रतिबद्धता जनाए । 

कार्बन उत्सर्जनलाई जलवायु परिवर्तनको कारक मानिन्छ । उच्च औद्योगिकीकरण भएका प्रमुख राष्ट्रहरूले यस सम्मेलनलाई उपेक्षित बनाएको खबर पनि सार्वजनिक भएका थिए । 

विश्वभर बढिरहेको जलवायुजन्य संकटले संसारको हरेक व्यक्ति कुनै न कुनै प्रकारले प्रभावित भइरहेको हुन्छ । जलवायुजन्य समस्या समाधान गर्न सबै एकजुट हुनुपर्नेछ । विभाजित भएर जलवायुजन्य समस्या समाधान गर्न सहज छैन । यस विषयलाई लिएर शक्ति राष्ट्रहरू, विकासशील राष्ट्रहरू, समुद्र तटीय राष्ट्रहरू एवं हिमालय क्षेत्रका राष्ट्रहरूका आ–आफ्नै तर्क र समस्या छन् । जसको न्यायसंगत समाधान खोज्नु आजको चुनौती छँदै छ । 

विश्वभरि नै जलवायु परिवर्तनको सबैभन्दा बढी चपेटामा बालबालिका छन् । 

  • बाल स्वास्थ्यमा असर

बालबालिकाले आफ्नो अस्तित्वको पहिलो सास लिन सुरु गर्नु अघिदेखि नै उनीहरूलाई वातावरणले असर पुर्‍याइसकेको हुन्छ । बालबालिकाको विकासशील मस्तिष्क, फोक्सो र प्रतिरक्षा प्रणालीको बनावट निकै संवेदनशील छन्, जसलाई वातावरणीय प्रदूषणले असर गर्छन् । यस समस्याको आकार र दायरा चिन्ताजनक विषय बनेको छ । हाल जलवायु र वातावरणीय संकटहरूको उच्च जोखिम सामना गरिरहेका देशहरूमा बसोबास गर्ने बालबालिकाको संख्या लगभग एक अर्ब छ, जुन संसारका बालबालिकाको लगभग आधा अंश हो । वायु प्रदूषण पाँच वर्षमुनिका बालबालिकाको मृत्युका लागि दोस्रो प्रमुख जोखिमको कारकका रूपमा रहेको छ । 

विश्वव्यापी तापमान वृद्धिले समुद्रको सतहमा वृद्धि भइरहेको छ । जुन टापु राष्ट्रहरूका लागि खतराजन्य हो । यस्तै, गर्मीको लहर, वन डढेलो, खडेरी, उष्णीय आँधी र जैविक विविधताको ह्रासजस्ता समस्याले थप खतरा सिर्जना गर्दै छन् । यी सबैका कारण संसारमा थोरै मात्र बालबालिकाले बढ्दो जलवायु र वातावरणीय जोखिमबाट मुक्त जीवन बाँच्न पाएका छन् ।

र्यावरणीय ह्रास र प्रणालीगत परिवर्तनहरूले पनि मानिस र वातावरणबिच नयाँ अन्तक्र्रिया सिर्जना गर्दै छन् । यस परिवर्तनको असर मानिसको स्वास्थ्य, प्रतिरक्षा प्रणाली र कृषि उत्पादनमा परिरहेको छ । 

बालबालिकालाई जलवायु र पारिस्थितिकीय संकटहरूबाट जोगाउन असफल हुनु भनेको उनीहरूका लागि संयुक्त राष्ट्र संघको बाल अधिकार समितिले ‘सामान्य टिप्पणी २६’ मा स्पष्ट रूपमा जनाएका अधिकारको उल्लङ्घन हो । समितिले जलवायु र वातावरणीय खतराहरूलाई ‘बालबालिकाको अधिकारका लागि तात्कालिक र प्रणालीगत खतरा’का रूपमा पहिचान गरेको छ । सफा, स्वस्थ र दिगो वातावरणमा बसोबास गर्न पाउने बालबालिकाको अधिकार हो । जलवायु परिवर्तन र वातावरणीय संकटहरू, जैविक विविधताको ह्रास र व्यापक प्रदूषणको संयुक्त प्रभावले बालबालिकाको जीवनमा गहिरो प्रभाव पार्छ । जलवायुजन्य प्रभावका कारण स्वास्थ्य र शिक्षामा परेको प्रभाव, विस्थापित हुनुपरेको अवस्थालाई त आँखाले देख्न सकिन्छ । कतिपय मनोवैज्ञानिक, सामाजिक तथा सांस्कृतिक प्रभावलाई आँखाले देख्न सकिँदैन । 

जलवायु परिवर्तनले बालबालिकालाई रोगको थप जोखिममा पुर्‍याउँछ । उदाहरणका लागि— बढ्दो औसत तापक्रमले लामखुट्टेको संख्यामा वृद्धि गराएको छ र लामखुट्टेले सार्ने रोग (डेंगु, जिका, वेस्ट नाइल भाइरस आदि)को जोखिम बढाएको छ । 

हाल जलवायु र वातावरणीय संकटहरूको उच्च जोखिम सामना गरिरहेका देशहरूमा बसोबास गर्ने बालबालिकाको संख्या लगभग एक अर्ब छ, जुन संसारका बालबालिकाको लगभग आधा अंश हो । वायु प्रदूषण पाँच वर्षमुनिका बालबालिकाको मृत्युका लागि दोस्रो प्रमुख जोखिमको कारकका रूपमा रहेको छ ।

पहिले यी रोगको प्रभाव नपरेका स्थानका बालबालिका समेत अहिले यिनको चपेटामा छन् । जस कारण उनीहरूको स्वास्थ्यदेखि शिक्षा, मानसिक अवस्थामा पनि असर गरिरहेको छ । 

प्रख्यात जर्नल ‘नेचर कम्युनिकेसन्स’मा यसै वर्ष प्रकाशित एक अध्ययन अनुसार यस शताब्दीको पहिलो दुई दशकमा प्रति एक लाख नवजात शिशुमध्ये ३० जनाको मृत्यु जलवायु परिवर्तनका कारण भएको देखिएको छ । विश्वका ३० देशमा गरिएको यस अध्ययनमा नेपालको तथ्यांक पनि उल्लेख गरिएको छ, जस अनुसार नेपालमा प्रति एक लाख नवजात शिशुको मृत्यु हुँदा १० जनाको मृत्युको कारण जलवायु परिवर्तन देखिएको छ । 

प्रदूषित पानीको प्रयोग पाँच वर्ष मुनिका बालबालिकाको मृत्युको मुख्य कारण हो । जलवायु परिवर्तनका कारण स्वच्छ पानीमा बालबालिकाको पहुँच कम हुँदै गएको छ । बाढीको पानीले पूर्वाधारलाई नष्ट गर्न सक्छ, जसले पानी आपूर्ति प्रणालीमा प्रदूषण ल्याउँछ र पानीजन्य रोगहरूको प्रकोपमा वृद्धि गर्दछ । चरम प्रतिकूल मौसमले बालबालिकाको विविध अवस्था लगायत स्वस्थ आहारको पहुँचमा सिधा असर पुर्‍याउँछ ।

आहारको विविधता र खाद्य अभावका कारण बालबालिका र गर्भवती महिलामा कुपोषणसम्बन्धी रोगको उच्च जोखिम रहन सक्छ । यसले बाल विकासमा नकारात्मक परिणाम ल्याउँछ । जलवायु संकट बढ्दै गएका कारण खाद्य सुरक्षा संकट अझ बढ्ने भविष्यवाणी गरिएको छ । वायु प्रदूषण बालबालिकाका लागि विशेष रूपले हानिकारक छ र यसको प्रभाव जीवनभर कायम रहन सक्छ । वायु प्रदूषणका कारण फोक्सोसँग सम्बन्धित रोग लाग्ने, क्यान्सरको जोखिम बढ्ने र स्नायु वा न्युरोलोजिकल विकारहरू तथा बाल्यकालको मोटोपन बढ्ने अनुसन्धानले देखाएका छन् । 

स्वास्थ्य समस्यालाई कतिपय अवस्थामा संक्रामक सूक्ष्मजीवको संक्रमण र तिनको असरहरूमा सीमित भएर बुझ्ने गरिन्छ, जुन गलत हो । जलवायु परिवर्तनका असरले हुने असामान्य घटनाहरूबाट बालबालिका लगायतलाई शरीरमा चोटपटक लाग्न सक्छ । 

जलवायु परिवर्तनका कारण हुने बाढी–पहिरो, आँधी–तुफान, डढेलो आदिको चपेटामा पर्ने बालबालिकाको मृत्यु हुनुका साथै शरीरमा चोटपटक पनि लाग्न सक्छ ।

  • मानसिक असर

चरम प्रतिकूल मौसमी घटनाहरूले मानसिक स्वास्थ्यमा पनि उथलपुथल गर्न सक्छ । बाल्यकालमा चरम प्रतिकूल मौसमी घटनाहरूको सामना गर्नु उनीहरूका लागि अत्यधिक पीडाजनक हुन सक्छ । बालबालिकाहरू प्रायः यी परिस्थितिहरूमा कुनै निर्णय गर्ने अधिकार नभएको अनुभव गर्छन्, जसले सम्भावित मानसिक पीडालाई थप बिगार्ने र अझ तीव्र बनाउने गर्छ । 

यस्तो बेला अभिभावक, शिक्षक वा हेरचाह गर्ने व्यक्तिहरूले बालबालिकाको तर्फबाट निर्णय गर्छन् । त्यसैले जलवायु प्रभाव सामना गर्दा उनीहरूमा असहायपनको भावना बढाउँछ । अत्यधिक गर्मी, आँधी–तुफान, बाढी र भूकम्पलाई विशेष गरी मानसिक स्वास्थ्यका विभिन्न समस्यासँग जोडिएको छ, जसमा पोस्ट–ट्रमेटिक स्ट्रेस डिसर्डर वा मानसिक अवसाद पनि समावेश छन् । 

  • शिक्षामा पार्ने प्रभाव

जलवायु आघातहरूले बालबालिकाको उपस्थितिलाई प्रभावित गर्दै सिकाइमा बाधा पुर्‍याउँछन् । अधिकांश अवस्थामा जलवायु संकटहरूले रोग फैलाउँछ वा बालबालिकाको दैनिक जीवनमा बाध्यकारी परिवर्तन ल्याउँछ । 

संसारभरका ४० करोडभन्दा बढी विद्यार्थीले सन् २०२२ देखि चरम प्रतिकूल मौसमका कारण विद्यालय बन्द हुनुपर्ने स्थितिको सामना गरेका छन् । भारत, पाकिस्तान र दक्षिण सुडानमा अत्यधिक गर्मीबाट विद्यालय बन्द हुनुपरेको अवस्था छ । संयुक्त राज्य अमेरिकामा वन डढेलो, मलावीमा आँधीचक्र र फिलिपिन्समा बाढीजस्ता जलवायु संकटले बालबालिकाको शिक्षालाई असर गरिरहेको छ । 

नेपालमा पनि यसै वर्ष (२०८१)को जेठ र असारमा अत्यधिक गर्मीका कारण विद्यालय बन्द गर्नुपरेको थियो भने यसै वर्ष असोजमा भएको अत्यधिक वर्षाले विद्यालयहरूमा पुर्‍याएको क्षतिका कारण अझै पनि धेरै स्थानमा पठनपाठन सहज बनाउन सकिएको छैन ।

जलवायु संकटका कारण बालबालिकाहरू आफ्ना घर र वासस्थानबाट पलायन वा विस्थापन समेत भइरहेका छन् । 

विश्व बैंकले पनि हालै जलवायु परिवर्तनका कारण हुने शैक्षिक प्रभावलाई ‘आर्थिक टाइम बम’का रूपमा वर्णन गरेको छ । यस बमलाई बेअसर पार्नका लागि एक प्रमुख उपाय हो, शिक्षा । विशेष गरी जलवायु शिक्षामाथि जोड दिनु हो । बालबालिकालार्य जलवायु परिवर्तनबारे बुझाइनुपर्छ । 

विडम्बना के छ भने, संसारभरिका बालबालिका र युवाले जलवायु परिवर्तनका बारेमा आफूहरूको ज्ञान अपर्याप्त भएको महसुस गर्छन् र यसको प्रभावको सामना गर्नका लागि आफूलाई तयार रहेको महसुस गर्दैनन् । युनिसेफ–ग्यालअपको सर्वेक्षणका अनुसार, औसतमा १५–२४ वर्षका ८५ प्रतिशत युवाले जलवायु परिवर्तनका बारेमा सुनेका छन् तर तीमध्ये केवल ५० प्रतिशतमा मात्रै यस अवधारणाको सही परिभाषाको ज्ञान रहेको पाइएको थियो ।

निम्नमध्यम र न्यून आय भएका देश, जहाँ जलवायु परिवर्तनको सबैभन्दा बढी जोखिम छ, त्यहाँका युवामा जलवायु परिवर्तनको ज्ञान सबैभन्दा कम पाइन्छ । जलवायु संकटबारे बुझ्ने बालबालिकाको अधिकारको रक्षा गर्न र यसको समाधानमा उनीहरूलाई पनि सहभागी गराउन रणनीतिक लगानी आवश्यक छ । निम्नमध्यम र न्यून आय भएका देशहरूका विद्यालयहरूको राष्ट्रिय पाठ्यक्रममा थप संरचनाको व्यवस्था गरेर जलवायु परिवर्तनलाई सम्बोधन गर्न सकिन्छ । 

नेपालमा स्थानीय तहहरूमार्फत स्थानीय स्तरमा उपयोगी हुने गरी जलवायु परिवर्तनका प्रभाव र असरबारेको शिक्षा पाठ्यक्रममा राख्न सकिन्छ । स्थानीय स्रोत एवं सीपको उपयोग गरी जलवायु परिवर्तनका असर घटाउनका लागि लगानी गर्नु पनि जरुरी छ ।

  • बालबालिका विस्थापन 

बालबालिकाहरू आफ्नो घर वा आवासबाट विस्थापन हुनुपर्ने अवस्थासँग जलवायु र वातावरणीय संकट जोडिएका छन् । विस्थापन, चाहे छोटो समयको होस् या दीर्घकालिक, त्यसले जलवायु र वातावरणीय संकटबाट उत्पन्न खतराहरूलाई अझ बढावा दिन सक्छ । 

जब बालबालिका आफ्ना घरबाट विस्थापित हुन्छन्, उनीहरू आफ्ना अभिभावक वा हेरचाह गर्ने व्यक्तिहरूसँग अलग हुने उच्च जोखिममा रहन्छन् । जस कारण उनीहरू शोषणमा पर्ने, बालविवाह हुने लगायत जोखिम रहन्छ । 

केही वर्षयताकै नेपालकै अनुभव हेर्दा पनि धेरै स्थानमा प्राकृतिक विपत्तिका घटनाबाट बालबालिकाले अभिभावक गुमाएको र सहाराविहीन भएको पाइन्छ । यस अतिरिक्त विस्थापनले शिक्षा प्रणालीमा विघटन ल्याउँछ । योसँगै अपर्याप्त खोप र पौष्टिक आहारको अभावका कारण बालबालिकामा स्वास्थ्य जोखिमहरू थपिन्छन् । 

बालबालिका र उनीहरूका परिवारले संसारभर भोगिरहेका संकट, विघटन र विस्थापनलाई कम गर्नका लागि जलवायु र वातावरणीय अनुकूलन पनि आवश्यक छ । यी परिवर्तन कार्यान्वयन गर्नका लागि, सरकार र विश्व समुदायले निर्णायक कदम चाल्नुपर्छ । बालबालिकाको स्वास्थ्य र सकुशलतालाई जलवायु नीति, लगानी र अन्य क्षेत्रहरूको केन्द्रीय विषय बनाइनुपर्छ । 

नेपाल बालअधिकार रक्षा महासन्धिको पक्ष राष्ट्र र जलवायु परिवर्तनका प्रभावले उच्च जोखिममा रहेको मुलुक हो । त्यस कारण नेपालले विस्थापनमा परेका बालबालिकाको स्याहार, स्वास्थ्य, शिक्षा र पुनःस्थापना सुनिश्चत हुने गरी ठोस कार्ययोजना बनाई त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न स्थानीय तहहरूलाई सबलीकरण गर्न जरुरी छ ।

पृथ्वी मात्रको यो संकटले द्वन्द्वको स्थितिहरूलाई पनि जन्म दिन्छ र यसले बालबालिकामा पर्ने हानिको परिमाण बढाउन सक्छ ।

पर्यावरणीय प्रभाव समाधानका लागि सूक्ष्म तहमा भन्दा महादेश र विश्वस्तरमा विस्तारित र ठुलो स्तरको प्रयास जरुरी हुन्छ । त्यसै गरी समस्याको विश्वव्यापी समाधान पनि जरूरी हुन्छ ।

  • तथ्यांक प्रक्षेपण

नेपालमा विगत तीन दशकयता नवजात र बाल मृत्युदरमा देखिएको ऐतिहासिक कमीको निरन्तरताले बाल स्वास्थ्यमा भविष्यप्रति आशावादी बनाएको छ, तर बाल जीवनरक्षा र बाल–बचाउका सन्दर्भमा एक बच्चाको मृत्यु हुनु पनि धेरै ठुलो क्षति हो । 

यसै वर्षको नोभेम्बर २० मा युनिसेफद्वारा प्रकाशित ‘विश्वका बालबालिकाको अवस्थासम्बन्धी प्रतिवेदन २०२४’ ले वर्तमानमा न्यून–आय भएका देशहरूमा बालबालिकाको संख्या सन् २०५० को दशकमा उल्लेख्य बढ्ने प्रक्षेपण गरेको छ । युनिसेफको विश्लेषण अनुसार, हाल कम आय भएका २८ देशहरूमा बसोबास गर्ने बालबालिकाको संख्या सन् २०५० मा बढेर २३ प्रतिशत हुनेछ । त्यहाँ यो संख्या सन् २००० को दशकमा जम्मा ११ प्रतिशत थियो । सन् २०५० को दशकमा नेपालका छिमेकी देशहरू भारत, चीन, पाकिस्तान र बंगलादेशमा बालबालिकाहरूको संख्या मात्रै विश्वको २८.५ प्रतिशत हुनेछ । 

एक विश्लेषण अनुसार सन् २०५० मा नेपालको कुल जनसंख्या करिब तीन करोड ४७ लाख पुग्ने र १८ वर्षमुनिका बालबालिकाको अनुपात कुल जनसंख्याको लगभग एक चौथाइ हुने बताएको छ । यद्यपि यो अनुपात अहिलेको (३५ प्रतिशत) तुलनामा सानो भए पनि व्यक्ति गणनाको संख्या अहिलेको भन्दा केही लाख मात्रै सानो हुने देखिन्छ । त्यसैले नेपालका लागि बालबचाउ र किशोरावस्थाको जनसंख्याको स्वास्थ्य र सकुशलताको विषय अबका केही दशकसम्म उत्तिकै महत्त्वपूर्ण रहिरहनेछ ।

युनिसेफको प्रतिवेदनले सन् २०५० को दशकमा सन् २००० को दशकको तुलनामा विश्वका धेरै बालबालिकाले चरम जलवायुजन्य समस्याको सामना गर्ने प्रक्षेपण गरेको छ । यस प्रतिवेदन अनुुसार, आजको तुलनामा सन् २०५० मा करिब आठ गुणाभन्दा बढी बालबालिकाले अत्यधिक ताप लहरको सामना गर्नुपर्नेछ । खासगरी नदीजन्य ठुला बाढीहरू, विशाल डढेलो, चरम खडेरी र कडा उष्णीय चक्रवातहरूको सामना बालबालिकाले गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

विश्व मानचित्रमा जलवायु परिवर्तनका प्रभाव रोक्न भइरहेको वैचारिक द्वन्द्वका बिच नेपालले यसका लागि अपनाएको रणनीतिक कार्यान्वयनको अवस्था हेर्दा हाम्रा आगामी पुस्ताले भोग्नुपर्ने जलवायु समस्या हामीले कल्पना गरेभन्दा र हाम्रो वर्तमान क्षमताभन्दा निकै ठुला हुनेछन् भन्नेमा दुईमत नहोला ।

(नेक्सस इन्स्टिच्युट अफ रिसर्च एन्ड इनोभेसन (निरी) सँग आबद्ध डा. पन्त बालबालिकामा हुने चोपटपकसम्बन्धी अनुसन्धानकर्ता हुन् । यो लेख युनिसेफद्वारा २० नोभेम्बर २०२४ मा प्रकाशित ‘विश्वका बालबालिकाको अवस्था २०२४’ प्रतिवेदनका आधारमा तयार पारिएको हो ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. पुष्पराज पन्त
डा. पुष्पराज पन्त
लेखकबाट थप